eNepal

सामाजिक सन्जालको बारे रोचक तथ्य, यसरी प्रयोग गर्नुहोस फेसबुक देखी ईन्सटाग्राम

सामाजिक सञ्जालमा विज्ञापन सफल बनाउनका लागि ‘स्टोरी टेलिङ’ महत्त्वपूर्ण हुँदै आएको छ । सामाजिक सञ्जालमा प्रस्तुत गरिएको स्टोरीले उपभोक्तासँग सजिलै सम्बन्ध सिर्जना गर्न सक्छ । त्यसैले अचेल विज्ञापनको संसारमा कथा प्रयोग गरेर आफ्ना कुरा अरुसम्म पुर्याउन सामाजिक सञ्जालको भूमिका प्रमुख बनेको छ । तर के सामाजिक सञ्जाल प्रयोग गरेर आफ्ना कुरा सजिलै अरुकहाँ पुर्याउन सकिन्छ त ? के साच्चै नै छोटा छरिता ट्विट र स्टाटसमा गहिरा कुरा व्यक्त गर्न सकिन्छ त ? सामाजिक सञ्जालको प्रभावकारी प्रयोगबारे केही टिप्स :
फेसबुक
–लामा पोस्ट लेख्नुस्
फेसबुकका लामा स्टाटसभन्दा छोटा स्टाटस बढी क्लिक हुने विभिन्न अनुसन्धानले देखाउँदै आएका छन् । अमेरिकाको नेसनल पब्लिक रेडियो (एनपिआर)ले फेसबुकका तीन हजारवटा फेसबुक पोस्टर लिंक सर्भे गर्दा यो कुरा देखिएको थियो । मानिसले कुनै लामो पोस्टमा हुने लिंक धेरै क्लिक नगरे पनि ‘सी मोर’ लेखेका लामा पोस्ट खोल्ने गरेको पाइयो । पाठकले अरु लिंक खोल्न अल्छी मान्ने कुरा त सुरुदेखि नै सर्वव्यापी थियो । तर, ‘सी मोर’ लेखिएका स्टाटसमा सोचेभन्दा धेरै ट्राफिक देखियो । ‘सी मोर’ले मानिसमा कुतूहलता उत्पन्न गराउँछ र क्लिक हुने गरेको देखिन्छ । यसको ज्वलन्त उदाहरण ‘ह्युमन्स अफ न्युयोर्क फेसबुक पेज’ हो । यो पेजमा आउने पोस्टहरू प्रायः लामा हुन्छन् । लम्बाइले गर्दा पढ्न मन नजाने तर खोलेर पढ्न थालेपछि सुन्दर कथा भेटिने गर्छन् । त्यसैले तपाईं फेसबुकमा गरिएको पोस्ट धेरैले पढून् भन्ने चाहनुहुन्छ भने लामो पोस्ट लेख्नुहोस् ।

एल्बम बनाउनुस्
भनिन्छ, हजार शब्दले नबोल्ने कुरा एउटा तस्बिरले बोल्न सक्छ । त्यसैले आफ्ना कुरा अरुसम्म पुर्याउन फेसबुक एल्बम एउटा राम्रो उपाय हुन सक्छ । विभिन्न कार्यक्रम र पार्टीका तस्बिर सेयर गरेर आफ्ना कुरा फैलाउन सकिन्छ । यसले धेरैको ध्यान खिच्ने गर्छ । झन् फोटो एल्बममा फोटो थप्दा फेरि टाइमलाइनमा देखापर्ने प्रचलन फेसबुकले सुरु गरेको छ । यसले प्रचार–प्रसारमा मद्दत मिल्छ ।

लामो भिडियो बनाउनुस्
कहिलेकाहीँ धेरै फोटोले मात्र पनि काम नगर्न सक्छ । भन्न खोजेको कुरा पर्याप्त मात्रामा व्यक्त गर्न सकिँदैन । त्यस्तो बेला भिडियो उपयोगी हुन सक्छ । समय र स्रोत–साधन छ भने भिडियो प्रयोग गर्न सकिन्छ । फेसबुकले एक सय २० मिनेटसम्मको भिडियो हाल्न सकिने प्रावधान राखेको छ । कुनै लामा गहिरा कथावस्तु भन्नका लागि यस्ता भिडियो एकदम काममा आउँछन् । अहिले त झन् फेसबुकले नयाँ ‘अल्गारिदम’ विकास गर्दै छ, जसले झन् लामा भिडियो अपलोड गर्न सकिनेछ ।

लाइभ जानुस्
विश्वासिलो हुनु भनेको ‘स्टोरी टेलिङ’को महŒवपूर्ण पाटो हो । यसले वास्तविकता प्रस्तुत गरिएका कुरामा झन् वजन थप्छ । फेसबुकमा लाइभ जानु त्यो विश्वास जोड्ने कडी हुन सक्छ । फेसबुककै तथ्यांक अनुसार कुनै पनि भिडियो अफलाइनभन्दा लाइभ भइरहेकै बेला बढी हेरिन्छ । क्यानडेस पेयनको लाइभ भिडियो २०१६ को सबैभन्दा धेरैपटक हेरिएको भिडियो थियो । तयारी र संरचना मिलेको भिडियो बनाए राम्रो ट्राफिक पाउन सकिन्छ।

विज्ञापनका क्रम मिलाउनुस्
विज्ञापनहरू झन्झटिला हुन्छन् । स्पोन्सर्ड पोस्टहरू फलोअरले खासै नहेर्ने भएकाले पनि नयाँ आइडिया लगाउनुपर्छ । जस्तै, विज्ञापनको क्रम मिलाउने । सुरुमा ब्रान्डको परिचय दिनेखाले विज्ञापन, त्यसपछि ब्रान्डको कुनै एउटा आर्टिकल र अन्त्यमा ब्रान्ड प्रयोग गर्न इन्भाइट गर्न सकिन्छ । यसो गर्नाले धेरैभन्दा धेरै भिजिटर आउने विभिन्न अध्ययनले देखाएका छन् ।

इन्स्टाग्राम
क्याप्सन दमदार राख्नुस्
आकर्षक फोटोले सबैको ध्यान खिच्छ । त्यसमा राम्रो सुहाउँदो क्याप्सन भए सुनमा सुगन्ध हुन्छ । झन् क्याप्सनमा छोटो–छरितो कथा वा पृष्ठभूमि नै भए आकर्षण बढ्ने गर्छ । त्यसैले इन्स्टाग्राममा आफ्ना कुरा स्पष्ट र असरदार तरिकाले भन्नु छ भने क्याप्सनमा ध्यान दिनुस् ।

धेरै फोटोले इन्स्टा प्रोफाइल बनाउने
अहिले प्रचलनमा आइरहेको तरिका हो यो । यसमा एउटा ठूलो फोटोलाई टुक्रा–टुक्रा गरेर अपलोड गरिन्छ । अपलोड गर्नेको प्रोफाइलमा गएर हेर्दा भने एउटा ठूलो फोटो बनेको देखिन्छ ।

आफ्ना उत्पादनका पोस्ट अपलोड गर्ने
समाज र समुदायमा घटिरहने घटनालाई आफ्नो उत्पादनसँग जोडेर ट्रेन्ड चलाउन सकिन्छ । ह्यासट्याग प्रयोग गर्दै फोटो अपलोड गर्ने र ट्रेन्ड चलाउने एउटा राम्रो उपाय हुन सक्छ । अमेरिकाको चर्चित जुत्ता कम्पनी टिओएमएसले वार्षिक रूपमा ह्यासट्याग प्रयोग गरी गर्ने विथ आउट सुज अभियान एउटा उदाहरण हो । यो अभियानमा २७ हजार चार सय ३५ वटा पोस्ट आएको थियो । तपाईं पनि यही उपाय अपनाउन सक्नुहुन्छ । आफ्नो ब्रान्डसम्बन्धी कुनै ह्यासट्याग बनाउनुस् र फलोअरलाई ह्यासट्याग प्रयोग गर्न आग्रहसहित उपहार र गिफ्टको व्यवस्था गर्नुस् । फोटोसँग मिल्ने धेरैभन्दा धेरै ह्यासट्याग प्रयोग गर्दा तपाईंको पोस्ट ट्रेन्डिङ भइरहेको हुन सक्छ ।

छोटो भिडियो या बुमर्याङ बनाउनुस्
विभिन्न कम्पनीले आफ्ना उत्पादन विस्तार गर्न इन्स्टाग्राम भिडियोको प्रयोग गर्दै आइरहेका छन् । फेसबुकको जस्तो एक सय २० मिनेट राख्न नपाइए पनि ६० सेकेन्डको भिडियो धेरै कामलाग्दो हुन सक्छ । सीमिततामा सिर्जना जोडिएकाले पनि राम्रा कथा ६० सेकेन्डमै पनि भन्न सकिन्छ।

एकैपटकमा धेरै ‘इन्स्टा स्टोरी’
सामाजिक सञ्जाल इन्स्टाग्राम प्रयोग गर्नेका लागि ‘इन्स्टा स्टोरी’ अर्को गज्जबको माध्यम हो। हुन त दिनमा जति पनि यस्ता ‘स्टोरी’ पोस्ट गर्न सकिन्छ । तर एक दिन १० वटा पोस्ट गर्दा अलि बढी असरदार देखिएको अध्ययनले देखाएको छ।

ट्विटर
लगातार ट्विट गर्ने
दुई सय ८० वाक्यमा आफ्ना पूरा कुरा भन्न पाउनुभएन ? त्यसको छुट्टै समाधान छ। लगातार ट्विट गर्नुस् । एकपछि अर्को । पहिलो ट्विटको रिप्लाइमा गएर दोस्रो ट्विट गर्नुस् । यसैगरी दोस्रो ट्विटको रिप्लाइमा तेस्रो रिप्लाइ गर्नुस् । यो आफैँ पनि गर्न सकिन्छ नत्र ट्विटस्टोर्म, स्टोर्म इटलगायत एप्स पनि प्रयोग गर्न सकिन्छ।

ट्विटर मोमेन्ट बनाउनुस्
आफ्ना कुरा अरुसामु पुर्याउन ‘ट्विटर मोमेन्ट’ नयाँ र गतिशील माध्यम हो। यो ट्विटस्टोर्म जस्तै हो, तर अझै बढी सिर्जनात्मक र सुन्दर छ । यो तरिकाले फलोअरको रुचि र संलग्नता बढाउन सक्छ ।

एउटा ट्विटमा धेरै फोटो अप्लोड गर्नुस्
ट्विटर आफैँले गरेको रिसर्चअनुसार फोटो भएका ट्विट अरु ट्विटभन्दा तीन हजार पटकभन्दा बढी हेरिन्छ । प्रायः ट्विटमा एउटा मात्र फोटो हुने गरे पनि एउटा ट्विटमा चारवटासम्म फोटो हाल्न सकिन्छ । जुन अझ बढी असरदार र आकर्षक हुन्छ । चारवटा फोटाबाट चार नयाँ कुरा भन्न सकिन्छ ।

जिआइएफसहित ट्विट गर्नुस्
ट्विटरमा जिआइएफको प्रयोग अहिले निकै बढ्दो छ । सन् २०१५ मा मात्र एक सय मिलियनभन्दा बढी जिआइएफ सेयर गरेको पाइएको थियो । पपुलर हुनुका साथै जिआइएफहरू मनोरञ्जनात्मक हुन्छन् र सजिलै खुल्छन् । जिआइएफले कथा बोक्नुकासाथै ट्विटरमा मसला थप्ने काम पनि गर्छ।

आफ्नै ह्यासट्याग फैलाउनुस्
इन्स्टाग्राममा जस्तै ट्विटरमा पनि ह्यासट्याग एकदमै उपयोगी तरिका मानिन्छ । आफ्नो सानो समुदायदेखि संसारभर आफ्नो कुरा फैलाउन छिटो माध्यम नै ह्यासट्यागको प्रयोग हो । ठूला क्रान्ति र परिवर्तन सम्भव पार्न सक्ने सामथ्र्य ह्यासट्यागले राखेको छ । नेपालमा शक्तिशाली भूकम्प जाँदा पनि ह्यासट्यागकै कारण संसारभर चाँडै समाचार फैलिएको थियो । त्यसको साथै सामाजिक कार्यका बेला पनि ह्यासट्यागले महत्त्वपूर्ण भूमिका खेलेको थियो । अहिले पनि अन्तर्राष्ट्रिय प्रिमियर लिगदेखि क्रिकेटसम्मका विभिन्न खेल हुँदा ट्विटरमा ह्यासट्यागको वर्षा नै हुन्छ । आफूले ताकेको सानो समूह या समुदायसम्म मात्र भए पनि कुरा पुर्याउन ह्यासट्याग प्रयोग गर्न सकिन्छ । आफैँले सधैँ ह्यासट्याग फैलाउन सम्भव नहोला । त्यस्तो बेला चलिरहेको ह्यासट्यागमा सामेल हुनु विवेकपूर्ण हुन्छ । आफ्नो ब्रान्ड चलिरहेका ह्याट्यागमा घुसाएर फाइदा लिन समेत लिन सकिन्छ ।

स्नापच्याट
स्नापच्याट जियोफिल्टर बनाउनुस्
एउटा रिपोर्टअनुसार ५५ वटा विभिन्न ब्रान्डले मात्र माग भएको स्नापच्याट जियोफिल्टर बनाएको देखियो । तपाईंको लक्षित ग्राहक या दर्शक स्नापच्याटमा छन् भने जियोफिल्टर एउटा राम्रो तरिका हुन सक्छ ।

युट्युब
युट्युब च्यानल बनाउनुस्

सामाजिक सञ्जालमा अपलोड हुने माध्यम जस्तै स्टाटस, ट्विट, आर्टिकल, ब्लगमध्ये सबैभन्दा बढी रुचाइने भिडियो हो । त्यसैले पनि युट्युब यति धेरै प्रसिद्ध र चलनचल्तीमा छ । भिडियोमा मान्छेको ध्यान तान्न सक्ने अचम्मको खुबी हुन्छ । धेरैभन्दा धेरै राम्रा लेख पनि भिडियोको अघि फिक्का लाग्छन् । त्यसैले आफ्ना कुरा, कला या खुबी धेरैभन्दा धेरै मान्छेसम्म पुर्याउन युट्युब च्यानल बनाउनुस् र भिडियो अपलोड गर्नुस् ।

इन्फोग्राफ प्रयोग गर्नुस्
इन्फोग्राफिक्सबाट पनि जानकारी सजिलो तरिकाले अरुसम्म पुराउन सकिन्छ । दृश्य र तथ्यांकको राम्रो तालमेलले गतिलो जानकारी सजिलो तरिकाले धेरैभन्दा धेरै कहाँ पुर्याउन सकिन्छ । थोरै ठाउँ ओगटेर पनि यसले धेरै जानकरी दिने गर्छ । इन्फोग्राफ प्रयोग गर्नुस्, आफ्नो कुरा फैलाउनुस् ।

स्लाइडसेयर बनाउनुस्
७० मिलियनभन्दा बढी मानिस स्लाइडसेयर खोल्ने गर्छन्, जसले गर्दा संसारमा बढी खोलिएको टप टेन वेबसाइटमा यो पर्न सफल भएको छ । स्लाइडसेयरको फम्र्याट नै सजिलो र कामलाग्दो भएकाले यो वेबसाइट धेरै हेरिन्छ । त्यसैले तपाईं पनि स्लाइडसेयर प्रयोग गरेर आफ्ना कुरा अरुसम्म पुर्याउन सक्नुहुन्छ ।
एजेन्सीको सहयोग

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349