eNepal

नाचेरमात्र जिन्दगी चल्दो हो त देउवा जी पनि ‘कहिलेकाही हाँसेर’ नाच्नुहुँदो हो

हतीयार खोलामा बगाएर एउटा आलिशान महल र चमक-धमकवाला जिन्दगी खोज्न काठमाडौं जानु भो । भेट्टाउनु पनि भो ।
जनसेनालाई कुन डम्पिङ साईटमा पुर्ने भन्ने योजना पनि सफल भयो । कतिलाई खाडी तिर कुहाईयो र रेमिट्यान्स भन्ने ‘मल’ बनाईयो । कतिलाई “बाल” नदिएर “बालकृष्ण” बनाईयो । कतिले राजनीतिक पसल खोले । कयौं अरू पार्टीमा जोईला गए । कति पोईला गए ।

कतिलाई ‘घडी रेडियो मर्मत केन्द्रमै’ खेम्सा खुवाईयो । अलि ‘चलाखले’ आफैं डोजर र जीप किने । डोजर किन्न नभ्याएका ‘चलाखहरू’ क्रान्ति अधूरो रहेकोले महान क्रान्ति पूरा गर्नकालागि चन्दा उठाउँदैछ्न । ढिलो चाँडो क्रान्ति सफल होला र किन्लान ‘डोजर र गाडीहरू’ पनि तर प्रचन्डलाई यो ‘घाँडो पार्टी’ कहाँ बुझाउने भनेर ठूलो समस्या आईलाग्यो । दुईचार बर्ष सिंहदरबार परिपरि चक्कर काट्नुभो । देशभक्तिको रोना-धोना बिज्ञापन गर्नुभो । देश-बिदेशकालाई गुहार्नु भो । मुस्किल होला जस्तो पो भो ! तर, मार्क्सबादले ‘तँ आँ गर मात्र म “बनाना” खुवाईदिन्छु’ भन्छ रे । हुनपनि त्यस्तै भो । प्रचण्ड आँ गर्नु भो र ओलीले ‘बनाना’ खुवाउनु भो । यानेकी पार्टी ओलीजीले आफ्नो बिशाल हृदय भित्र सहर्ष विलय गराईदिनुभो । प्रचण्डको काँध हलुका भो । खुशीले कपास हुनुभयो । खुसीमै ‘लालूपाते नुग्यो भूईतिर’ भन्ने क्रान्तिकारी गीतमा छमछम नाच्नुभो ।

नाचेरमात्र जिन्दगी चल्दो हो त देउवा जी पनि ‘कहिलेकाही हाँसेर’ नाच्नुहुँदो हो । प्रचण्डलाई पनि बेरोजगार जिन्दगी नाचेर मात्र नचल्लाजस्तो लाग्न थाल्यो । बाँच्न त काम पो गर्नु पर्दोरहेछ ! प्रचण्डलाई महसुस भयो ।

काम त गर्ने, तर के गर्ने?! बडो समस्या पर्‍यो । अहो ! बेरोजगार जिन्दगी बडो गाह्रो हुँदोरैछ । खाडीतिर जानु, बुढेसकालमा के जानु । शहरमा म:म:-चाउमिन पसल खोल्नु पनि हतियार, शहीद, निष्ठा र आस्था बेचेको पैसा लगानी गर्‍यो भनेर शंका हुने डर ।

प्रचण्ड न हुन् । गतिशिलता उनको चिनारी हो । भ्यागुतोले झैं फड्कोमार्नु उनको स्वभाव हो । प्रचण्डको दिमाग ‘फड्कियो’ । दिमाग ‘फड्किएर’ हाम्रो बालाई सम्झियो । युद्धकालमा चुपचाप आटो खुवाएको सम्झियो । ठसठस कन्दै हतियार र गोलीगठ्ठा बोकाएको सम्झियो । तास खुवाएर उठ्बस बनाएको रोमान्चक याद ताजा भयो । बाको निस्वार्थ -निश्छ्ल हाँसो र कर्म सम्झियो ।
फेरी ‘फर्केर आउँला’ भनेर गरेको ‘चट्टानी’ बाचा सम्झियो । हो, अभावले कमजोर भएको बेला अतितका यादहरू पनि कहिले प्यारो त कहिले बडा बोझिला भएर आउँने रहेछन ।

प्रचण्ड एकै फड्कोमा बेरोजगार जिन्दगी बोकेर हाम्रो बाको शरणमा पुगे । “लौ हरिप्रसाद जी मारे पाप , पाले पुन्य । म त तपाईंको शरणमा आईपुगें । मने म बेरोजगार भएँ , काम चाहियो ! ”

बालाई बिश्वासै भएन । शुरूमा बाले चिनेनन पनि ।

हजारौं मान्छेलाई गोरू बनाएर भिँडाउन सक्ने क्षमता भएका प्रचण्डलाई हाम्रा बाले बिश्वास नगरेर सुख पाउँथे । नचिनेर शान्ती पाउँथे ?! बाले चिन्नु भो र हाम्रा हरिप्रसाद बाको “हरि-मनले”प्रचण्डलाई सानोतिनो काम दिनैपर्छ भन्ने सोच्यो।

“प्रचन्न सर काम त यस्तै गाई-भैंसी दुहुने, गोबर-सोत्तर गर्ने छ, ठूला मन्छेलाई यस्ता काम कसरी लाउनु” , बाले अप्ठ्यारो मान्दै भन्नुभो ।

“धन्यवाद, हरिप्रसाद जी काम देकोमा । मने हामी कम्निस्टलाई काम ठूलो-सानो हुन्न । अप्ठ्यारो मान्नु पर्दैन। जाबो भैसी दुहुने काम कत्रो साह्रो-गाह्रो काम हो र! गरिहाल्छु नि । ”

प्रचण्डले कृतज्ञता प्रकट गर्दै बाको हातको ठेकी खोसेर भैसी दुहुन भनी गोठ तिर लागे ।

दश मिनेट हैन! पन्ध्र मिनेट हैन! एक-एक घण्टा भैसक्यो ! प्रचण्ड भैंसी दुहेर फर्किएनन त !
प्रचण्ड भैंसीको टाङमुनी त छिरेनन्? ! ओरालो लागेकालाई बाच्छोले त खेंद्छ रे । प्रचन्ड त भैंसी दुहुन पो गएका त ! प्रचण्डलाई भैंसीले पो खेद्यो कि भन्ने शंकाले बा हतारिंदै गोठमा पुग्छन् ।

“हैन! के भयो प्रचन्न सर” ? पसिनै पसिना भएर थाकेका प्रचण्डलाई बाले सोध्नुहुन्छ ।

प्रचण्ड :- “हेर्नुस् न हरिप्रसाद जी, तपाईंको यो भैंसीको एक थोपो दूध आएन । मने थारो भैंसी दुहुन त लाउनु भएन कतै ?!”

बा: “थारो भैंसी हुँदो हो त एक घण्टासम्म थुनमा झुन्डिदा दूध नआएपनी रगत त आउँदो हो । तपाईंले त राँगो पो दुहुदै हुनुहुन्छ, कसरी दूध आओस् ?! ”

प्रचण्ड: “मने पक्का राँगो नै हो त ?! यसको थुन पनि छ त !”
बा: “प्रचन्न सर थुन छ । तर सबै थूनबाट दूध आउँछ भन्ने के छ र?”

प्रचण्ड: “त्यसो भए हरिप्रसाद जी , यो गाईलाई दुहुन परो ।
बा: “हुन्न ..हुन्न.. त्यस्लाई दुहुन मिल्दैन ।”
प्रचण्ड: “मने किन मिल्दैन ?!”
बा: “त्यो गोरू हो । गोरू दुहुन मिल्दैन ।”

प्रचण्ड: ” हैन, दुहुन मिल्ने गाई-भैंसी खोई त हरिप्रसाद जी ?!”

यतिन्जेल बालाई प्रचण्डले गरिखान सक्दैन भन्ने लागिसकेको थियो ।
बाले झर्केर भन्नु भो, “लालसेनाले काटेर खाए ।”

प्रचण्ड फेरी बेरोजगार ।
यो लेख लेखकको फेसवुक वालबाट साभार गरिएको हो लेखमा लेखकका आफ्ना निजी विचार हुन
लेखक: प्रज्वल भट्टराई

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal