बा चुरोट पिउनुहुन्थ्यो। मलाइ बा’ले चुरोट पिएको खुब मन पर्थ्यो। बा’ले चुरोटको धुँवा तानेर बाहिर छोड्दा नाकका पोरा अनि मुखबाट धुँवाको मुस्लो निस्कन्थ्यो।
म चुपचाप बा’ले चुरोट पिएको हेरिरहन्थेँ। बा केही नबोली केके सोच्दै बरन्डाको खाटमा बसेर चुरोटको धुवाँ उडाउनु हुन्थ्यो। बा’ले चुरोट पिएको देख्दा मलाइ पनि रहर लाग्थ्यो। मलाइ पनि बा’ले जस्तै नाक र मुखबाट धुँवाको मुस्लो निकाल्ने मन हुन्थ्यो।
एकदिन बाले आफ्नो कोट खोलेर भित्तामा झुन्ड्याउनु भयो अनि बारी तिर पस्नु भयो। लगत्तै, मैले बा’को कोटको खल्ती छाम्न भ्याइँहालेँ। बाले खल्तिमा चुरोटको डब्बा पनि छोड्नु भएको थियो। मैले डराउँदै एक खिल्ली चुरोट निकालेँ अनि हाफपाइन्टको खल्तिमा लुकाएँ। बाहिर निस्किएर यताउता हेरेँ। आमा भान्सामा नै हुनुहुन्थ्यो।
म केही नबोली गोठ तिर दगुरेँ। गोठमा आगो बलिरहेको थियो। कुँडो पाक्दै थियो। म अँगेनाको छेउमा टुक्रुक्क बसेँ अनि खल्तिबाट चुरोट निकालेँ। बा’ले जस्तै गरेर चुरोटलाइ ओठले चेपेँ। अँगेनाबाट बलिरहेको दाउरो निकालेँ अनि चुरोटको टुप्पोमा जोडेर स्वाट्ट सास तानेँ। चुरोटको खरो धुँवा भित्रै सम्म पुग्यो। म रन्थनिएँ। हातले पकडेको दाउरो भुइँमा झर्यो। मलाइ सास फेर्न गाह्रो हुनेगरी खोकी लाग्यो। आँखाबाट आशुँका थोपा निस्किए।
“हैन के गर्छस् तँ याँ?” पछाडीबाट बाको आवाज आयो। मेरो सातो गयो। मैले पछाडी फर्केर बा’लाई हेरेँ। बा’को नजर मेरो हातमा रहेको चुरोटमा गयो। बा झम्टिँदै मेरो छेउमा आउनु भयो अनि चुरोट खोसेर फालिदिनु भयो। मेरो होस हराएको थियो। म निर्जिब मुढो झैँ ठिंग उभिइ रहेँ। बा’को हात मेरो गालामा बजारियो। मेरा आँखा तिरमिराए। गालो पर्परायो। आँशुका ढिक्काहरु पिर्लिक्-पिर्लिक् गालामा पल्टिन थाले। बा’ले केहिबेर अँध्यारो अनुहार बनाएर मलाइ हेरिरहनु भयो। मैले त बोल्ने कुरै भएन। घर माथिको कालो ढुंगो जस्तै चुपचाप उभिइरहेँ। मेरा आँखाबाट आँसु बगिरहेका थिए तर मैले आवाज निकालेको थिइन।
“तँ खुरुक्क घर गएर पढ्न बस् त। हैन भने अझै भेट्छस्। नचाहिँदो नचाहिँदो काम गर्दो रैछ, गधा!” बा मुर्मुरिँदै बोल्नु भयो। म आँसु पुछ्दै घरतिर लागेँ। आमाले म सुँकसुँकाएको देख्नु भयो। “हैन के भयो तँलाइँ फेरि? किन रोको छस् हँ?” उहाँले सोध्नुभयो। आमाले सोधेपछी सुँकसुँकाइ मात्र रहेको म झनै जोडले रुँदै माथिँ चडेँ। आमालाइ केही जवाफ दिइन। आमा बाहिर निस्किनु भयो। बा पनि मेरो पछि पछि घर आउनु भएको थियो। आमाले बा’लाई केके सोध्नु भयो कुन्नी मैले सुनिन।
मैले कोठामा पसेर किताब निकालेँ अनि घोप्टो परेर पढे झैँ गर्न थालेँ। मेरा आँसु निकैबेर सम्म किताबमा चुहिइ रहे। बेलुका आमाले खाना खान बोलाउनु भयो। म केही नबोली गएर चुपचाप बसेर खाना खाएँ। बा’आमा पनि केही बोल्नु भयो। आमाले घरिघरी मेरो अनुहारमा हेर्नुहुन्थ्यो। मेरो अनुहार पिन्चे भएको थियो। बाले थप्पड हानेको गालो अझै रातै थियो होला। हलुका दुखी रहेथ्यो। म खाना खाएर चुपचाप माथी चडेँ अनि किताब निकालेर घोप्टो परेँ। केही बेरमा बा आउनु भयो। अर्को खाटमा बस्नुभयो केही नबोली। मेरा नजर किताबमा थिए तर ध्यान भने बा तिर।
केहिबेर चुपचाप बसेपछी बा’ले लामो सास् फेरेर बोल्नुभयो “हेर! चुरोट राम्रो चिज हैन। क्यान्सर हुन्छ त्यसले। बुझिस्?”
बा’को आवाज नरम अनि माया लाग्दो थियो। बा’को यस्तो आवाज सुनेर मेरा आँखाबाट फेरि आँशु चुहिन थाले। घुँक्क आवाज निस्कियो। बा मेरै खाटमा आउनुभयो अनि मेरो ढाडमा हात राख्दै बोल्नुभयो “भयो नरो! अब त्यस्तो चिज कहिले नखानु है? चुरोट खायो भने त क्यान्सर भएर चाँडै मरिन्छ फेरि।”
बा आफैँ चुरोट पिउनु हुन्थ्यो अनि आँफै भन्दै हुनुहुन्थ्यो “चुरोट खायो भने चाँडै मरिन्छ।” मलाइ बा’को कुरा मुटु सम्म बिझ्यो। म ‘बा’ कहिल्यै नमर्नुहोस् भन्ने चाहान्थेँ। किनकी मलाइ थाहा थियो, कहिलेकाहिँ थप्पड लगाए पनी मेरा बा’ले मलाइ धेरै माया गर्नुहुन्छ भनेर। मलाइ मेरा बा संग अझै कत्ती कुरा किनि माग्नु थियो। यदि बा चाँडै मर्नुभयो भने मलाइ ‘सिङ भएको साइकल’ कसले किन्दिने? तीन कक्षा पुगेपछी उहाँको जस्तै घडिपनी त किन्दिन्छु भन्नू भएको थियो बाले।
मलाइ झनै रुन आयो। मेरा आँसु फेरि किताबमा चुहिए। घोप्टो परेको मलाइ बा’ले मलाइ माथी उठाउनु भयो। म रुँदै बा’को छातिमा टाँसिएँ। बा’ले केही नबोली मेरो ढाडमा थपथपाउनु भयो। केहिबेर पछी मैले बा’को अनुहारमा हेरेर रुँदै बोलेँ “बा! हजुर चाँडै मर्नुहुन्छ हो?”
बा’को अनुहार झनै अँध्यारो भयो। ओठ केही चलमलाए तर केही बोल्नुभएन। उहाँले मलाइ केहिबेर जोडले पकड्नु भयो अनि छोडेर बिस्तारै बोल्नु भयो “सुत् अब। भोलि पढ्नु।”
यति भनेर बा आफ्नो कोठा तिर जानू भयो। म बत्ती निभाएर ओछ्यानमा पल्टिएँ। राती अबेर सम्म निन्द्रा लागेन। मनमा केके कुरा खेलिरहे “साँच्चै बा चाँडै मर्नु भयो भने? मलाइ दशैंमा कसले किनिदेला जिनिसको ज्याकेट र पेन्ट? म तीन कक्षामा पुग्दा कसले ल्याइदेला मगमगाउने नयाँ कीताब? बा नै नभएपछी मैले कसको कोटको खल्तिमा हात हालेर पाउँला मिठाई? मलाइ बटारे खाने पैसा कसले देला? कसले किन्देला साइकल र घडी?” म छटपटाइ रहेँ आधारात सम्म।
भोलिपल्ट म केही ढिला उठेँ। म उठ्दा बा घरमा हुनुहुन्न थियो। आमाले चिया दिनुभयो। म चिया पिएर खेल्न निस्किएँ। सनिबार भएकाले स्कुल जान पर्दैन थियो। घरदेखी केही पर देबिथान थियो ठूलो रुखको फेदमा। मान्छेहरु भन्थे त्यही रुखमा देबिले बाँस गर्छिन्। हामी त्यही देबिथान ओरिपरी खेल्ने गर्थ्यौँ सधैँ। गाउँ भरिका मान्छे त्यहाँ पुजा गर्थे दशैँको बेला। अरुबेला पनि गर्थे तर कहिलेकाहिँ मात्र। म देबिथान छेउ पुगेँ। रामे आएको थिएन त्यहाँ अझै।
एक्लै भएसी म देबिथान भित्र नै पसेँ। पुजा गर्न हैन यसै हेर्न मात्र। त्योदिन पनि उसैगरी रुखको फेदमा बसिरहेकी थिइन देबि। देबिका अगाडि गाउँलेले चडाएका केही सिक्का पैसा, त्रिशूल, ध्वजा, घन्टी थिए, सधैँ जस्तै। तर, त्यो दिन नौलो कुरा के थियो भने, देबिको मुर्ती नजिकै एउटा चुरोटको डब्बा अनि एउटा सलाइ पनि थियो। मैले चिनिहालेँ त्यो चुरोटको डब्बा मेरा बा’ले नै त्यहाँ छोड्नु भएको हो भनेर किनकी त्यस्तो चुरोट खाने बा मात्र हुनुहुन्थ्यो हाम्रो गाउँमा। अरुले सुर्ती खान्थे खोस्टामा बेरेर। बा’ले किन त्यहाँ चुरोट छोड्नु भयो, मैले बुझिन। मैले चलाइन पनि। मलाइ थाहा थियो “त्यहाँ चडाएका कुरा पुजारी बाजेले बाहेक अरुले चलाउन हुन्न भनेर।
बेलुका बा काम बाट फर्किनु भयो। फर्केपछी सधैँ खाटमा बसेर चुरोट सल्काउने बा’ले त्यो दिन सल्काउनु भएन। कोटको खल्तिबाट दुइटा मिठाई झिकेर मलाइ दिनुभयो। मैले नबोली पकडेँ। फेरि अर्को खल्तिबाट ठुला ठुला दुइओटा ल्वाँङ र मरिचका पोका निकालेर मलाइ दिँदै भन्नु भयो “ला यी लगेर मेरो टेबलमा राख्।”
मैले बाको हातबाट ल्वाङ र मरिचका पोका पकड्दै बोलेँ “किन ल्याका बा यति धेरै ल्वाङ र मरिच?”
बा’ले मेरो अनुहारमा हेर्नुभयो अनि अलिअली काला भएका दाँत देखाएर हाँस्दै बोल्नुभयो “धेरै बाँच्न!”
लेखक: सन्तोष बस्नेत