बुधबारसम्म एमाले-माओवादी एकतामा केन्द्रित नेपाली राजनीति बिहिबार एक्कासी सरकार गठनतर्फ मोडियो । लामो समयदेखि राजिनामा दिन आनाकानी गरिरहेका निबर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सरप्राइज रिजाइन’ दिने चाल पाएलगतै ‘एकता राजनीति’लाई एकातर्फ थन्काएर बाम गठबन्धन एकाएक सरकार गठनतर्फ लम्किए ।
बिहिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन माग दाबी गर्दै बामगठबन्धनका नेताहरु शितलनिबास पुगे । बाम गठबन्धनले शितलनिबासमा माग दाबीको पत्र बुझाउदै गर्दा निबर्तमान प्रधानमन्त्री देउवाले बालुवाटारमा देशबासीको नाममा करिब १५ मिनेट सम्बोधन गर्दै राजिनामाको उद्घोष गरे । यसरी एकाएक बिकसित राजनीतिक घटनाक्रमले नेपाली राजनीतिमा एक खाले भूकम्प पैदा भयो । यस क्रममा देखिएका केही कमजोरीहरुले प्रधानमन्त्री बन्न ओलीको हतारोलाई इंगित गर्दछ । यहि हतपत भएका ५ लटपट प्रस्तुत छ ।
१. एक बर्षअघिको नियुक्ति पत्र
निबर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले राजिनामा दिने बितिकै राष्ट्रपति बिद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेको पत्र थमाए । प्रधानमन्त्रीमा ओली नियुक्त गरिएको बिज्ञप्ति लेख्ने क्रममा कति हतारो भएको छ भन्ने कुरा बिज्ञप्तिमा उल्लेखित मितिले छर्लंग हुन्छ । थेरै शब्दको बिज्ञप्तिमा समेत ‘२०७३’ उल्लेख हुनु गम्भीर गल्ति हो ।
२. पहिले प्रधानमन्त्री अनि संसदीय दलको नेता
प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेता हुनुपर्ने संबैधानिक ब्यबस्था छ । तर ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिको पत्र बुझ्न यति धेरै हतारो भएको देखिन्छ कि संसदीय दलको नेता हुनु अगावै प्रधानमन्त्रीमा नियुक्ति भएको पत्र बुझेका छन् । नियुक्ति पत्र लिएको केही घण्टापछि मात्र एमालेको बैठकले ओलीलाई संसदीय दलको नेतामा चयन गरे । त्यसो त नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा २ मा, प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यहि ब्यबस्था अनुसार ओलीले प्रधानमन्त्री नियुक्तिको पत्र पहिले बुझ्नु गलत त होइन तर लगतै संसदीय दलको नेतामा चयन गरिनुलाई भने अस्वाभाविक देखिन्छ ।
३. प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारीलाई झनै हतारो
प्रधानमन्त्री ओलीको शपथग्रहण साँझ मात्र भयो तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइटमा भने ५ घण्टा अगाबै ओलीलाई प्रधानमन्त्रीको रुपमा अपडेट गरियो । जब कि कुनै पनि पदको आधिकारिकता शपथग्रहणपछि मात्र लिइन्छ ।
४. शपथग्रहणमा शब्द नै छुट्यो
शपथग्रहणका क्रममा उल्लेखित शब्दहरुलाई बिशेष महत्वका साथ् लिइन्छ । तर बिहिबार प्रधानमन्त्री ओलीले शपथ ग्रहणमा एउटा महत्वपूर्ण शब्द नै छुटाएका छन् । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्दा ‘देश’ भन्ने शब्द नै उच्चारण गर्न छुटाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा निबर्तमान उप प्रधानमन्त्री कमल थापाले पुन: शपथ लिएर रेकर्ड सच्याउन सुझाब दिएका छन् ‘प्रम के पि ओलीले शपथमा “देश” शब्द उच्चारण गर्न छुटाउनु भयो,’थापाले ट्वीट गर्दै लेखेका छन्,‘निश्चय नै यो नियतवश होईन, त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु।’
थापाले आफ्नो ट्वीटमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले शपथमा सामान्य त्रुटि हुँदा दोहोर्याएर सपथ लिएको सन्दर्भ उल्लेख गरेका हुन् । ‘अमेरिकी रास्ट्रपति ओबामाले शपथमा सामान्य त्रुटी हुँदा भोलिपल्ट कार्यकक्षमा दोहर्याएर शपथ लिएका थिए ।’ थापाको ट्वीटमा उल्लेख छ ।
५. सिटीईभिटी भन्न नजान्दा
शपथग्रहण लगतै पदभार ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले बिभिन्न संकल्पहरु प्रस्तुत गरे । त्यसक्रममा प्रधानमन्त्री ओलीले सिटिईभीटि भन्नुपर्ने बेलामा सिसिटिभी उच्चारण गरेपछि उपस्थित पत्रकार लगायत अल्मलमा परे । त्यस लगतै शब्द सुधार्न खोजेपनि ओलीले सकेनन र तीन पटकको प्रयासपछि मात्र सिटिईभीटि उच्चारण गर्न सके । त्यसक्रममा ‘टेक्निकल’ कुरा भन्दै ओलीले आफ्नो अलमललाई छोप्ने कोसिस गरे । पहिलो मन्त्री परिषद बैठकले प्रत्येक प्रदेशमा प्राबिधिक तथा ब्यबसायीक महाबिद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।
साभार: केन्द्रबिन्दु डटकम