eNepal

क्यानडाबाट म यसकारण नेपाल फर्कें

म नेपाल सरकारको वन सेवाको फस्ट क्लास अफिसर थिएँ । जागिरको अवधि अझै ६-७ वर्ष बाँकी थियो । त्यही अवधिमा म ०७२ सालमा सरकारी सेवाबाट राजीनामा दिएर क्यानाडा गएँ ।

नजिकैको सचिव पदलाई तिलाञ्जली दिएर सहसचिवको जागिरबाट राजीनामा दिने व्यक्ति सम्भवतः म नै पहिलो व्यक्ति लागिरहेको छ । क्यानाडा जानु मेरो सोख वा बाध्यता केही थिएन । एउटा खोजको प्राप्ति थियो । चाकडी, चाप्लुसी र भनसुनले गाँजेको कर्मचारी तन्त्रका विभिन्न बान्कीहरु देखेर म भित्रभित्रै विरक्तिएको थिएँ । त्यसैले सिर्जनाविहीन लामो जागिरे जीवनबाट मुक्त भएर केही नयाँ उडान भर्ने योजना मुताविक म क्यानाडा गएँ ।

म पढाइमा सधैं अब्बल नै थिएँ । त्यसैले म साहसिक जीवन मन पराउँछु । संसारको अन्वेषण गर्न चाहन्छु । त्यसैले मैले सहसचिवको जागिर छाडेर क्यानाडा गएँ । तर, क्यानाडाको झण्डै २ वर्षको बसाईमा पनि मेरो मन नेपालमै थियो ।

क्यानडामा रहँदा…

मैले त्यहाँ अनुसन्धान थालें । क्यानडा भूगोलमा नेपाल भन्दा झण्डै ७० गुणा ठूलो संसारको एक सम्पन्न राष्ट्र भए पनि जैविक विविधतामा नेपालभन्दा धेरै गरिव पाएँ । तर त्यहाँ जैविक विविधतालाई व्यावसायिक प्रयोजनमा उपयोग गरेको पाएँ । त्यसबाट मैले नेपालको जैविक विविधतालाई व्यावसायीकरण गरी सोबाट आर्थिक समृद्धि हासिल गर्न सकिने प्रचुर सम्भावना देखेँ । कसरी क्यानाडालाई नेपालका उत्पादनको बजार बनाउन सकिन्छ ? कसरी त्यहाँको विकसित प्रविधि भित्र्याएर कृषि र उद्योगमा आधुनिकीकरण गर्न सकिन्छ, मेरो मनमा यी नै कुराहरु खेल्न थाले ।

क्यानाडामा बस्दा मैले एउटा महत्वपूर्ण कार्य गरें । त्यो हो, नेपालमा कस्ले के गरिरहेका छन् जसबाट नेपालको कृषि र उद्योगलाई मद्दत पुगेको छ । रोजगारी बढेको छ । आयात प्रतिस्थापन गर्न मद्दत पुगेको छ र विदेशी मुद्रा आर्जन भएको छ । मैले मानिसहरुको विवरण संकलन गरें । उनहरुले गरेका कार्यहरुलाई नेपालको दीगो समृद्धिसँग जोड्न थालें ।

दिनहरु बित्दै गए । तर, मनमा भने शान्ति भएन । मनमा देशमै केही गर्नुपर्छ भन्ने आन्दोलन चलिरहृयो । अन्ततः मैले नेपाल फर्कने निधो गरें । मैले क्यानाडाको सवै सेबा सुविधा त्यागेर नेपाल फर्कें ।

सम्भावना खोज्दै स्वदेश फिर्ती

नेपाल फर्केर मैले सबैभन्दा पहिले ती मानिसहरुसँग भेटघाट शुरु गरें, जसका बारेमा मैले सूचना संकलन गरेको थिएँ । २७ दिनसम्म निरन्तर म ती मानिसहरुसँग भेटघाटमा रहें । ती मानिसहरु झापादेखि महेन्द्रनगर र चितवनदेखि मुस्ताङ्गसम्मका थिए । यसबाट मलाई यहाँ केही गर्न सकिन्छ भन्ने धेरै ऊर्जा मिल्यो ।

निर्वाहमुखी खेतीमा टाक्सिएका समुदाय र प्रशस्तै बाँझा फाँटहरु देखें । यसबाट म दुःखी भइनँ । मैले सम्भावना देखें । अब हामीले हाम्रा युवालाई विदेशबाट नेपाल फर्काई व्यावसायिक कृषि र कषिसँग सम्बन्धित क्षेत्रमा लगाउन प्रोत्साहन दिनुपर्छ भन्ने निश्कर्ष निकालें ।

धेरै सम्भावना मध्ये हाम्रो एउटा महत्वपूर्ण सम्भावना जडीबुटीको छ । जडीबुटीमा हाम्रो अवस्था भर्जिन छ । यहाँ केही भएकै छैन । म आफू एउटा वनस्पतिशास्त्री पनि भएकाले मैले यसैबाट नेपालको समृद्धिको एउटा पाटो देखें ।

मेरो अनुसन्धानको क्षेत्र

यो किन पनि भन्दैछु भने, बोटानी र इकोलोजीमा मास्टर डिग्री हासिल गरेको मैले जैविक विविधतामा पीएचडी गर्ने क्रममा नेपालको १०० मिटरदेखि ६ हजार मिटर उचाईसम्मको वनस्पती र हावापानीको अन्तरसम्वन्धका बारेमा विभिन्न चरणमा अनुसन्धान गरें । यो क्षेत्रको जैविक विविधताको प्याटर्न अन्वेशण गरेँ । विभिन्न अध्यन अनुसन्धानको सिलसिलामा ७० भन्दा बढी जिल्लाको भ्रमण पनि गरें ।

मैले जैविक विविधताका बारे लामो अनुसन्धान गरें । लौंठ सल्लाको अनुसन्धान गरें । मोरिंगाको व्यवसायिक खेती शुरु गराएँ । चिराइतोको अनुसन्धान गरें र यसको व्यवसायिक उत्पादनको थालनी गराएँ ।

मह उत्पादनको प्रचुर सम्भावनाको अध्ययन गरें । सजीवनको अनुसन्धान गरें । बायोडिजल अभियान चलाएँ । बुद्धचित्तसँग गाउँका किसानहरुलाई जोडें । यसले अभियानकै रुप लियो । अहिले व्यक्तिहरुले लाखौं करोडौं कमाएको सुन्दा रमाइलो लाग्छ ।

नेपालमा जडिबुटी र वनस्पतिको खेती अझै राम्रोसँग शुरु गरिएको छैन । व्यवसायिकरुपमा त यो छँदैछैन । नेपालमा सजिलै खेती गर्न सकिने करौंडौ रुपैयाँको निसोध भारतबाट आयत गरिन्छ । नेपालमा खेती गरी करोडौं रुपैयाँको आर्जन गर्ने सम्भावना भएको वनस्पति हो गुगुल । झण्डै सुनजस्तै महङ्गो हुने अगार उड अर्को नेपाललाई समृद्घ बनाउन सक्ने सम्भावना भएको वृक्ष हो ।

यस्ता वनस्पतिलाई व्यावसायिक गर्ने न त सरकारसँग योजना छ न त मुलुकसँग कुनै निकाय नै छ । त्यसैले त्यतातिर नै मेरो ध्यान छ ।

यी सबै कार्यले गर्दा मैले नेपालमा समृद्धिको एउटा आधार जडिबुटीको व्यापक विकासलाई लिएको हुँ । जडीबुटी र रुखको व्यावसायिक खेती र उत्पादन गरी आर्थिक अभिवृद्घ गर्न मैले एउटा अर्गानिक हर्वल फारम सुरु गर्दैछु । यो हर्वल फारम तराईदेखि उच्च हिमाली भेगसम्म विभिन्न भौगोलिक धरातलमा हुनेछ ।

नेपालमा अहिले ७३ वटा आयुर्वेदसम्बन्धी फर्मास्युटिकल छन् । तिनीहरुका लागि आवश्यक कच्चा पदार्थ प्राय बाहिरबाटै आउँछ ।यो सुन्दा यो क्षेत्रलाई धेरै नजिकबाट नहेरेका मानिसलाई त विश्वास नलाग्ला, तर नेपालका ठूला आयुर्वेद उद्योग, जस्तै गोरखा आयुर्वेद कम्पनी र सिंहदरबार बैद्यखानाको जडीबुटीको आयातको तथ्याङ्गबाट प्रस्ट हुन सक्छ ।

नेपालमा सजिलै उत्पादन हुन सक्ने अमला, हर्रो, बर्रो जस्तो कुरा पनि बाहिरबाट आउँछ । हामीले केही जडिबुटी निर्यात भइरहेको त सुन्छौं । तर, अर्बौं रुपैयाँको आयात भएको चर्चा कम हुन्छ ।

हामी किन गरीब भयौं ?

म लगभग ४० देश घुमें । अध्यन र अनुसनधानका क्रममा युरोप र एशियाका विभिन्न देशमा ६ वर्ष र व्यावसायिक अनुसन्धानका क्रममा नर्थ अमेरिकामा झण्डै २ बर्ष गरी ८ वर्ष बाहिर बसें । यो अवधिमा मलाई सधैं सताउने प्रश्न हो, हामी किन गरीब ?
मेरो जीवनको यति लामो यात्रा, अनुसन्धान र अनुभवबाट मैले के पाएँ भने हामी जम्मा दुई कारणले मात्र गरीब भएछौंः ती हुन् सही पहिचान गर्न नसकेर र पहिचान भएको विषयलाई व्यावसायीकरण गर्न नसकेर ।

हो, हामीले हाम्रो प्राकृतिक स्रोतहरुलाई व्यवसायीकरण गर्ने बारेमा योजना बनाएनौं । बनेका योजनाहरु ‘हिँड्दैछ, पाइला मेट्दैछ’ जस्तै भए । एउटाले बनाएको योजना अर्कोले कार्यान्वयन गरेन ।

हाम्रो समाजमा प्रविधिप्रति आकर्षण बढाइएन । हाम्रा कति सय बर्ष देखि जोत्दै आएको काठको हलोलाई आधुनिक प्रविधिले खेत जोत्नका लागि प्रतिस्थापन गर्न सकेन । प्राविधिक सीपको विकास गरिएन । स्रोत र बजारको पहिचान गर्न सक्ने क्षमता भएन । गुणस्तरीय उत्पादनका लागि समर्पित जनशक्ति तयार गरिएन ।

यहाँ मानिसहरु जागिरे सोचबाट निर्देशित भए । सानोतिनो उद्योग गरिरहेकाहरु पनि कुटिर उद्योग जसरी मात्रै चले ।

अब हामीसँग कमीकमजोरी कोट्याएर बस्ने समय छैन । प्राकृतिक जैविक विविधताबाट फाइदा लिने समय हो यो । सिंगो नेपालको जनसंख्या अटाउन सक्ने जुम्ला, हुम्ला र डोल्पाका भिराला फाँटहरुमा समृद्धि देख्ने समय हो । ती सुन फल्ने पाखाहरुको उपयोग गर्ने समय हो यो ।

खप्तडका फाँटहरुलाई समृद्धिसँग जोड्ने समय हो यो । तराई र भित्री मधेसका बाँझा जमीनमा अगार उड जस्ता महत्वपूर्ण वृक्षले ढाक्ने समय हो यो ।

अब जडीबुटी विकास गुरुयोजना निर्माणको आवश्यकता छ । म त्यो निर्माण गर्न सक्छु । मजस्ता अरु सयौं व्यक्तिहरु पनि छटपटिइरहेका छन् । उनीहरुमा पनि केही गरौं भन्ने चिन्तन छ । तर, मेसो पाउन सकिरहेका छैनन् । निराश व्यक्तिहरु विदेश जाने सोचाई बनाइरहेका छन् । यहीँ हुँदा पनि उनीहरु डिप्रेसनमा छन् । यो अवस्थालाई राष्ट्रले बुझ्न आवश्यक छ ।

नेपाल फर्क अभियान चलाउनुपर्छ

अब विदेशमा मानिस निर्यात गर्ने समय होइन । अब हाम्रा उत्पादनले विदेशी बजारमा पडक जमाउनुुपर्छ ।

र, अहिले एउटा सुनौलो सामाजिक र राजनीतिक परिस्थिति पनि हाम्रा सामु छ । विदेशमा दिक्क भएको ठूलो जमात छ, जो देशमै केही गरौं भन्ने इच्छा, अपेक्षा राख्छ । त्यो जमात एउटा गोडा उचालेर बसेको छ, स्वदेश फर्केर यही देशमै सम्मानित जीवन बाँच्ने उपक्रम गर्न ।

तिनीहरु ज्ञान, सीप, अनुभव र बुद्घलिे निपूर्ण छन् । तिनीरुलाई राष्ट्रले नेपाल र्फक भन्ने अभियान चलाउनु पर्छ ।

र, राजनीतिक रुपमा अहिले इतिहासमै एउटा आशालाग्दो समय देखिएको छ । वामपन्थी एकता र पूर्ण बहुमतको सरकार । यो नेपालको इतिहासमा यसअघि कहिल्यै भएको थिएन । यसले धेरै मानिसमा आशाको सञ्चार भएको छ । देशको प्याराडाइम सिफ्ट भएको यो अवस्थामा, संघीयताले आशाको सञ्चार गरेको यो समयमा, जुुझारु स्थानीय सरकारहरुले नयाँ-नयाँ सम्भावना पहिल्याइरहेको अवस्थामा मुलुकले विभिन्न देशमा बसेर विज्ञ्ाता हासिल गरेका व्यक्तिलाई राजा महेन्द्रले जस्तै नेपाल फर्काउने समय हो यो ।

यी सबैको भीडमा म पनि एउटा आशावादी नेपाली भएको नाताले स्वदेश फर्कें । यहीँ केही गर्न सकिन्छ भन्ने विश्वासले जरा गाडिरहेको छ । के-के गर्ने भनेर योजना बनाउँदैछु । विदेशमा रहेर स्वदेशको सम्झनामा तडपिइरहनुु भएका साथीहरुलाई यहीँ केही गर्न सकिन्छ भन्ने रिस्क लिन आग्रह गर्दछु ।

कमल दलदलमा फुलेको हुन्छ । त्यो टिप्न त्यो दलदलमा होमिनु पर्छ । मैले त यसमा होमिने निधो गरें । यहाँहरुलाई पनि म यस्तै निर्णय लिन आग्रह गर्दछु । तपाईंको विज्ञताको खाँचो यो देशलाई छ ।
लेखक: डा खेमराज भट्टराई
साभार: अनलाईन खबर

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349