eNepal

फेसबुके मायाँमा पर्दा न पिआर नै भयो न घरबारनै

फेसबुकको क्रेजले मलाई पनि अछुतो राखेन। साथीहरु सबै फेसबुकबाट लभ पार्दै कोही अमेरीका त कोही अस्ट्रेलीया जान थाले। मलाई पनि कतै लैजाने मान्छेको खोजीमा थिए। बार्ह सकेर फुर्सदको समय कटाउने गतिलो माध्यम बन्दै थियो फेशबुक।

साथीहरुले राखेको सुन्दर र मनमोहक फोटोमा लाईक र कमेन्ट गर्दा गर्दा वाक्क दिक्क भई सकेको थियो। केही लेख्यो भने जलेकी भन्थे भनेर व्हा लक्की गाईज् लेख्दिन्थे। कति रमाईलो हो भनेर लेख्दिन्थे। मन मनै भने मेरो त्यो दिन कहिले आउँछ होला दिन गन्ती गरेर बस्थे। साथीले ट्याग गरेका साथीहरुको प्रोफाईल चेक गर्थे कोही मलाई पनि फुत्त डिपेन्डेन्ट बनाएर लैजाने पो भेटी हालिन्छ कि भन्दै। सुनेको थिए अक्सर नेपालबाटै जोडी बाँधिएर जान्छन् रे भन्ने।फोटो हेर्दा पनि त्यस्तै लागेर आउँथ्यो। फोटो हेर्ने लाईक गर्नेर कमेन्ट गर्ने क्रम निरन्तर चलिरह्यो।

एकदिन त्यतिकै घरमै पल्टिरहेको थिएँ। माघको जाडो साथीहरु कालिन्चोक जाउँ भनेर उचाल्दै थिए। तर मलाई खासै जोश र जाँगर नचलेको भएर होस् यो पाली जाँदिन मलाई सन्चो छैन भनेर टारी दिए। उही ठेक्का फेशबुक चलाएर बसिरहेको थिए। एक्कासी नोटीफीकेसन आयो फ्रेन्ड रिक्वेस्टको। हेर्नु त परि हाल्यो। केटाको रहेछ।उसको प्रोफाईल चेक गरे। लिभ ईन् मेल्बोर्न अस्ट्रेलीया रहेछ। फोटोहरु हेरे बिदेशको जस्तै थियो। उसको म्युचिएल फ्रेन्डहरु हेरेको मेरो अस्ट्रेलीयामा भएकी साथीहरु रहेछन।त्यस पछि हतार हतार एसेप्ट गरे। मनमनै सोचे कतै अस्ट्रेलीया जाने बाटो त बनेको होईन।

मनमा नानाभाती कुरा खेलाउन थाले। सिङ्गल छ कि रिलेसनसिपमा, कति भयो गएको, कस्तो मान्छे छ। बानी बेहोरा देखी मलाई मन पराउँछ कि पराउँदैन। मलाई अस्ट्रेलीया जानु थियो जे जस्तो गरेर पनि। त्यसपछि बिस्तारै वेभबाट शुरु भएको हाम्रो च्याट के छ, सन्चै, काममा कि घरमा, कति बजे काम सकिन्छ, अनलाईन कहिले भेटीन्छ, आज काम छैन बाट शुरु भयो। सामान्य कुराहरु हुँदै गर्दा भित्रभित्रै मायाँको अङ्कुरहरु पलाउँदै गएको आभास दुवैलाई हुन थाल्यो। उसले पनि तिमी आउने हो त अस्ट्रेलीया भन्दै सोधेको देख्दा कतै मेरो सपनाको राजकुमार उहि पो होकी जस्तो लाग्न थाली सकेको थियो। साथीसँग बुझ्दा पनि खै केटा राम्रै छ, हाँस्छ बोल्छ, रमाईलो स्वभावको छ।अव उसको आन्तरिक मामला भने थाहा छैन। फेरी अर्काको आन्तरीक मामलामा चासो राख्नु खासै राम्रो पनि हुन्न भन्थे। कुरा यति मिठा र फरासीला गर्थ्यो कि साँच्चै मलाई अत्तिनै मायाँ गर्छ।

एकाएक शिबरात्रीको एकदिन अघि भाईबरमा फोन गर्यो। तिमी साँच्चै अस्ट्रेलीया आउने हो भनेर प्रस्न गर्यो। यदि हो भने मेरो घरमा दश लाख रुपयाँ देउ म तिमीलाई डिपेन्डेन्ट भिषामा अस्ट्रेलीया बोलाउँछु। एकछिन त अक्क न बक्क परी। पैसा किन नि भन्दा घरमा अलिक जरुरी छ। पछि मिलाउला नि भन्दै सम्झाउन थाल्यो। म सोचेर फोन गर्छु भनेर फोन राखि दिएँ।

एक्लै कोठामा गएर उसको प्रस्ताबलाई सय चोटी सम्म सम्झे। अनि फेरी सोचे ठिकै छ नि त उसले मलाई मायाँ गर्छ भने दश लाख अस्ट्रेलीया जाने लगानी सम्झेर दिन्छु अनि उता गए पछि पठाई दिई हाल्छु नि।

पैसा दिने निस्कर्समा पुगेर उसलाई भने अव कसरी कागज बनाउने। उसले खाता नम्बर दिएर फलानो बैंकमा पैसा डिपोजीट गर्देउ। म काममा छुट्टी मिलाएर छिटै आउँछु अनि मन्दिरमा यसो बिहे गरे जस्तो गरेर फोटो खिचौला अनि कागज पत्र बनाएर छिटै एप्लाई गर्छु भनेर सान्तावना दिन्थ्यो।

मन त्यसै फुरुङ्ग भएर आयो। कता कता सपनाको देश अव हकिकतमा परिणत हुने दिव्य सपनाले कुत्कुती लाग्दै गयो। पखेस् खुब गफ दिन्थ्यौ नि अस्ट्रेलीया यस्तो र उस्तो भन्दै अव तिमीहरुको पानीमा पाध्या जस्तो गफ सुन्ने दिन गए। म पनि जाने भए अस्ट्रेलीया भन्दै कति खेर अनलाईन आउँला मायाँका मिठा कुरा गरौला भनेर कुरेर बस्न थाले। उ पनि कामबाट यसो फुर्छद भयोकि के छ काली भन्दै कुरा गर्न लालायीत हुन्थ्यो। घण्टौ कुरा हुन्थ्यो कहिलै रमाईला र कहिले अश्लिलता।

पैसा हाल्देको हो भनेर म्यासेज गर्थ्यो। म पैसा जुटाउन तिर लागे। कसको घरमा हुन्छ र क्यास दश लाख। ऐचोपैचो गरेर पैसा जुटाएँ। उसले भने बमोजिम पैसा जम्मा गरिदिएँ। त्यस पछि उसलाई पैसा जम्मा गरिदिएको सुचना दिएँ। पैसा पाए पछि उसले फेरी अर्को अड्चन थाप्यो। तिमीलाई डिपेन्डेन्टमा ल्याउन पाँचलाख जति लाग्ने रहेछ। मसँगनि पैसा छैन अहिले। यसो पैसाको चाँजोपाँजो मिलाउदै गर। फेरी यता आए पछि त सिधै पिआर हुन्छ तिम्रो पनि।

हो त नी भन्दै त्यो पैसाको पनि जोहो गरे। त्यसको हप्ता दिन पनि नबित्दै म डकुमेन्ट यतै बाट हाल्न लागेको भन्दै पैसा पठाई दिन आग्रह गर्यो। तिम्रो सहि भएको कागज पठाउ भन्दै मलाई अक्क न बक्क पार्यो। होला त नि भनेर पैसा पनि पठाई दिए।

समय बित्दै जान थाल्यो। कुरा कमकम हुँदै गयो। हरबखत काममा छु पछि कुरा गर्छु भन्दै टार्न थाल्यो। बिस्तारै टिमुर्केका कुरा गर्न थाल्यो। मलाई अव भने मनमा चिसो पसि सकेको थियो। आज चाँही गर्छु भनेर भाईभरमा कल गर्न खोजे ब्लक गरी सकेछ, म्यासेन्जरमा पनि ब्लक गरि सकेछ। उसको फेशबुक आईडीनै ब्लक भएछ। अव कसलाई भन्ने मन त्यसै आतङ्कित भएर आयो। भरे बुझ्दै जाँदा त उ स्वम् ईलिगल भएर बसेको रहेछ अस्ट्रेलीयामा। फेसबुकको नाम पनि फेक रहेछ। कति सम्पर्क गर्न खोजे अहँ कहि कतै भेटीएन।

फेशबुके मायाँले न पैसा रह्यो, न मायाँ प्रेमनै, न पिआरनै भयो न घरबारनै। आज भिरको चिन्डो उँदो न उँबोको दोषाँधमा आफ्नो जिवनलाई जसोतसो चलाई रहेको छु। त्यसैले फेकबुकको पछाडी सुन्दर चिल्ला तस्बिरको पछाडी परेर आफ्नो जिवनलाई बिदेशको सुखसैलमा रमाउनका खातिर हावातालमा हामफाल्ने दुस्प्रयास कोही कसैले पनि नगरुन। मेरो जस्तो हाल कसैलाई नहोस्।
(कथा बास्तहिक होईन तर यदि कसैको जिवनसँग मेल खान गएमा केबल संयोग मात्र हुनेछ)

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal