eNepal

बिचीत्रको डल्लो मो:मो

कठै बरा मेरा बाजेले सुङन त परै जावोस्, देख्न सम्म पाएनन्। मेरा बाले चाहि खान्थे त्यो पनि धरान तिर जाँदा खसीको मोःमो। राँगा त नाम लिँदा पनि जात जान्छ भन्थे बाले। राँगाको मोःमो खाने त परै जावोस्। मलाई अझै पनि हेक्का छ धनकुटाको हिले मा बसेर पढ्दा ताका कहिले बिरामी भएर त कहिले सरकारी कार्यलयको कामले धनकुटा बजार जाँदा बसस्टेण्डको ठ्याक्कै माथि पट्टी प्रकाश होटेल भन्ने थियो। त्यहाँ खसीको मो:मो पाईन्थ्यो। गएपछि त्यहाँको मोमो नखाई हुँदैन थियो। थाहा थिएन आमासँग थैलीमा मो:मो किन्ने पैसा थियो कि थिएन तर खानै पर्थ्यो।

पछि पाँच कक्षाको पढाई सकेर काठमाण्डौ बसाई सरियो। बिस्तारै समय, परिस्थीति र माहौलहरु परिबर्तन हुँदै गए। साथी भाईपनि बढ्दै गए। बाहुनले राँगो खान हुन्न भन्ने मानसिकता राख्ने मेरा हजुरबुवा र बुवाले राँगो र सुङ्गुरको मासु खायो भने जात जान्छ भन्थे। सुङ्गुर त झन छोयो भने पनि सुन पानीले चोखीएर नुहाउँथे। सँस्कारलाई मान्न पर्छ भन्ने मान्छे म पनि हुँ। आस्था र बिश्वास धर्म र सँस्कार प्रती बिस्वास नभएको पनि होईन। तर खाँदैमा जात जाने, पानीनै नचल्ने भन्ने शोच चाँही मैले खासै पचाउन सकिन। साथीहरु पनि बिभीन्न जातजातीका बन्दै गए। रक्सीलाई सँस्कारमा अनिबार्य रुपमा प्रयोग गर्ने नेवार अनि राई र मगर साथी बने। सुङ्गर लगेर ढोगभेट गर्ने लिम्बु पनि साथी भए। रक्सीको प्वाङ बुझाएर बिहेको बाटो खुलाउने तामाङ पनि साथी भए।

नेवारको भोजमा जाँदा माटाको प्यालामा रक्सी नखाई भोजको कुनै औचित्य हुँदैन भन्दै तिनपाने रक्सी स्वाठ्ठ पार्न सिकाए। साथीको घरमा भात खान जाँदा हिजै मात्र बनाएको भातको जाँड भनेर बटुकामा भातसँग राख्दिदा खान्न मैले खान हुँदैन मेरो जातले दिदैन भनेर कसैको मन दुखाउने आँट पनि गरिन।

काठमाण्डौको महङ्गीले हैरान पार्दा मलाई घरबाट दिएको दश रुपयाँले मैले यो राँगाको मोमो भनेर कहिले सोचीन। साँच्चै भन्नु पर्दा त्यहि दश रुपयाँको बफ मोमोले मेरो कैयौ दिन भोक मेटाएको थियो। पिठोको डल्लो भित्र खैर जे हालीएको थियो, मो:मोका डल्लाले पौडी खेल्ने सम्मको सुपनै त के भनौ पानी र तिलको झोल नडुबाए सम्म मनले सन्तोक मान्दैन थियो। एक प्लेट मो:मो खाँदा तिन चोटीसम्म झोल हालेर झोलले पेट भरेर ढ्याउ गर्दै काउन्टरमा राखिएको भुटेको सोँप नखाए सम्म आँत मेटीन्न थियो।

हुन त गोरुलाई महादेवको बाहन मानिन्छ, बर्षमा एक चोटी गोरु पुजा भनेर पुज्छौ पनि। लगेर बारी र खेत तिनै लगाएर जोत्छौ पनि। म पनि आस्था राख्छु। कताकता मनमा कुरा खेल्छ त्यहि गोरुलाई रेयर, मिडीयम र वेल डन भनेर खानेहरुको देश कहाँ पुगीसक्यो। बिकासको चरम्उत्कर्षमा पुगे। तिनै व्यक्ति सन्सारलाई हल्लाउन सक्ने भए। हामी भित्तामा राखेर पुजा गर्ने अनि पुच्छर समाएर बैतर्णी तर्नेहरुको यो हबिगत छ जस्तो नि लाग्छ। यति भनि रहँदा फेरी म घर्म बिरोधी पक्कै होईन है।

मो:मो भनेको बफ मात्रै हुन्छ जस्तो भई सकेको थियो काठमाण्डौको महङ्गीमा किनकी खसीको र कुखुराको मो:मो खान मेरो खल्तीको पैसाले भ्याउँदैन थियो। साथासँग गयो रेस्टरेन्टमा बस्यो मेन्यु दिन्छन्। मेन्यु घोरीएर हेर्यो। सैयौ पटक हेरेको मेन्यु जहिले पनि पल्टाएर हेर्ने बानी हुन पर्छ। हेर्यो हेर्यो मुखामुख गर्यो अनि वेटरलाई बोलाएर भाई दुई प्लेट बफ मो:मो गर्देउ न अनि चिसो पानी ल्याउँ है। अहँ पचास थरीका परिकार पाक्थे होलान तर कहिलै मो:मोबाट अरु अडर गर्न सकिएन। कारण आफ्नो आर्थिक स्थितीपनि होला या भन्न सजिलो भएर पनि होला वा सँधै खाई रहेको बानीपनि होला।

घरिघरि त लाग्छ मो:मोनै होला रास्ट्रिय खाना जस्तो। साथी भाई भेट भयो त्यहि मो:मो, घरमा रमाईलो गरौ उही मो:मो। मान्छेले पनि समयसँग सँगै सिक्दै जान थाले। एउटै कुरोलाई तारेर, मुख च्यातेर, डामेर, उसिनेर अनि डुवाएर फ्राईड, कोथे, ओपन अनि झोलको नाम दिएर खान थाले। हातको कला देखाउने क्रममा फुलबुट्टा भर्न थाले। सात मुजाले हुने ठाउँमा बत्तिस मुजा पार्न थाले, लाम्चो, थेप्चो, मुख च्यातिएको डल्ला बनाउँन थाले। चिल्ली, पनिर, खुवा, माछा, प्राउन, केरा केही बाँकी रहेन। स्वादपनि फेर्न थाले।

अव मो:मो होटल र रेस्टुरेन्टमा मात्रै सिमीत रहेन। घर घरमा मो:मो पाक्न थाल्यो। बिस्तारै बिस्तारै मान्छेहरु देश छोडेर परदेशिन थाले। भेटघाट गर्ने बहानामा मो:मो पाटी हुन थाल्यो। नेपाली रेस्टुरेन्ट खोलीने क्रम बढ्दै जान थाल्यो। मो:मो हाईलाईट्समा मेन्युमा राख्न थाले। फेसबुकमा मो:मो टाईम भनेर सानका साथ राखिन थालियो। मो:मोले बिस्तारै अन्य खानालाई बिस्थापीत गर्दै गयो।

मो:मोको यत्रो तडकभडकलाई मनन गर्दै मेल्बोर्नको सोलाङ्चरले गएको साल मो:मो फेस्टिभलनै आयोजना गर्यो जहाँ हजारौको सङ्ख्यामा नेपाली र बिदेशीको सहभागीता भयो। यसैले निरन्तरता दिदै यो बर्ष पनि मो:मो फेस्टीभल आयोजना गर्दैछ। डम्पलीङ भनेर बिदेशीले चिनीने मो:मोलाई सोलाङ्चरले अन्तरास्ट्रयीय स्तरमा चिनाउन जोडतोडका साथ कम्मर कसेर लागेको छ। सम्भवत: यो अव फेस्टीभल हैन ट्रेन्ड बन्ने छ। कोबर्ग फेस्टिभल, सेन्ट किल्डा फेस्टिभल जस्तै मो:मो फेस्टिभल पनि हरेक बर्ष आउने छ सबै मो:मो प्रेमीको मन जित्ने छ। जय मो:मो

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349