eNepal

बिदेशमा बस्नेको मोजमस्ती मात्र देख्नेले अहँ कहिले सोधेनन् तलाई कस्तो छ

बिदेशमा बसेर घर बनाएको मात्र देख्नेहरु अहँ कसरी बनाईस भनेर कहिले सोधेनन्। धेरै बर्ष भाडामा बस्दा त्यो भाडा तिरेको पैसाले त बोरु घरनै किन्ने पैसा पुग्थ्यो होला भनेर कहिलै सोधेनन्। घर किनेको देख्नेले कहिलै सोधेनन् घरको किस्ता कसरी तिरेका छौ। बच्चाहरुको लालन पालन, घरको बिजुली पानी, ग्याँस अनि दैनिक खर्चबाट कसरी चाँही त्यस्तो महङ्गी भएको ठाउँमा कसरी पुर्याएका छौ भनेर कहिले सोध्यौ। अरे बिदेशमा घर पनि पो किन्यौ। कति मोज छ है रे अझ।

गाडी अनिबार्य जस्तै छ बिदेशमा। बच्चालाई बिरामी हुँदा हस्पिटल लैजाँदा होस् या स्कुल पुर्याउन र लिन जाँदा। कतिले त्यहि गाडीको आधारमा काम पाएका हुन्छन्। कतीले त्यहि गाडीलाई उबरको रुपमा प्रयोग गरेर पैसा कमाएका हुन्छन्। परिवारको साथ कतै घुम्न जान पर्दा पनि आफ्नै गाडी भए सजिलो हुन्छ। कसैका पाहुना लाग्न गए गाडी भयो भने बोलाकाले फेरी बोलाउँछन् अन्यथा लिन र पुर्याउन पर्ने हुने भएकोले सिधै नभनेनी बोलाउने मान्छेले अर्को चोटीबाट मुख खुम्च्याउँछन्।घरमा बच्चा बच्ची भएपछि कति खेर के सकिन्छ किनमेल गर्न खुर्रर जान गाडीनै चाहिन्छ। फेरी गाडीलाई बेलाबेलामा सर्भिसीङ गर्नै पर्यो। पेट्रोल डिजेल हाल्नै पर्यो। टलक्क परेका चिल्ला गाडीको फेशबुकमा फोटो देखेर व्हा तिमीहरुलाई क्या मोज छ है भन्छौ तर कसरी गाडीको खर्च पुर्याएका छौ भनेर कहिले सोध्छौ।

बल्ल बल्ल महिनौ पछि एक दिन रेस्टुरेन्टमा गएर खान जुरेको हुन्छ। त्यो पनि कुनै बेला सधै घरको चिकेन र भात कति खानु बोरु मुखको स्वाद फेरौ न भनेर जाने हो। कित घरमा पकाउँदा पकाउँदा वाक्क लागेर यसो एकदिन भएपनि थकान मारौ भनेर जाने हो। कि त छोरा छोरीलाई सधै घरको खाना खाँदा वाक्क लाग्यो होला भनेर यसो रमाईलो र स्वाद फेर्न जाने हो। कित काम काम काम भन्दा भन्दै फ्रिजमा न तरकारी हुन्छ, न मासुनै न बोरामा चामल। किन्न जान फुर्सद र समय नजुरे पछि त्यसको बिकल्पमा रेस्टुरेन्ट जाने हो। तर महिनौ पछि एक दिन रेस्टुरेन्टका परिकारको फोटो राख्दा कति सज्लै भन्छौ हौ व्हा क्या मोज छ है। बिदेशी लाईफ त तिमीहरुले जिएका छौ।

काम नगरी मुखमा माड लाग्दैन। एक हप्ता काम भएन भने लौ न के गर्ने भनेर तनाब सृजना हुन्छ। अझ घर गाडीको मोर्गेज छ भने त त्यस्तै परे अत्तालिने स्थिती हुन्छ। यति धेरैको बिल हुन्छ ड्यु डेट नजिक आई रहेको हुन्छ। काम कामले थाकेर लखतरान परेर ब्रेकमा बसेको बेला फोन आउँछ। नेपालबाट आएको फोन रहेछ भनेर उठायो। के गरिरा भनेर सोध्छन्।कस्तो छ काम गार्हो सार्हो, स्वास्थ्यको खबरके कस्तो छ अहँ सोधिन्न।के के न होला भनेर फोन उठाएर काममा छु यसो ब्रेकमा त्यतिकै मोबाईल चलाएर बसेको मात्र के भनेको हुन्छ। व्हा क्या मोज छ। पैसा त तैले छाप्या छस् है भन्दै तितो बोली बोल्छन्। त्यो बेला भन्न नहुने शव्दले भकुरिन्जेल गाली गर्न मन लाग्छ तर जबरजस्ती हाँस्दै अँ अली अली मोजनै छ भनेर जवाफ दिन कर लाग्छ।

चारपाँच बर्षमा बल्ल छुट्टी मिलाएर त्यो पनि काममा सिन्चीत गरेर राखेर बार्षीक बिधा, अनि अलिअलि गर्दै लुकाएर राखेको केही रकमको हिम्मतले जाउँ न त एकचोटी घर भनेर यसो घरपरिवारसँग नि भेट हुन्छ, साथी सङ्गी, ईस्टमित्र, नाता गोता सबैसँग भेटघाट हुन्छ। दुख सुखको कुरा साटासाट हुन्छ भनेर यसो फेसबुकमा के नेपाल कलिङ भनेर एउटा स्टाटस फेशबुकमा ठोकिन्छ। त्यसपछि फलानोलाई आईफोन अनि ढिस्कानोलाई ब्रान्डेड झोला, साथीलाई ग्याजेट, साईली काकीकी छोरालाई पिएसफोर, बाटुली भाउजुलाई हेयर ड्रायर, गोरु बेच्या नाता परेका अङ्कललाई घडी। अरुबेला नमस्कार भन्दा मुख बटार्नेहरु पनि बाबु कहिले आउने भयौ, मिल्यो भने डियुटी फ्रि ल्याउन नबिर्से है भन्दै म्यासेन्जरमा वेभ गर्छन्। लाग्छ कि यता दश मिलीयन डलरको लोट्टो हातमा पर्यो र त्यो पैसा कता फालौ भएर उकुसमुकुस हुँदै नेपाल आउँदै छु।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal