मङ्सिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । राजनीतिक स्थिरता साथै विकास र समृद्धिको नारा लिएर चुनावमा होमिएको वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । प्रतिनिधिसभामा बहुमतसहित प्रदेश सभामा पनि कुल सात प्रदेशमध्ये ६ प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने देखिन्छ भने प्रदेश नं. दुईमा भने मधेसकेन्द्रित दलको सरकार बन्ने छ ।
२०१५ सालमा पहिलो, पञ्चायतकालमा तीनवटा, २०४६ सालको परिवर्तनपछि तीनवटा, संविधानसभाको दुईवटा गरी २०७४ सालको चुनावभन्दा अगाडि नेपालमा नौवटा आमनिर्वाचन सम्पन्न भैसकेका छन् । यी कुनै पनि निर्वाचनले राजनीतिक स्थिरता दिन सकेनन् । वि. सं. २०४७ साल यताको २७ वर्षमा २५ वटा सरकार बने, अहिलेसम्म बनेका सरकारको ध्यान विकास र समृद्धिभन्दा पनि कुर्सीकेन्द्रित रहन गयो । प्रत्येक नौ–नौ महिनामा सरकार परिवर्तन हुन्छन् । सरकारपिक्षे फरक-फरक योजना बन्छन् । नौ महिनामा त योजना पनि बनी सक्दैनन् । अनि विकास चाहिँ कहिले गर्ने ?
जुम्लाकी ४६ वर्षीया राधिका कुँवरले मतपत्रमा छाप लगाएर बाकसमा खसाल्दै गर्दा भनिन्- ‘घरको सबै काम छोडेर पनि भोट दिएकी छु । अब मेरा पति घर फर्काइदिनुहोला ।’ आर्थिक अवस्था कमजोर भएको र गाउँमा रोजगारी नहुँदा उनका पति भक्त कुँवर कमाउनका लागि भारत गएका छन् । त्यस्तै बैतडीकी ११४ वर्षीया पशुपति साउदले नवौं पटक मतदान गर्दै भनिन्- ‘म यति बुढी मान्छेले पनि मतदान गरे । यसको अर्थ अबको पिढीले दु:ख नभोगोस् भन्ने हो । हाम्रो आउँदो पिढी समृद्ध र समुन्नत होउन भन्ने मेरो चाहाना छ ।’

यी दृश्यबाट नै प्रष्ट हुन्छ- मतदाताको एउटै उद्देश्य विकास र समृद्धि रहेको छ ।
अब गरिबभन्दा गरिब देशले पनि कसरी समृद्धि हासिल गरे भन्ने केहि देशको उदाहरण हेरौं । नेपालजस्तै भूपरिवेष्ठित अफ्रिकन राष्ट्र बोत्स्वाना सन् १९६० मा बेलायतको औपनिवेशिक शासनबाट मुक्त भएको थियो । उपनिवेशबाट मुक्त हुँदा त्यहा जम्मा १२ किलोमिटर मात्र पक्कि बाटो थियो । चार प्रतिशत भूमिमात्र खेतीयोग्य थियो र प्रतिव्यक्ति आय जम्मा ७० डलर मात्र थियो।
अहिले बोत्स्वानाको अर्थतन्त्र विश्वकै समृद्ध अर्थतन्त्रअन्तर्गत पर्छ । प्रतिव्यक्ति आय ७० डलरबाट सात हजार ८० डलर पुगेको छ । सन् १९६८ मा नेपाल र दक्षिण कोरीयाको आर्थिक अवस्था उस्तै थियो । औद्योगिक मुलुक जापानले पनि सन् १८६८ पछि मेजी शासनको अवधिबाट मात्र आर्थिक विकासलाई तीव्र पार्यो ।
सन् १९७० को दशकसम्म चीन र नेपालको अवस्था एउटै थियो । मलेसिया र सिंगापुर पनि सन् १९६० को दशकसम्म हामीजस्तै विकासको यात्रामा हराएका थिए । अर्थशास्त्री अहजाका शब्दमा विहारले त सन् १९८० सम्म पनि गरिबी निर्यात गर्थ्यो। एकै समयमा उही अवस्थाबाट विकासको यात्रा तय गरेका मुलुक चीन आज विश्वको दोस्रो ठुलो अर्थतन्त्र बनेको छ । जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो । भारत, सिंगापुर, दक्षिण कोरिया, मलेसिया आज बाघ अर्थतन्त्र बनिसकेका छन् । नेपालको अवस्था भने अर्थशास्त्री अहजाले भनेजस्तो अहिले पनि गरिबी निर्यात गरिरहेको छ ।
यी देशहरुले कसरी समृद्धि हासिल गर्नसके त ? यसको प्रमुख कारण भनेको राजनीतिक स्थिरता नै हो । यसको अर्थ एकै दलको सरकार सधैभरी हुनुपर्छ भन्ने मात्र होइन । मुलुकलाई दिशाबोध गर्ने राजनीति विकासका एजेन्डामा स्पष्ट र दृढ हुनुपर्छ । जसरी कोरिया, जापान, सिंगापुर, मलेसिया र युरोपसहितका थुप्रै मुलुकमा सरकार परिवर्तन भएपनि अर्थतन्त्रको मार्गचित्र स्पष्ट हुन्छ । नेपालमा भने सरकार परिवर्तन हुने बित्तिकै अर्थनीतिमा पनि परिवर्तन हुन्छ । दलैपिच्छे फरकफरक अर्थनीति हुन्छन् ।
कसरी समृद्ध बन्छ नेपाल ?
नेपाल कृषिप्रधान देश हो । तर कुल मध्ये २० प्रतिशत खेतमा पनि सिँचाइको सुविधा छैन । वर्षेनी अर्बौं मूल्यको धान र गहुँ मात्र भारतबाट निर्यात गर्छौं । नेपालमा उत्पादित चियाको दुई प्रतिशत मात्र यहाँ खपत हुन्छ । बाँकी सात प्रतिशत युरोप अमेरिका र ९१ प्रतिशत भारतमा निकासी हुन्छ । भारतमा खपत हुने ९१ प्रतिशत चियाका किसान भने जहाँको त्यहि छन् ।
फेरि उही भारत हाम्रो चिया लैजान्छ र प्रख्याति कमाउँछ । चीनले क्यानाडाबाट झन्डै वर्षमा एक व्यक्ति बराबर १२०० डलर जतिको स्वच्छ हावा आयात गर्दो रहेछ । यदि नेपालले पहल गर्यो भने चीनले नेपालबाट हावा लैजान्छ सक्थ्यो । जसबाट नेपालले करोडौं रुपैयाँ कमाउन सक्थ्यो । सन् २०३० पछि भारतमा पानीको अभाव हुने अनुमान गरिएको छ । त्यसपछिको भारतको एउटै विकल्प भनेको नेपालका नदीनाला हुन् । यसबाट पनि नेपालले आर्थिक लाभ लिन सक्छ । जलस्रोतको दोस्रो धनी देश नेपालले जलविद्युतमा लगानी बढाएर एसियाभरी नै विद्युतको व्यापार गर्न सक्छ । बुद्धको जन्मभूमि लुम्बिनीलाई बुद्ध धर्मको हब बनाएर लाखौं धार्मिक पर्यटक भित्र्याउन सकिन्छ ।
अहिले सर्वाधिक चर्चामा रहेको चिनियाँ रेलको बारेमा पनि अध्ययन र अनुसन्धान गर्न आवस्यक छ । यदि चिनियाँ रेल नेपालसम्म आउने हो भने रेलसंगै लाखौं चिनिया पर्यटक पनि आउने छन्, जसबाट नेपालले पर्यटकबाट करोडौं रुपैयाँ कमाउन सक्छ ।
नेपालको मुख्य समस्या भनेको बेरोजगारको हो । दैनिक १५ सय युवा कामको खोजीमा विदेशिरहेका छन् । रोजगारीको सुनिश्चितता गरेर युवा पलायन हुनबाट रोक्नुपर्ने मुख्य चुनौती आगामी सरकारलाई हुनेछ । समृद्धिका मेरुदण्ड युवालाई रोक्न नसक्ने हो भने, समृद्धि ‘आकाशको फल आखाँ तरी मर’ नहोला भन्न सकिन्न ।
अन्तमा, समृद्ध राष्ट्र निर्माण गर्न भ्रस्टाचारको अन्त्य, कृषिमा लगानी, स्वास्थ्य र शिक्षामा सबैको पहुँच हुनुपर्छ । समाज उद्यमशील हुनुपर्छ । प्रमुख कुरा त राजनीतिक स्थिरता अपरिहार्य नै हुन्छ ।
- sajhaPost