eNepal

बा म अस्ट्रेलीयाको क्यासिनोमा लगानी गर्दै छु, कुनै दिन बाजी मारे भने एकमुस्ट ऋण तिरौला

घरमा पैसा थिएन, बाको सरकारी जागीरले घर खर्च तिर्ननै धौ धौ परेको थियो। म भर्खर १२ कक्षा दिएर काठमाण्डौमा बरालिदै थिए। एक्लै काठमाण्डौ बस्ने भएकोले साथीहरु कोठामा आउने अनि कहिले काँही साथीको कोठामा जाने खाने पिउने रमाईलो गर्ने बानीनै भएको थियो। एक्लै भएपछि बा आमाले पनि भनेको बेला पैसा पठाई दिन्थे। साथीसँग भेट भयो कि त केटीका कुरा कि त दारुका कुरा मात्र हुन्थे।

फलानी केटी त क्या हट है, तेरी छप्की त बुलेट छे यार, हिजो कलेज आईनस नि पुरै छम्मासँग डेटीङमा गईस् होला है, खै यार यत्तिलाई लाईन मारि सकियो कसैले बाल दिदैनन् भन्या, क्या च्वाँक भाउजु फेला पारिस् यार तेरो त जिन्दगी पुरै हनीबनी होला नि। यस्तै कुरा गरेर बित्थे अक्सर फुर्सदका समय। अनि चार भाई भेला भयो गएर डेढ किलो कुखुराको मासु ल्यायो अनि नेपाली ब्रान्डका रक्सी अनि कलबिरे यानिकी कलब्रेक।

रात कटेको पत्तै पाईन्न थियो। कति रात त छर्लङ्गै बिते। प्लस टु सकेर बरालिदै थिएँ। कोही बिदेश जाने तर्खरमा लागे। कोही ईन्जिनीयरिङको तयारी तिर लागे, कोही गर्ल फ्रेण्डको प्रेसरले बिहे गर्ने जमर्को तिर लागे। केटी साथीहरु पनि धमाधम अमेरीका र अस्ट्रलीया तिरका एनआरएनसँग बिहे गर्दै सुईकुच्चा ठोक्न थाले।
घरबाट अपर्झट बोलाहट भयो। दिदीको बिहे हुने भयो दुबईका लाहुरे भेनासँग। उताको सुपरमार्केटमा सेल्स सुपरभाईजर हुनुहुन्छ। अपरझट पर्यो समय थोरै रहेछ त्यहि भएर बिहेको टुङ्गो भयो तुरुन्तै आईज। हतार हतार बसपार्क गएर टिकट बुझे। रात्री बसको टिकट पाईयो अनि अपर्झट दिदीको बिहेको लागि घर तिर लागे।

घर जाँदा बिहेको तयारी भव्य र द्रुत गतीमा भई रहेको रहेछ। घर पुरै बिहे घर जस्तो भई सकेको रहेछ। दिदी पनि मेह्नेदी लाउने तयारीमा हुनु हुँदो रहेछ। साँझको खाना खानै लाग्दा बा आमाले खुसुक्क एकान्तमा बोलाउनु भयो र भन्नु भयो। अव दिदीको बिहे गर्नलाई भनेर पारीको दस मुरी खेत पनि बन्धकमा राखेका छौ। पैसा भनेको त्यस्तै हो। बोरु अव घर पनि हेर्न पर्यो। म मुलाले बुडो हड्डी कतिन्जेल घोट्नु बुझेर कहाँ जाँदा राम्रो हुन्छ बुझेर जा। सबै अस्ट्रेलीया भन्छन्, पढेर पनि मनग्य पैसा कमाईन्छ अरे। बोरु के कती खर्च लाग्छ अव काठमाण्डौ गएर बुझ्नु।

अन्कनाउँदै हुन्छ भन्दै दिदीको बिहे सक्ने चटारोमा लागे। धुमधामसाथ दिदीको बिहे सम्पन्न भयो। दिदी पनि भेनाजुको घर गईन् घरलाई सुन्य बनाउँदै। जिस्कीने र चल्ने तिनै एउटी दिदी थिईन्। खुसुक्क पैसा चाहिए दिदीले बिभीन्न बहानामा बा आमासँग मागेर मलाई पठाई दिनु हु्थ्यो अव त्यो बाटोपनि सँधैको लागि बन्ध भयो। दिदीको बिधाई पछि घर त्यसै शुन्य भयो। बा आमा मुखामुख गर्दै गन्थन मन्थन गर्थे सायद ऋणले पोलेर होला। बैंकको ब्याजको तनाबले बा रात भर सुत्नु हुन्नथ्यो। ग्यास्टिकले गर्दा खाली ढ्याउ ढ्याउ मात्र गर्नु हुन्थ्यो। आमा पनि खाली खुई खुई गरेको आवाज सुन्थे।

केही दिन पछि बा आमालाई सान्तावना दिदै काठ्माण्डौ तिर हुईकिएँ। कन्सल्ट्यान्सी गएर बुझे। करिवन बिसलाख जति लाग्ने रहेछ।आईएलटिएसको तयारीमा लागे। सबै ब्याण्डमा ६ आयो। कलेज बुझ्न लगाए। सस्तो कलेज जाने निधो गरे। करिब नाम चलेका गोडा चारेक कन्सल्ट्यान्सी गएर बुझे। सबैले बिभीन्न सपना र प्रलोभन देखाएर मलाई आकर्षीत बनाउन खोजे। आफुलाई चित्त बुझेको एक कन्सल्ट्यान्सीबाट डकुमेन्टहरुको तयारीमा लागे। नभन्दै एक कलेजबाट अफर लेटर आयो।त्यस पछि घरमा बालाई फोन गरे पैसाको बन्दोबस्त गर्न लगाएँ। बाले केही रकम चर्को ब्याजमा अनि दिदीको बिहे गर्दा राखेको खेतको पैसाको केही रकमले फाईनान्सीयल डकुमेन्ट तयार बनाए। नभन्दै जिटीई पास भयो र कलेजको फी तिर्नको लागि नो अब्जेक्सन लेटर तयार गरे। केही दिन पछि सिवई आयो र भिषाको लागि हाईकमीसनमा भिषाको प्रक्रिया सुरु गरे।

नभन्दै भिषा आयो।आमा बा पनि काठ्माण्डौ आउनु भयो। सपीङको क्रम द्रुत गतीमा भयो। साथीहरुलाई ट्रिट दिने क्रम पनि रोकीएन। फेसबुकमा बधाईका म्यासेजहरु घ्यार्घ्यार् आई रहे। निधारमा रातो टिका अनि सयपत्रीको माला घाँटीमा भिरेर सिङ्गापुर एयरलायन्सबाट पहिलो चोटी प्लेनको अन्तरास्ट्रीय भ्रमणमा बा आमालाई सुखी राख्ने अनि जति सक्दो चाँडो ऋण मुक्त बनाउन बिरानो देशमा होमीएँ।

साथीको सङ्गतले कता कताबाट क्यासिनो जाने लतमा परियो। पहिलो पटक हेर्न मात्र भनेर जाँदा पचास डलर खेलेर आठसय डलर मारीयो। त्यसपछि त झन् पुरै लत लागेर हरेक हप्ता जसो जान थाले। त्यहि लतमा नेपालबाट ल्याएको २५०० डलर सबै क्यासीनोमा बुझाएँ। २५०० उकास्ने दाउमा साथीसँग ४००० डलर मागेर त्यो पनि बुझाएँ।

घरबाट तागेता गर्दै ऋणको बोजको खबर सुनाउँनु हुन्थ्यो। आफ्नो हभिगत सम्झेर पट्टार लागेर आयो। बा आमा छोरोले कहिले पैसा कमाएर पठाउला भनेर दिन गन्दै बसेका थिए। यता म भने क्यासीनो खेल्न आउँदिन भन्दै एउटा शर्त गरेर नजाने कोशीसमा लागे। एक्कै चोटी कमाउने दाउमा भएको पैसा पनि सबै बुझाएर आझ टोक्नु न बोक्नुको दोसाँधमा उभिएको छु। भन्न मन लाग्छ बा म अस्ट्रेलीयाको क्यासिनोमा लगानी गर्दै छु, कुनै दिन बाजी मारे भने एकमुस्ट ऋण तिरौला तर मौन छु, निशव्द छु अनि शुन्य छु।

नोटः कुलतमा फस्नु भन्दा अगाडी घरमा कुरेर बसेका आमा र बालाई सम्झौ। बिदेश आएर आफ्नो भबिस्य सुनौलो बनाउने बाटामा लागौ। कुलतमा नफसौ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349