काठमाडौं, १९ मंसिर । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह मारिएको यमनी हुठी समूहका उच्च अधिकारीले सोमबार पुष्टि गरेका छन् । सालेह, उहाँका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जना सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएका, यमनी विद्रोहीको नियन्त्रणमा रहेको गृह मन्त्रालयले पनि जनाएको छ ।
अाजको राजधानीमा खबर छ-मन्त्रालयले उक्तस्थानको भिडियोमा सालेहको मृत शरिर कैद भएको दृष्य देखिएको बताएको छ । “मिलिसियाका कारण सिर्जना भएको सङ्कट र मिलिसियालाई नेतृत्व दिँदै आएका पूर्व राष्ट्रपति सालेह, उनका उच्च अधिकारीसमेत मारिएका छन्, ” अल मासिराहा टेलिभिजनमा सालेहका समर्थकलाई उद्धृत गरी जनाइएको छ ।
पूर्व राष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुठी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए । सालेहले हुठी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन बर्ष संयुक्त रूपमा शासन सम्हालेका थिए ।
यमनी सामाजिक सञ्जालमा सालेहको मृत शरिरको भिडियोसहितका सामग्री छ्यापछ्याप्ती आउन थालेपछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सालेहको मृत्युको समाचार सार्वजनिक गरेको थियो ।
यमनमा तीन दशकभन्दा बढी शासन सम्हालेका ७५ बर्षीय सालेह सन् २०१२ को राजनीतिक जनआन्दोलनका बलमा पदच्युत भएका थिए ।