हामी जो पुस्ता बिदेश आयौं यतै बसोबास गर्न थाल्यौ अनि यतैको सँस्कृतीमा आफ्ना बालबच्चालाई ढाल्दै जाने हो भने भोली पक्कै पनि हाम्रा सन्तानलाई नेपाली कला, भाषा र सँस्कृती दन्त्य कथा र ईतिहाँस हुनेछ। बिदेश आएसँगै हामीले हाम्रो भाषा, कला र सँस्कृती बोकेर त ल्यायौं तर यदि हाम्रा सन्तानलाई चिनाउन चुक्यौ भने पक्कै पनि अभिभावकहरुलाई भावी पुस्ताले गाली गर्दै धिक्कार्ने छन्।
हाम्रो मौलीक भाषा, कला, साहित्य, रिती र रिवाजलाई हामीले त अहिले सम्म जसोतसो व्युँताई राख्न हरतरहले लागि परेका छौ तर यहि अनुपातमा बिदेशी सँस्कृती तर्फ लालायित हाम्रा छोरा छोरीलाई बेलैमा आफ्नो मौलीकता चिनाउन सकेनौ भने भोली उनले आफ्ना हजुरआमा र हजुरबालाई नगन्लान भन्न सकिन्न, दशैको टिका लगाउँदा गिज्याउने छन् अनि ब्रतबन्ध गर्दा कपाल काट्न लगाउँदा हाँसेर नउडाउलान भन्न सकिन्न।
हामी यस्तो सँस्कारमा बसेका छौ जहाँ छोरा छोरीलाई समुदायमा घुलमिल गराउनको साटो हातमा स्मार्ट फोन थमाएर आफ्नो ईच्छा अनुरुपको काममा व्यस्त हुन्छौ। नेपाली भाषा बोल्न अभिप्रेरीत गर्नको साटो टुटेफुटेको अङ्ग्रेजी बोलेर उनीहरुलाई अङ्ग्रेजी बोल्न बाध्य बनाउँछौ। हामी यो सोच्दैनौ कि भोली चाईल्ड केयर वा स्कुल जान थाले पछि बोलीने भाषा आखिरी अङ्ग्रेजी हो र बच्चाहरुले चाडै सिकी पनि हाल्छन् तर अरुको अगाडी छोरा छोरीले अङ्ग्रेजी बोलीदिए भने गमक्क परिने स्वाङ्ले जबरजस्ती भएपनि अङ्ग्रेजी काटुन देखी अङ्ग्रेजी गीत सुनाएर अङ्ग्रेजी सिकाउन आतुर हुन्छौ। यस्ता घटनाहरु धेरै देखिन्छन् बिदेशमा।
तर धेरै अभिभावकहरु आफ्नो मौलिक भाषा, कला र सँस्कृती भावी पुस्तालाई सिकाउन पर्छ भनेर लाग्नु भएको पनि देखिन्छ। घरमा नेपाली शव्दमाला सिकाउने, नेपाली भाषा सिकाईने पाठशालामा आफ्ना बच्चाहरुलाई सामेल गराउने, बिभीन्न साँस्कृतीक एबम् मनोरन्जनात्मक कार्यक्रमहरुमा सहभागीता गराउने, चाडपर्वको महत्व र कसरि मनाईन्छ सिकाउने साथै नेपाली गीत सङ्गीत सुनाउने, हेराउने लगायतको क्रियाकलाप देखिने गरेको छ जुन ज्यादैनै सराहनीय रहेको छ।
देश छोडेर परदेशीए पछि आफ्नो रहनसहन, कला सँस्कृती, रिती थितीलाई जिउँदो राख्नु सबै हामी नेपालीको कर्तव्य हो। यि सबैलाई एकै ठाउँमा अनुबन्दित गराउन एउटा नेपाली घरको अति आवस्यक देखिएको छ।
बिगत केही बर्षहरु देखी भनिदै आएको र सुनिदै आएको नेपाली सामुदायीक भवन मेल्बोर्नमा चाहिन्छ र बनाउन पर्छ भन्ने कुरा कहिले तातीयो त कहिले सेलाएर गयो। यसको लागि मेल्बोर्नका अग्रजहरुले बेला बेलामा च्यरिटी शो र गाला डिनर पनि गर्दै आएको पनि थियो। नेपाली सामुदायीक घर बनाउन पर्छ र यस्लाई निचोडमा पुर्याउन पर्छ भनेर ANMC तदारुक्ताका साथ लागि परेको छ। तर घर बन्न त्यति सजिलो पक्कै छैन। घर बनाउनलाई चाहिने आधारभुत बस्तु लगाएत अन्य कुरालाई निचोडमा पुर्याउन अर्थले ठुलो भुमीका खेलेको हुन्छ। अर्थ सङ्कलन गर्नको खातिर मेल्बोर्नमा सातदिने सप्ताह महापुराणको आयोजना हुन लागेको छ। यहि डिसेम्बरको १८ देखी २४ सम्म दुर्गा मन्दिर रकबैँकमा पण्डित दिनबन्धु पोखरेलबाट पुराण बाचन हुन लागेको छ।
यस पालीको क्रिसमस सबै अस्ट्रेलीयामा रहेका नेपालीहरुले मेल्बोर्नमा मनाउँ भन्ने नारा लाई आत्मसाथ गर्दै सबै नेपाली मनहरुलाई यस भव्य कार्यक्रमलाई सफलताको साथ मनाउन अनुरोध गरिएको छ।
यदि नेपाली घर बन्यो भने अन्नप्राशन देखी पुजापाठ, चाडपर्व मनाउन कसैलाई गुहारी राख्न पर्दैन। आफुले गरेको सानो सहयोगले बनेको नेपाली घरमा गर्वका साथ कार्यक्रम गर्न सकिने छ। कसैले दशैमा निधार खाली बनाएर परदेशमा बस्न पर्दैन, आफ्नै देवताहरुले भरिभराउ घरमा पुजा गर्न पाईन्छ।अर्को तिर आफ्ना बच्चाहरुलाई नेपाल झल्काउन बिभीन्न कार्यक्रमहरुमा सहभागी गराउन सकिन्छ। त्यस्तै नेपाल चिनाउने भेषभुषा देखी कलाकृती झल्कने बस्तुहरु रहने छ। सन्क्षेपमा भन्नु पर्दा नेपाली माटोको आभाष दिने मौलीक घर बन्नेछ र हामीले बनाई दिएको यो सानो घर माथि हाम्रा सन्ततीले शिर ठाडो पारेर गर्वको महसुस गर्नेछन् र आफ्ना अन्य बिदेशी साथीहरुलाई सिङ्गो नेपाल चिनाउन सहयोग पुर्याउने छ।