आमा केही अगाडी बर्ष दिनमै आउँछु भनेर बिदा भएको थिए। अरु बेला नमिले नि दशैमा चाँहि आएस है छोरो भनेर आँखा भरि आशु पार्दै राता टिका र जमरा लगाई दिनु भएको झल्झली याद आई रहन्छ। सधै आश्वासन दिदै गएँ यो साल मिलेन अर्को साल पक्कै आउँछु भनेर। तर के गर्ने आफुले सोचे अनुकुलको नहुँदो रहेछ परदेशी जिवन। तपाई सधै भन्नु हुन्छ खै कस्तो देश हो त्यो दुबई कतार जाने बर्षेनी बिदा भन्दै आउँछन्। त चाँही खै कस्तो देशमा गईस्। पैसाको भाउ मात्र ठुलो रहेछ। न त कमाउननै सकिस् न त भनेको बेला घरनै आउन मिल्ने रहेछ। फेरी जहिले फोन गरेनि व्यस्त छु भन्छस्। हैन गर्छस् चाँही के हो छोरो।
आमा यो बर्ष त झन् दशैको मुखमा सेमेस्टरको परिक्षा परेको छ। टिकाको दिन त फाईनान्सको परिक्षा रहेछ हिजो मात्र परिक्षाको तालीका हेरेको। साथीहरु दशैमा घुम्न जाउँ भन्दै प्लान बनाउदै थिए। हिजोको परिक्षा तालीका पछि सबै सर्ल्याक सुर्लुक भए। मुला तेरो कही नभएको कलेज रहेछ भन्दै बिच्किए। अव के गर्ने मेरो खुसी अनुसार कलेज नचल्दो रहेछ। साथीहरुपो कलेज सकेर मस्त काम गर्दै बसेका छन्।
बढो गार्हो रहेछ बिधार्थी जिन्दगी। नेपालमा नसोच्दा रहेछन् पढ्नलाई बिधार्थी भिषामा गएको भनेर। प्लेन चडेर गएपछि कमाउनै गयो भन्ने मानसिकताले तपाईलाई पनि तनाब दिदा हुन् जोरी पारीहरु। कति पठायो हौ केटोले हाम्राले आईफोन पठाई दियो भन्दे धमास दिनेको कमी छैन त्यो गाउँमा पनि। पढेलेखेका भन्नु मात्र हो एकरत्ती विवेक नभएका हाम्रै गाउँमा बस्दा रहेछन्।
अव आत्तिने दिन सकिन लाग्यो। यो मेरो अन्तिम सेमेस्टर हो। कामबाट कमाएको पैसा त कलेजको फि, कोठा भाडा अनि मुखमा माड लगाउँदै ठिक्क हुन्छ। फेरी कस्तो नबुझ्या के यहाँ म पढ्नपो आएको पैसो कमाउन हैन। अनि अर्को कुरो कतार र दुबईमा जस्तो कम्पनीले काम दिने पनि होईन यता। आफै कलेजको समय मिलाएर जहाँ मिल्छ त्यहि काम गर्ने हो। न त कामको कुनै भर हुन्छ न त मौसमको। यस्तो अजिवको देशमा बिधार्थी कालमा केही गार्हो त पक्कै हुन्छ तर पढाई पछि भने खासै तनाब लिनु पर्दैन। अलि अलि मज्जाले कमाईन्छ।
जे होस् यो दशैमा आउन नपाए पनि तपाई त बुझ्ने आमा हो नि अर्को साल आमाको हातको टिका र जमरा थाप्ने सङ्कल्प गर्छु। बोरु मेरो डिसेम्बरमा ग्रेजुएसन हुँदैछ। तपाईलाई बोलाएर यहाँको बास्तबिकता देखाउँछु। छोरो कसरी बसेको रहेछ देखे पछि ढुक्क भएर जानु हुनेछ।
लेखक: मनोज पौड्याल