सरकारले विदेशमा रहेका नेपाली नागरिकका सन्तानलाई बिनानागरिकता चार वर्षसम्म मेसिन रिडेबल पासपोर्ट (एमआरपी) उपलब्ध गराउने भएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले यसलाई चार वर्ष बनाएको हो । बाल्यावस्थामै विदेश पुगेका वा त्यहीँ जन्मेर नागरिकता लिन नेपाल आउन नपाएकाहरूको समस्या सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको हो । मन्त्रीहरुको संख्या ५४ पुगेपछि सोमबार मन्त्रिपरिषद बैठक बसेको थियो।
सो बैठकले बढीमा चार वर्षका लागि यस्तो राहदानी जारी गर्ने निर्णय गरेको हो। सरकारले विदेशमा रहेका नेपालीका हकमा दुई वर्षे अवधिका लागि राहदानी दिने निर्णय यसअघि गरेको थियो।
अब सो अवधि बढेर ४ वर्ष हुनेछ। ‘मन्त्रिपरिषद बैठकले विदेशमा बसोबास गर्ने नेपाली नागरिकका सन्तानका लागि ४ वर्षे अवधिको राहदानी उपलब्ध गराउने निर्णय गरेको छ’, सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताउनु भयो। बालिग भएपछि भने उनीहरुले नागरिकता बनाएर दश वर्षे राहदानी बनाउन सक्ने उनले बताए।
विदेश बस्ने नेपालीले सन्तानको नागरिकता नहुँदा राहदानी बनाउन समस्या परेको गुनासो गर्दै आएका सन्दर्भमा सरकारले यस्तो व्यवस्था गरेको हो।