छोरीले लेखीन् बाबालाई अस्ट्रेलीयाबाट बाबाको मुख हेर्ने दिन मन छुने पत्र

बाबा दुई बर्ष अगाडी आजकै दिन तपाईकै कोटबाट पैसा झिकेर केही मिट्ठाई किनेर खुवाउँदा भन्नु हुन्थ्यो नि बार्ह कक्षा पास भई सकिस्, अब त ठुली भईस् तेरो कमाईको मिट्ठाई खान कहिले पाउने हो। हाँस्दै कहिले सम्म मेरो कोटबाट खुसुक्क पैसा झिकेर मलाई मिट्ठाई ख्वाउँ छेस्। मैले हाँस्दै भनेको थिएँ नि यहि हो अन्तीम बर्ष अब तपाईका खल्तीका पैसा चोरिन्न बाबा। अब त छोरी ठुली भई उल्टै कोटमा पैसा हाली दिन्छे।

तँ वरको सिन्का पर नसारेकीले के पो गर्थीस् र। मैला लाग्छ कि भन्दै पच्चिस चोटी मुखमात्र स्याएर बस्नेले कसरि कमाउँछेस् खै।
तपाईले तपाईको छोरी चिन्नुनै भएको छैन। त्यस्तो कम्जोर नसोच्नुहोस् आफ्नो छोरीलाई। परेको खण्डमा जस्तो आपत बिपतको नि सामना गर्न सक्ने पाठ मैले आमाबाट सिकेको छु अनि व्यबहार कसरी चलाउन पर्छ हजुरबाट।

घरमा पैसाको अभाव हुँदा आमाले लुकाएको पैसाले अभावको परिपुर्ती गरेको मेरो मानसपटलमा ताजै छ। भलै छोरी सानी छ थाहा पाउँदीन भन्ने सोच्नु हुन्थ्यो होला। आफ्नो बाध्यता र परिस्थीती अनि ईच्छा र आकङ्क्ष्याहरुलाई दबाएर केहीको कमीको महसुस हुन नदिन तपाईले हातको औठीलाई कति चोटी बन्धक राख्नु भयो तपाईले नभनेनि मैले बुझेको थिएँ। आमाले कति चोटी घाँटीको सिक्री राखेर कलेजको फी तिरेको पनि मलाई नभनेनी मलाई हेक्का थियो।बस् यति हो मलाई केहीको सुईको नहोस् भनेर तपाई र ममी खासखास खुसखुस गरेको पनि मलाई थाहा हुन्थ्यो।

मैले भनेको थिए बुवा पास्पोर्ट बनाईदिनु म अस्ट्रेलीया जान्छु। त्यति खेर गएर के गर्छस्। त्यहाँ त काम गर्न पर्छ। कलेजको फी तीर्न पर्छ। खान बस्न पर्छ। नचिनेको ठाउँमा एक्लै किन जान पर्यो भन्दा मैलेनै भनेको थिएँ। के तपाईले आफ्नो छोरीलाई त्यति कम्जोर ठान्नु भएको छ। जिवनलाई नजिकबाट भोगेको छोरी हो बाबा। परेको खण्डमा भाँडा माज्ननै दिन नपरोस्। गर्न सक्ने पाखुरी भएकी छोरी हो बाबा भन्दै मलाई अस्ट्रेलीया पठाउन काकासँग पैसा माग्दा एक हप्ता अगाडी मात्र जग्गा किनेको भन्दै फर्काएर किच्च हाँस्दै घर आएको याद आज पनि मेरो आँखामा ताजै छ। अनि खैई कोसँग व्याजमा पैसा ल्याएर मलाई पठाएको मैले बिर्सेको छैन।

हुन त म कुनै रहरले अस्ट्रेलीया जान्छु भनेर आएकी थिएन। तपाईहरुको मुहारमा खुसीको हाँसो अनि छोरीले पनि छोरोको जस्तो काम गर्न सक्छे भन्ने साबित गराउन म परदेशिएकी थिएँ। काकाहरुले बुढेसकालमा पनि घर थाम्ने कुल चाहिन्छ दोस्रो बिहे गर भनेर हजरलाई पिरोलेको मलाई याद छ। हो म त्यहि छोरोले गर्ने काम छोरीले पनि गर्न सक्छे भन्ने साबीत गर्न बिदेशीएको थिएँ।

मैले कामलाई कहिलै सानो र ठुलो भनिन। केटीले भाँडा धुन हुँदैन भन्दा पनि मैलै तिन महिना भाँडानै धोएँ। एउटा कोरीएन घर बनाउने ठेकदारसँग छ महिना घरमा पेन्टीङ लाउने काम गरे। काम नहुँदा फार्ममा गएर लाठेले भन्दा बढि काम गरेर दैनीक केटाको भन्दा बढि पैसा बुझ्थे। प्यान चलाउँदा चलाउँदै अहिले मेल्बोर्नको नामी रेस्टुरेन्टमा एक्जुकेटीभ सेफ भएर काम गर्छु। न त कुनै दिन कलेजको फि जुटाउन गार्हो भयो। न त घर खर्च चलाउननै। सबै भन्दा ठुलो ईच्छा शक्ति रहेछ। अनि अलिकती चाँही ईख पनि हुन पर्ने रहेछ। जिन्दगीमा आउने आपतहरुको सामना गर्न सिक्यो भने सफलताको शिखर चुम्न खासै गार्हो नहुने रहेछ।

अाज बुवाको मुख हेर्ने दिन। केही बर्ष अगाडी त्यो भित्र पट्टी पवाल परेको कोटबाट पैसा झिकेर मिठाई ख्वाएको कोटको बदलामा अर्को एक सुट हाल्नु भनेर पैसा हाल्दिएको छु। आझै आउँछ होला घरमा लगाएर भरे साझ अनलाईन च्याट गरौला बाबा। पढाई पनि यो लास्ट सेमेस्टर हो। मेरो ग्राजुएसन डिसेम्बरमा छ। दुबै बा आमालाई बोलाउँछु अस्ट्रेलीया घुम्न आउन पर्छ। सधै टिभीमा देखेको ओपेरा हाउस देखाउँछु। तिन महिना रमाईलो गर्न पर्छ। छोरी कसरी बसेकी रहेछ थाहा पाउनु हुन्छ। छोरीले कतै ईज्जटमा दाग लगाउँछे कि भन्ने सङ्काले पिरोली रहेको हुन्थियो त्यो तपाईहरुले नभने पनि बुझेको हुन्थे। घरमा छोरी त फलानोसँग भेटेको नि भन्ने खबर सुनाउनेहरुलाई गतिलो झापड दिन पनि तपाईहरु आउनै पर्छ। कोहीसँग बोली सक्दा लौ त्यो त फलानोसँग सुतीनै सकि भनेर कुरो लगाउने समाजका धमीराहरुलाई मुख भरीको जवाफ दिन भए पनि तपाईहरु आउनै पर्छ। उही तपाईकी सिन्को नभाचेकी छोरी सुजना।

लेखकः मनोज पौड्याल