फेसबुकमा स्टाटस लेखे म सन्सारको पहिलो बस्न योग्य शहर मेल्बोर्नमा छु तर पछाडी कालो बर्णको मान्छे आउँदै थियो। मुटुनै चिसो पसेर आयो र पाईला फटाफट बढाए। उसको नियत के थियो दैव जानुन। तर थाहा छैन किन किन यस्ता मान्छे देखे पछि डर लाग्ने।किन कि मलाई कसैले भनेको थियो यीसँग डराउनु। अस्ती यीनै जातीले साथीलाई बाटामा तनाब दिएका थिए त्यहि सम्झे। अस्ती ग्लेनरोयमा साथीको हातबाट मोबाईल लुटे देखि बाटोमा हिड्दा अख्सर मोबाईल हातमा नबोकी हिड्छु अनि पुरै सतर्कताका साथ हिड्छु। सनसाईनमा आसपास एउटा साथीको घरनै चोरी भयो। साँझ घर आउँदा न ल्यापटप छ, न गरगहना छ। न खुत्रुके। सबै लुटेछ। अव म कसरी ढुक्क होउ कि म सन्सारकै बस्न योग्य शहरमा छु भनेर।
हुन त हामी नेपालीलाई अलिक बढि त रवाफनै देखाउन पर्ने। बुढा पाकाले भनेको यो उखान कहिले काँही सम्झना आउँछ पुजी र सुँजी देखाउँछ …। थाहा छैन खातामा कति पैसा छ भरे चामल किन्नेर कार्ड घोट्दा डिक्लाईन हुन सक्छ तर बाहीरी रवाफ भने पछि पुरै मिलीनियरको भन्दा कम हुँदैन। चोरी त भयो कसलाई भन्ने न बिमा छ। अन्त्यमा आफ्नै पुर्पुरो ठोक्यो बस्यो। फेरी हामीनै सचना दिन हतार गर्छौ। चोरले बिचार गरेको पत्तै पाईन्न अनि ड्याङ्ग फेशबुकमा लेख्यो फलानो रेस्टुरेन्टमा म डिनर खादैछु। यो सोच्दैनौ कि चोरलाई सुचना दिदै छौ कि हामी घरमा छैनौ भनेर।भरे डिनर सकेर घर जाँदा केही नि हुँदैन गल्ती त हामी आफै गर्छौ तर दोष अरुलाई दिन्छौ।
आएको जतिनै बर्ष किन नहोस् कुनै दिन आफ्नो लागि समय कसैले दिन पाएको छ। कदापी छैन सधै पिरोलेको पिरोलै हुन्छ। अझ भन्छन् तिन W यानिकी Work (काम), Women (स्वास्नी मान्छे) र Weather (मौषम) को कुनै भर नहुने ठाउँमा गर्भ साथ भन्छौ हामी सन्सारकै सुन्दर ठाउँमा छौ जहाँ कति खेर काम चिप्लीने कामको कुनै भरनै हुन्न। हिजो हाँसेर बिदा भएको साहुले कतिखेर नआईज भन्दिन्छ पत्तै पाईन्न। अनि एकछिनमा टन्टलापुर लागेको घाम एकै छिणमा हावा र पानीले लाग्छ कि मलाई कसैले पछाडीबाट धकेली रहेको छ। अब यस्तो शहरलाई कसरि बस्न योग्य शहर भनौ। स्वास्नीको त झन् के कुरा गराई भयो र। तपाईले मैले नभोगे नि कसैले पक्कै भोगेको होला। आफै बुझ्नु होस्।
बाबा आज घुमाउन लैजानु न भन्दा मनलाई भारी पारेर छोरो आज काममा नगए साहु रिसाउँछ। साहु रिसायो भने सिफ्ट घटाउँछ अनि सिफ्ट घटायो भने यो घमको ऋृण कसरी तिर्नु भनेर हतार हतार चाईल्ड केयरमा फुत्त छोडेर भरे भेट्छु है भन्दै ट्रेनको आउने समय हेरेर दौडीन पर्ने देशलाई म कसरी सुन्दर देशको सङ्ज्ञा दिउँ। जन्म दिने आमालाई बर्षौदेखी ढाट्दै ढाट्दै आगुम आउँछु यो सालको दशैमा कामबाट छुट्टी मिलेन भनेर ढाट्दै हरेक दिन सृजित तनाबका प्वाल टाल्दा टाल्दा ढाड खिएको पत्तै नपाईने शहरलाई म कसरी बस्न योग्य शहर भनेर तारीफ गरौं।
छोरा छोरीले १८ बर्ष पछि छुट्टै बस्न पाउने, दशै र तीहार अनि आफ्नो मौलीक भाषानै बिर्साई दिने, आफ्नो सँस्कार र परम्परानै बिर्साई दिने देशलाई म कसरि सुन्दर शहर भनेर गर्धन फुलाऔ। हजुर बा र हजुर आमा आएर कोठा भित्रको कैदी जसरी न ओल्लो घरसँग बोलचाल हुन्छ न पल्लो घरको छिमेकी के छ बा भनेर बोलाउँछ।तिन महिना बिताउनलाई बर्षौ बिताउन परे जस्तो गार्हो हुने देशलाई म कसरी सन्सारकै नमुना शहर भनेर भन्न सक्छु।
दिन रात नभनी काम गरेर कमाएको जति पैसा कलेज र युनीलाई तिर्दै ठिक्क हुने, आज चाँही रमाईलो गरौ न त भन्दा दश चोटी सोच्न पर्ने शहरलाई म कसरि बस्न लाएकको शहर भनौ। कहिलेकाँही धित मरुन्जेल नाँचौ गाऔ भनेर अलि कति होहल्ला हुँदा भोली पल्ट सखारै छिमेकीको उजुरी वा काउन्सीलको उजुरी आउँने शहरलाई म कसरि बस्न योग्य शहर भनौ।
आएको कति भयो दश बर्ष,पन्ध्र बर्ष। अनि के कमाईस् भन्दा खिस्रीक्क पर्दै यी यहि घर भनेर देखाउन बिवश हजारौ नेपालीले आखिरी घमण्ड चाँही किन गर्ने म सन्सारकै उत्कृष्ठ देशमा छु भनेर।
लेखक: मनोज पौड्याल