बाबा काम कति बजे सकिन्छ, यता उती नगई आईस्योस् है। आझ फेरी तीजको कार्यक्रममा जानु छ। म तयारी भएर बस्छु मलाई ड्रप गरेर हजुर र बाबु घरै बसिस्यो अनि मैले मिसकल हाने पछि लिन आईसेला। आजकाल अस्ट्रेलीयाका अक्सर लोग्ने मान्छेहरुले सुन्ने डाईलग हुन पर्छ यो। किनकी तीज यानिकी दर खाने दिन नेपालमा मात्रै होईन यता बिदेश तिर ठ्याक्कै तिन महिना अघि देखीनै शुरु हुन्छ। बजारमा, फेशबुकमा, काममा, पार्कमा, अनि भाईबर, ईन्सटाग्राम जताततै यहि तीजको चर्चा छ। फेशबुकका भित्ताहरु रङेगीन छन्, ईन्टाग्राम त्यस्तै छ अनि कुरा पनि उही साडी र चोली, चुरा र पोते, छड्के र जन्तर, नौगेडी र पन्चरत्ने, बिच्छु र चन्द्रमा देखी कुरै हुन्नन्।
पहिला यहि शहरमा एउटा कार्यक्रम हुन्थ्यो। सबै जान्थे नाच्थे तर आज यहि शहरमा दर्जनौ कार्यक्रम हुन्छ। कसकोमा जाने अनि कस्कोमा नजाने रोजी र छाडी भएका छन्। कलाकारहरुलाई पनि भ्याई नभ्याई छ। बिचराहरु गीत गाएर टसुक्क बस्न पाएका हुँदैनन् हातमा अर्को स्टेटको टिकट थमाईएको हुन्छ। त्यस्तै परे नसुतीकनै एयरपोर्ट छोड्न हतार हुन्छन् आयोजकहरु पनि। कुरो खर्चको न पर्यो। आफ्नो स्वार्थ पुरा भएपछि कति खेर लखेटौ जसरी होटेल अगाडी धर्ना गरेर बस्छन्।
कलाकारहरु पनि मौकामा हिरा फोड्न पर्छ भन्ने बुझेर खासै तयारीबिना स्टेजमा आउँछन्, एकछिन उफार्नु त हो भन्दै उही केही हिट गीत गाए जस्तो गर्छन् अनि बाँकी त चिच्चाएरै सक्छन्। लाग्छ कि कुनै पुर्व तयारी बिनै आएका हुन् ट्रयाक बजायो आफै उफ्रियो अनि एकछिन उफार्यो अनि पैसा लियो गयो।पुरै व्यापार अनि ब्यबसाय भई सक्यो।
महिनौ देखि लागेको तीजले श्रीमानहरु पनि वाक्क भई सके। तिन महिना भईसक्यो कहिले धमाका भनेका छन् कहिले मेला भनेका छन् कहिले फलानीको घरमा तीज कार्यक्रम रे कहिले चिलानीले दरखाने कार्यक्रम भनेका छन् बुटीकबाट थरी थरीका साडी मगाएका छन्। हेर धेरै नकिन पोहोरको दोहोर्याएर लाउँदा नि हुन्छ नि भन्यो ठाडै भन्छन् “के भन्छन् साथीले छ्या यसको त साडीनै त्यहि दुईटा मात्र रहेछ” भन्दै कुरा काट्छन्। अझ यो साडीमा त पहिलै फेशबुकमा फोटो हाली सके बिल्ला हुन्न र मेरो। के भन्नु फेरी अलिक बढि बोल्यो भने मेरै कमाईले त किनेको छु तपाईको सुक्को चलाएको छैन भन्दिन्छन्। फेरी नारीलाई माथी पारिएको देश न पर्यो धेरै बोले नि फाईन आउला भन्ने डर। बढो गार्हो के यो तिन महिने तीज कटाउन पनि।
हे भगवान किन निस्ठुरी भयौ तिमी हाम्रो तिहार नि तन्काएर तिन महिने पारेको भए कति रमाईलो हुन्थ्यो तीन महिना सम्म तास खेल्ने बहानामा साथीहरुको घर जानलाई। हामीलाई चाँहि साईत भनेर तोकि दियौ घडी हेरेर मान्न पर्ने बनायौ। यी चेलीहरुको चाडमा चाँही किन कैची चालेनौ। तिमी भगवानहरुपनि कन्या कुमार भएरनै होला यस्तो पक्षपात गरेको। यस्तै ठाटिएर हिड्ने नाँच्ने चाड हामी पुरुषलाई किन दिएनौ, कति सम्म खुरापाती हामी भने दिदी बहिनीसँग मात्र मनाउने तिहार र जनै पुर्णीमा रे। उता भने तिन महिना सम्म नाच्न पर्ने तिन महिने तीज रे। पोईला जान पाम् भनेका छन् उफ्रेका छन्, हाई मेरो फरीया झन् माथी सर्छ भनेका उफ्रेका छन्, यो गर्दानि पिरलो उ गर्दा नि पिरलो भनेका छन् उफ्रेका छन्। फेरी यसो हेर्न जाउँ न त भन्यो जान पनि नपाईने। केटीको चाडमा केटालाई ईजाजत छैन रे। के हामी चाही ड्राईभर भएर कहिले सम्म लाने र लैजाने गर्ने हामीलाई निसाफ चाहियो भगवान निसाफ। अब यसको बिरोध गर्न सबै लोग्नेहरु आवरण अन्नसन बस्नै पर्छ नत्र भने ड्राईभर भएर जिन्दगी बित्ने भो।
लेखक: मनोज पौड्याल