सपना भनेको ठुलो देख्नु पर्छ।भन्नेले जे पनि भन्छन् तर भन्नेको पछि दगुर्नु आफै अर्को मुर्ख हुनु हो। मलाई नि थाहा थिएन जब अस्ट्रेलीयाको भिषा लाग्यो। त्यो बिरानो देशमा के गर्छु, कहाँ बस्छु, कस्ता साथी भेट्छु अनि कसरी कलेजको फि जुटाउँछु। एउटा बिरानो शहरको लागि पुरै अनबिग्य थिएँ। नत कोही चिनेको थिएँ, न कोहीसँग मेरो लिङ्कनै थियो। कन्सल्ट्यान्सीले भनेको थियो।एयरपोर्टमा लिन मान्छे आउँछन् अनि उनैले बस्ने सबै बन्दोबस्त गरि दिन्छन् ढुक्क हुनु।
एमएच १४५ मलाई अहिले पनि याद छ।घाँटीमा फुलका माला अनि केही खादाहरु थिए।एउटा ठुलो लगेज थियो अनि हातमा एउटा व्याग। आँखामा टिल्पील टिल्पील आँशुका थोपा चुहिदै थिए। पर सम्म हात हल्लाउदै थिए आफन्तहरु। एक छिनमा लगेजको तौल जाँच्यो र भन्यो अव यो उतैको एयरपोर्टमा गए पछि पाउनु हुन्छु। म बोडीङ पास र हातको झोला बोकेर लिफ्ट तर्फ लागे।अगाडी लाईन थियो ईमिग्रेसनको। सारै रुखो बोलीमा पासपोर्ट मागे कर्मचारी दाईले।किन जान आँटेको ,खै COE अनि नो अब्जेक्सन लेटर। मैले सबै दिएँ पछि छाप हान्दै अव उतै त बस्ने होला नि। के फर्किन्थ्यौ र नेपाल।हैन दाई पढेर फर्किने होनी। प्वाक्क भने खुबै नाप्यौ।आज सम्म कति हजारलाई यहि ढोकाबाट यहि छाप हान्दै पठाएँ।खै फर्केर आएको कोही देखीन।बरु पिआर र उतैको नागरिक भएर उल्टै नेपालको भिषा हान्नेहरु मात्र भेटे। तिमी फर्केलाउ भन्ने कुनै आश चाँही राखिन मैलेनी।
यत्तिकैमा प्रतिक्षालयमा बसे।केही समयपछि प्लेनमा जाने सुचना आयो। लाईनबद्द भएर प्लेन तिर हिडे। जि्दगीको पहिलो अनुभव त्यो पनि ठुलो बोईङ्।अनौठो लाग्नु स्वभाबिकै थियो। मिश्रीत मन थरीथरीका शोच अनि सुनौलो भविस्यको आशामा लागियो अस्ट्रेलीया।१५००० फिट माथी,प्लेन आफ्नै गतीमा हुईकिदै गर्दा आफ्नो मन झन त्यो प्लेनको रफ्तार भन्दा द्रुत गतीमा दगुर्दै थियो। न कोही छ चिनेको त्यसै हचुवा तालमा पो हिडीयो। कदमकदाचित त्यो कन्सल्ट्यान्सीको मान्छे नआएको खण्डमा कहाँ जाने। एक प्रकारको मनको ढुकढुकी बढि रहेको थियो।
तर बोल्ने मुख त छ अनि बाउ आमाले सकि नसकि बोडीङ् पढाएर जानेको टुटेफुटेको भएनी अङ्ग्रेजी नि छ। परेको खण्डमा बोल्न सक्ने खुबी छँदैछ। जे पर्छ सोही टर्छ।
नभन्दै एउटै साथीसँग ट्रान्जीटमा भेट भयो।उसको दाजु भाउजु अस्ट्रेलीया गएर बसेको धेरै भई सकेछ। उसँग मित्रताको साईनो अगाडी बढाईयो। यदि मान्छे आएन भने उसँगै जाने चाँजोपाँजो मिलाए। आफ्नो गन्तब्य आउन केबल एक घण्टा छ भनेर पाईलटबाट सुचना आयो।प्लेनको झ्याल खोलेर यसो हेरेको उज्यालो भई सकेछ। तल नियालेर हेरेको सुख्खा फाँट मात्र देखे,ठाउँ ठाउँमा जङ्गल। हुन त मरुभुमी न हो। पहिला पढेको याद आयो मरुभुमीको देश भनेर। प्लेन हाईटबाट झर्दै थियो।ईमिग्रेसनको फम भर्न एयरहोस्टेजले दिदै गईन्। फम भरे। केही क्षणमा प्लेनको चक्का रनवेमा पर्यो। लौ भगवान सकुसल आई पगियो भन्दै फेरी एकचोटी पशुपतीनाथलाई सम्झे।
कन्सल्ट्यान्सीको मान्छे कहाँ पो आउँथ्यो।एकछिन कुर्दा नी नआए पछी सोही साथीका दाईसँग टाँसो लागेर आफुपनि उसैको गन्तव्य तर्फ हुईकिएँ।
मनमनै रिस उठ्यो त्यो कन्स्ट्यान्सीको दाईसँग। पछि मज्जाले झपारे। त्यस्तो बिचल्ली नि बनाउने भनेर। यस्तैमा दिनहरु चल्दै गएँ। कामको लागि रेजुमे बनाएँ। सबैले किचनह्यान्डमा काम पाउँछ भने अनि सिटीका कुनै रेस्टुरेन्ट पनि छोडीन।कतिले रेजुमे लिए पनि कतिले परैबाट नो नो भनेर फर्काई दिए तर हरेष खाईन। नौलो ठाउँमा कोही नभए भगवान हुन्छ भन्ने लागेको थियो। एउटाले फोन गर्यो। बोल्दा खैरे जस्तो लाग्यो। अनुभव छ भन्यो।मैले नेपालको अनुभव छ किचनह्याण्डको भनेर गफ पेल्दिएँ। ल आईज भोली ट्राईलमा भन्यो भने मैले वके, वाट् टाईम् भने,सार्प ५ भन्यो। त्यहि अनुसार तयारी भएर भोली पल्ट गएँ। स्पोर्ट सुज लगाए। थाहा थिएन सेफ्टी सुज लगाउन पर्छ भनेर।हतार हतार जुत्ता फेर्न लगायो। खै कसको गनाउने कालो जुत्ता र कालो प्लास्टीकको एप्रोन दियो। अनि एकछिन एउटा हेर्दा ईन्डियन जस्तोले काम सिकायो। काम त के सिकाउनु र भाँडा धुने मेसीन चलाउन सिकायो अनि भाँडाहरु कहाँ कसरी राख्ने सिकायो।त्यस पछि सुरु भयो मेरो जिन्दगीको पहिलो काम किचनह्याण्डको रुपमा। न्वारन देखीको बल लगाएर भाडा धच्काईयो। सुनेको थिएँ काम जस्तो भएपनि एकदम छिट्टो गरेको साहुले मन पराउँछ। कति न जाने जसरि काम गरे। सायद काम मन पराएछ क्यारे भोली नि आईज भन्यो। मख्ख पर्दै सेफले दिएको एउटा पिज्जाको स्लाईस टोक्दै घरतिर फर्किएँ।
त्यस पछि कलेज र काम गर्दा गर्दै दिन, हप्ता अनि महिना बित्दै गए। आफु अलिक बाठो भएर पनि होला सेफलाई खुसी बनाउन कहिले काँही रमाईलो गफ ठोक्दिन्थे।सेफपनि मज्जाको थियो। व्यस्त नभएको बेला मलाई यसो आलु प्याज छिल्न दिन्थ्यो।त्यतिकैमा उसलाई चाहिने सामानहरु बनाउन सिकाउन थाल्यो। बिस्तारै पेन चलाउन सिकायो। पिज्जाको डो बनाउन सिकायो अनि पिज्जा कसरी वभनमा हाल्ने सबै सिकायो। मपनि सिक्न चासो दिन्थे। हुँदा हुँदा मलाईनै बना भनेर भन्थ्यो। कहिले काँही डड्थ्यो। गाली गर्थ्यो तर हाँसेर टार्थे। यसरी सिक्दै गए अनि बर्ष दिनमा सेतोकोट लाउने सेफ बने।
हातमा सिप भएपछि कसैको डर नलाग्ने रहेछ। त्यस पछि अर्को राम्रो ठाउँबाट अफर आयो सेफको। त्यहाँ सेफ भएर केही बर्ष काम गरे। त्यहिबाट स्पोन्सर भयो। पिआर त्यहिबाट हात पर्यो। पिआर भई सक्दा धेरै अनुभव र केही बजेटको जोहो गरि सकेको थिएँ।
कता कता अरुको खटनमा कति दिन काम गर्नु जस्तो लाग्थ्यो। हातमा शिप भएपछि के आफैले यो व्यबसाय गर्न सकिन्न त भन्ने सोच आयो। भगवानले तँ आँट म पुर्याउँछु भनेको सम्झे। त्यस्तो कोही नचिनेको शहरमा आएर यत्रो सङ्घर्ष गरेर आज यो ठाउँमा त पुगे भने अव आफै आर्थीक रुपमा सम्पन्न भएको छु।हातमा शिप भएपछि कस्को के डर भयो र।गर्छु आँट भनेर रेस्टुरेन्ट बिक्रीमा खोज्दै थिएँ।नभन्दै गोहीको आहारा दैवले पुर्याउँछ भनेझै आफैले किचेन ह्याण्ड गरेको रेस्टुरेन्ट बिक्रीमा रहेको खबर सेफबाट थाहा पाएँ। राम्रो लोकेसन् अनि चल्ने भएकोले आँट गरेर त्यहि रेस्टुरेन्ट अस्ट्रेलीया आएको पाँच बर्षमा किने। अहिले राम्ररी यहि व्यबसायमा सँलग्न छु र आफ्नो जिन्दगीलाई सरल तरीकाले चलाई रहेको छु।
(यो कथा काल्पनिक हो कोही कसैको बास्तबिक जिवनसँग मेल खान गएमा केबल सम्योगको रुपमा लिनु होला।सकारत्मक सोचको बिकास गरौ।हतोत्साही नबनौ परदेशमा बाँच्न गार्हो छैन। मेहीनत र दृड सङ्कल्प गरे अवस्य सफल होईन्छ)
लेखकः मनोज पौड्याल