मसान्तको भोली पल्ट
घरबेटी कराउँछ
भाइ महिना मर्यो त ?
बिहान पकाएको दाल
बेलुकी खान खोज्दा
औधी गन्हाउँछ ।
उफ् यो कोठाको जिन्दगी
हरेक झण यहाँ
घरबेटी चिच्याउँछ
भाइ धारा ठूलो नखोल ।
भाइ ट्वाइलेट गनायो ।
भाइ के को हल्ला यो ?
भाइ नौ बजे गेट बन्द हुन्छ ।
कति धेरै पिडा छ हजुर
कोठामा बस्नुको
प्रत्येक पाइला
होस पुर्याउनु छ
किनकी
सानो गल्ती भेटे
घरबेटीले भोली पल्ट
कोठा खाली गराउँछ ।
जसोतसो पढेर
बैँकमा जागिर खाएको छु
दिनभर करोडको हिसाब गरेर
बेलुकी ट्याम्पो भाडा नहुदा
२.५ किलोमिटर हिडेकै छु ।
के कुरा गर्नु यार
यो कोठाको
रित्तो चामलको टिन देख्दा
मुटु भक्कानिन्छ
सब्जीमा तेलको तिउन नभइ
आँशुको भेलले सब्जी पाक्दो हो त
सायद , दिनहु मेरो चुल्होमा
सब्जी पाक्दो हो
तर
अफसोच
तेलको अभावमा
कहिले आलु उसिनिन्छ
त
कहिले साग तातोपानीमा तताइन्छ
बुढो स्टोफ पनि जहिले रिसाउँछ
किनकी
गनेर दश थोपा मट्टीतेल तुर्काएर
दम दिने म मुर्ख देखेर
वाक्क लाग्छ
यो कोठे जिन्दगी देखेर
तलब थापेको दिन
म भन्दा धेरै घरबेटी रमाउँछ
किनकी तलबको
आधा हिस्सा नै उसले लान्छ
अलिकति पैसा मट्टितेलले खान्छ
अलि धेरै पैसा चामलले तान्छ
ए साँची
तलबको आएको दिन
मेरो कोठाको कराइ पनि रमाउँछ
किनकी उसले तेलको अनुभव पाउँछ
गनेर सिर्फ छ छाक
त्यसपछी त उही
आलु उसिनिन्छ
साग तताइन्छ ।
भो यति नै लेखौ
कोठे जिन्दगीको कथा
किनकी
प्रत्येक शब्द
म सँग व्यथाका छन
न सकिन्छन
न रोकिन्छन
सायद
निरन्तर बगिरहन्छन ।।।।।
नोट : प्रस्तुत कविता झापाका कवि निरज दाहालद्वारा लेखिएको हो ।