eNepal

महिला सिट महिलाहरुको लागी हो कुनै तरुनीको लागि होईन

पाइला टेक्ने ठाउँ समेत नभएको पहेँलो मिनीबस लगनखेलबाट हुईंकिँदै आयो । निकै अघिदेखि बस पर्खेर धोबीघाटमा उभिएका यात्रुले हात उठाए । मान्छे अट्ने ठाउँ नभएपनि बस रोकियो ।
ढोकामा सहचालक थिएनन् । चालक आफैं ओर्लिए र यात्रु चढ्ने ढोकातिर आए । भित्र खाँदिएर बसेकाले बल्लतल्ल ढोका खोले । ढोकाको पहिलो खुड्किलोमा मात्र टेक्ने ठाउँ थियो, अन्त सबै भरिभराउ ।

‘खै तपाईं अलि पर सर्नुस् त । दुईलाइन भएर उभिनुस् । दाई तपाईं यता फर्कनुस् । बहिनी तपाई उता फर्कनुस् । हो तपाईं अलि पर जानुहोस् । ल अब तपाईं उक्लनुस् । खै ब्याग दिनुहोस्, अगाडि राखौंला ।

ल ल उक्लनुस् । ढोका चाहिँ लाउनुपर्छ है ।….’ ठाउँ नभएपनि चालकले चारजना मान्छेलाई बसभित्र खाँदे । ढोका लगाए र बस अघि बढाए ।

कीर्तिपुर–लगनखेल रुटमा चल्ने पहेँलो रंगको मिनीबसमा सहचालक हुँदैनन् । चालक आफैंले ढोका खोल्छन्, लगाउँछन् र भाडा उठाउँछन् । एउटा बस छुटेपछि अर्को बस चढ्न कम्तिमा आधाघण्टा पर्खनुपर्छ । सिट भरिएर उभिने यात्रु समेत धेरै भएपछि मात्र बस गुड्छ ।

ढोका खोल्न र लगाउन सजिलो होस् भनेर ढोकादेखि चालकको सिट पछिल्तिर डन्डीसम्म डोरी टाँगिएको हुन्छ । चालकले ढोका खोल्दा र लगाउँदा डोरी तलमाथि गर्छन् । अरुबेला उभिने यात्रुले डोरी समाउँछन् ।

डोरीमा समाउन पाउनुपनि सिटमा बस्न पाएजस्तै आनन्द हुन्छ यात्रुलाई ।

‘ऐया नि क्या साह्रो पेलेको ! ए भाइ एउटा खुट्टा चाहिँ उचाल्नुहोस् न । दाइ अलि पर सर्नुहोस्, तपाईंको टाउको ठाडो गर्नुहोस् न, तपाईंको जिउ उता ढल्काउनुहोस्, मेरो खुट्टामा कसले टेक्यो हँ, यो हात कसको उता राख्नुहोस् त….’ बसभित्र यस्ता खैलाबैला नियमित सुन्न पाइन्छ । बसभित्र खाँदाखाँद र होहल्ला भएन भने चालकलाई बस कुदाउनै मन लाग्दैन जस्तो लाग्छ ।

बल्खुको जाम बल्लतल्ल पार गरेर बस त्रिवि गेटबाट माथितिर उक्लियो । अटेसमटेस गरेर बसेकी एक अधबैंसे महिला च्याँठिन्–‘हैन कस्तो ढुंगाको मन जस्तो भाका मान्छे हँ, अघिदेखि नै बच्चा बोकेर उ उभिएकी छे, कसैले पनि सिट छोड्दैनन्, कस्ता दया नभाका मान्छे ?’

महिला भनेर लेखिएको सिटमा कलेज पढेर फर्किएका दुईजना किशोरी बसेका थिए । पछिल्तिर अपांग र ज्येष्ठ नागरिक भनेर लेखिएका सिटमा पनि महिला नै थिए । कोही अधवैंसे, कोही चाहिँ भर्खरका युवती ।
महिला लेखिएको सिटकै आडमा एकजना महिला काखे बच्चा लिएर सकिनसकी उभिएकी थिइन् । यही देखेर ती महिला च्याँठिएकी रहिछिन् ।

‘तरुनीहरु सिटमा बसेका छन्, बच्चा लिने महिलाले उठ्नुपरेको छ । भोलिपर्सि बच्चा बोकेर हिँड्नुपरेपछि यी तरुनीहरुले पनि थाहा पाउँछन् । आइमाइको समस्या आइमाईले नै नबुझेपछि कसको के लाग्छ ?’ ती महिला एकोहोरो फत्फताउँदै थिइन् । उनको कुरा सुनेर सिटमा बसेका किशोरी र महिलाले केही प्रतिक्रिया दिएनन् । सुने, नसुनेकै झैं गरेर चुप लागेर बसिरहे ।
‘बच्चा लिन खोज्नुभाथ्यो उहाँले, बच्चा मान्दो रहेनछ के गर्नु’ उभिरहेकी अर्की महिलाले भनिन् । ‘बच्चा लिनुको सट्टा उठेर आमालाई नै ठाउँ छोड्दा के हुन्थ्यो ?’ अघिदेखि कराइरहेकी महिलाले भनिन् ।

त्यसपछि कोही बोलेनन् । न सिटमा बस्ने महिला उठे, न पछिल्तिरको सिटमा बसेका पुरुषले नै बच्चा बोकेकी महिलालाई ठाउँ छाडिदिए ।
‘यो आरक्षण भनेर छुट्याउनु नै गलत हो’ बसबाट ओर्लिएपछि एकजना पुरुष यात्रुले भने, ‘सिटमा जो बसेको भएपनि बच्चा बोकेकी महिला, अशक्त, बिरामी, बृद्धालाई त जसले पनि ठाउँ छोडिदिहाल्यो नि ।

अब महिला भनेर लेखेपछि धेरैजना महिला बसमा उभिएको बेला त्यो सिटमा को उठ्ने, को बस्ने त ?’
‘तर महिलाको ठाउँमा महिला नै बसेको भएपनि बच्चा लिएर उभिएकी या बिरामी महिलालाई त ठाउँ छोडिदिनुपर्यो नि ?’ अर्काले भने । ‘खै के हो के नियम पनि ।
बरु तरुनीको सिट, बच्चा बोकेकी महिलाको सिट, बृद्धाको सिट भनेर छुट्याए हुने नि’ अर्को मान्छे हाँस्दै आफ्नो बाटो लागे ।
source :- daily.gulfact

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349