स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ। ३३४ स्थानीय तहमध्ये अन्तिममा धरान उपमहानगरपालिकाको मतपरिणाम सार्वजिनक भयो। धरान उपमहानगर प्रमुखमा एमालेका तारा सुब्बा २० हजार ९ सय ७५ तथा उपप्रमुखमा एमालेकै मञ्जु भण्डारी २१ हजार २ सय ५६ मत ल्याएर विजयी भए।
यसअघि पहिलो चरणमा निर्वाचन भएका २८३ मध्ये २८२ स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।
पहिलो चरणमै निर्वाचन भएको भरतपुर महानगरपालिकाको मतगणना विवाद भने अझै सल्टिएको छैन। निर्वाचन आयोगले मतपत्र च्यातिएको भरतपुर-१९ मा पुन: मतदान गराउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सर्वोच्चले यस विषयलाई टुंग्याउन समय लगाउँदा भरतपुर महानगरपालिका अन्योलमा छ।
प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ का ६१७ स्थानीय तहमा निर्वाचन भइसक्दा समग्रमा ६१६ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। जसमा पहिलो र दोस्रो चरणमा गरी (१२५+१५१) २७६ स्थानमा जित हात पार्दै एमाले सबैभन्दा ठूलो दल बनेको छ।
यस्तै कांग्रेस (१०४+१२२) २२६ स्थानीय तह जित्दै दोस्रो र माओवादी केन्द्र (४६+३८) ८४ स्थानीय तहमा जित हात पार्दै तेस्रो बनेका छन्।
यसका अलाबा संघीय समाजवादी फोरम, नेपालले समग्रमा ८, नेपाल लोकतान्त्रिक फोरमले ६, राप्रपाले ५, राष्ट्रिय जनमोर्चाले ३, नेपाल मजदूर किसान पार्टीले १, नयाँ शक्ति पार्टीले १ तथा स्वतन्त्रले ६ स्थानमा जित हात पारेका छन्।
चुनाव भएका ६७ मध्ये ३५ जिल्लामा एमाले ठूलो दल बनेको छ। यस्तै २८ जिल्लामा कांग्रेस तथा ४ जिल्लामा माओवादी केन्द्र ठूलो दल बनेका छन्।
Source: थाहा खबर