कन्डेल कन्सल्टेन्सीको मुख्य प्रायोजन अनि यती फुटबल क्लव मेल्बोर्नको आयोजनामा मेल्बोर्नको डेरवीन ईन्टर्नेश्नल स्पोर्ट्स सेन्टरमा भएको १२ औं कन्डेल कन्सल्टेन्सी कपको उपाधी सिड्नीको बेनी एफसीले जितेको छ ।गएको आइतबार भएको फाइनल खेलमा नेपालका राष्ट्रिय खेलाडीले भरिएको बेनी एफसीले सिड्नीकै फेवा एफसीलाई सडनडेथमा पराजित गरेको हो ।
निर्धारित ३० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि निर्णय पेनाल्टी शुटआउटमा गरिएको थियो। ३–३ पेनाल्टी शुटआउटमा पनि कुनै निर्णय नआएपछि सडनडेथमा बेनी एफसीका विशाल राईले गोल गरे पनि फेवा एफसीका सुरेन क्षेत्रीको प्रहार बेनीका गोलरक्षक विवेक अधिकारीले रोकेका थिए। पेनाल्टीमा बेनीका सुमन अर्याल, पीयूष ढकाल, हेमन गुरुङ तथा फेवाका विमल राना, सुनील दुरा र हेमन्त थापामगरले गोल गरेका थिए ।
फेवा एफसी सिड्नीका विमल राना म्यान अफ दि म्याच बन्न सफल भए भने बेनीका विवेक अधिकारी उत्कृष्ट गोलरक्षकमा चुनिए । बेनीकै हेमन गुरुङ प्लेयर अफ द टुर्नामेन्ट बने भने युनाइटेडका दर्शन गुरुङ, द राइजिङ गुर्खाजका रमेश बस्नेत, फेवाका विमल राना र बेनीका अभिषेक रिजाल ६–६ गोल गर्दै सर्वाधिक गोलकर्ता बने । फेयर प्लेको अवार्ड सेन्ट जर्ज नेपाली क्लब सिड्नीले हात पार्न सफल भयो।सबै विधाका उत्कृष्ट खेलाडीहरुलाई २ सय ५० अस्ट्रेलियन डलर प्रदान गरिएको थियो।
फरेभर योङ (३५ वर्ष माथि) तर्फ आयोजक यती एफसीले फाइनलमा सेन्ट जर्जलाई २–० ले पराजित गर्दै उपाधी हात पार्यो । श्रवन श्रेष्ठ र विशाल गुरुडले एक एक गोल गरे । फाइनल खेलको म्यान अफ दि म्याच यति एफसीका निरजन गुरुङ भए भने सर्वाधिक गोलकर्ता क्विन्सल्याण्ड नेपाली एफसी ब्रिस्बेनका देव कुमार र म्याकआर्थर नेपाली एफसी सिड्नी एफसीका राजेश श्रेष्ठले समान ५–५ गोल गरे। यती एफसीका साजन श्रेष्ठ उत्कृष्ट खेलाडी भए भने फेयर प्लेको अवार्ड क्विन्सल्याण्ड नेपाली एफसी ब्रिस्बेनले हात पार्यो।
प्रतियोगिताका विजेताले उपाधिसँगै ट्रफी र ६ हजार डलर अष्ट्रेलियन डलर हात पारे भने दोश्रो हुने टिमले ट्रफी मेडलको साथमा ३ हजार डलर र तेस्रो हुन टिमले १५ सय डलरको साथमा ट्रफी र मेडल हात पारे।
महिला पेनाल्टी सुटआउट विजेता छिरिङ शेर्पा भइन् भने क्रसबार च्यालेन्ज विजेता विशाल चौहान भए। प्रत्येकले नगद एक सय डलर जिते।
ए लिग साइड मेलबर्न भिक्ट्री प्रशिक्षकहरूले किड्स क्लिनिकपनि सन्चालन गरेका थिए। बाल सत्रमा ५० बालबालिकाको सहभागिता रहेको थियो ।लेडिज पेनाल्टी सुटआउट र ओपन क्रस बार च्यालेन्ज दर्शकका लागि आकर्षणको विषय बनेको थियो ।