नेपाल फेस्टिबल मेल्वर्नको काउन्टडाउन शुरु भैसकेको छ । यही सेप्टेम्बर १० मा हुन गइरहेको नेपाल फेस्टिबलको तयारी लगभग सम्पन्न भइसकेको छ । मेल्वर्नको मुटुमा अवस्थित फेडेरेशन स्क्वायरमा हुन लागिरहेको उक्त फेस्टिबलमा सहभागि हुन देश विदेशबाट नेपालीहरु आउँदैछन् ।
एनआरएनए भिक्टोरीयाका तथा फेस्टिबलका संयोजक हरि खड्काले कोरोनाको महामारीले गर्दा अघिल्लो पटक गर्न नपाएको नेपाल फेस्टिबल यसपाली हुँदै गर्दा जनचासो बढेको र मान्छेहरु यस फेस्टिबलमा सहभागि हुन आतुर रहेको बताएका छन् । त्यसैगरी अघिल्लो दिन गाला डिनरबाट शुरु हुने फेस्टिबल एघार तारिख सेप्टेम्बरमा उपस्थित सबै पाहुनाहरुलाई धन्यवाद दिएर समापन हुनेछ ।
फेस्टिबलको आकर्षण भनेको विहानको परेड पनि हुने गर्दछ । उक्त परेडलाई संयोजन गर्दै गरेका तारा गैरे र दिदी बहिनी समाजका अध्यक्ष जमुना पराजुलीले परेड नेपाली विभिन्न संस्कृतिलाई समावेश गरेर, नेपाली र अष्ट्रेलियन झण्डा बोकेर पार्रलेमेन्टदेखि झाँकि निकाल्दा पक्कै पनि रमाइलो र भावुक क्षण हुने बताएका छन् । परेडमा भाग लिएर यसलाई विशाल उत्सव बनाउन परेड सयोजकद्वयको सबैलाई आग्रह गर्न चाहन्छ ।
परेड सकेपछि केही समय औपचारीक कार्यक्रम हुने भएकोले गेष्ट म्यानेजमेन्टका संयोजक बम योन्जनले यो पलमा पनि सबैजना उपस्थित भएर आउनु भएको गेष्ट स्पीकरहरुलाई सह्दयतासहित स्वागत गरेर उहाँहरुको नेपाल फेस्टिबलप्रतिको धारणा सुन्न आग्रह गरेका छन् । फेस्टिबलको औपचारिक कार्यक्रम एनआरएनए अष्टेलियाको महासचिव राजु अधिकारी र एनआरएनए भिक्टोरीयाका सचिव गणेश कडेँलले संचालन गर्ने भएका छन् ।
औपचारीक कार्यक्रम सकेपछि दर्शकहरुले स्टेजमा भरपूर गीत संगीत र नृत्यको मनोरन्जन लिन सक्नेछन् । कल्चरल संयोजक राम गुरुङ्गले कल्चलर शोको तयारी एकदमै मेहनत साथमा चलिरहेको बताएका छन् । फेस्टिबलमा दर्शकहरुले लोक, साँस्कृतिकदेखि पप जेनरा समेतको नृत्य देख्न सक्ने बताएका छन् । यसका साथै कलात्मक र समुदायलाई सन्देश दिने सन्देशमुलक नृत्य रहेको पनि उनी बताउँछन् ।
साँझ कब वेभ बयाण्डले कन्सर्ट दिदैँछन् भने लोकदोहोरीमा नचाउन चर्चित लोक गायक बद्री पंगेनी आउँदैछन् । फेस्टिबलमा उपस्थित भएर आफ्नो प्रस्तुती दिन एकदमै खुशी लागेको र आफ्नो ब्याण्डले उपस्थित सबैजनालाई झुमाउन हर प्रयास गर्ने कब वेभको भोकलिष्ट तथा गिटारिष्ट दिवेश मुलामिले बताएका छन् ।
त्यस्तै अर्का लोक गायक बद्री पंगेनीले पहिला पनि मेल्वर्न आएर प्रस्तुती दिइसकेको र मेल्वर्नवासी नेपालीहरुले आफ्नो प्रस्तुतीलाई धेरै नै मन पराएको बताएका छन् । यसपाली नेपाल फेस्टिबलमा आएर धमाका गर्नुपर्छ भन्दै गायक पंगेनी सबै मेल्वर्नवासी नेपालीहरुलाई सेप्टेम्बर १० तारिख फेडेरेशन स्क्वायरमा आउन निमन्त्रणा दिन्छन् ।