भक्तपुरको सुर्य विनायक नपा कटुञ्जे ५ घर भई लामो समय देखि अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका संचारकर्मी एवं मुक्तककार सुशील चालिसे र उनकी पत्नी अनिता भण्डारी चालिसेले लक्ष्मी प्रतिष्ठानद्वारा अति सिमान्तकृत बालबालिकाहरुलाई शिक्षामा पहुँच गराउने उद्देश्यले निस्शुल्क संचालन गर्दै आएको कुमार बलराम स्मृति छात्रावासलाई आर्थिक सहयोग गरेका छन् । ८ वर्षिया छोरी शायना चालिसे र ५ वर्षिया छोरी समिका चालिसेको एकैदिन परेको जन्मदिनको अवसर पारेर उनीहरुले छात्रावासलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।
भाद्र २ गते बिहिबार हजुरबुबा सूर्यप्रसाद चालिसे र हजुरआमा अम्बिका चालिसेमार्फत छात्रावासलाई आर्थिक सहयोग प्राप्त भएको उक्त छात्रावासका संचालक समाजसेवी बिष्णु गौतमले जनाएका छन । मानवीय सेवालाई महत्व दिएर गरिएको सहयोगले समाजलाई सकारात्मक उर्जा दिने छात्रावास संचालकले बिश्वास व्यक्त गरेका छन् । लक्ष्मी प्रतिष्ठानद्वारा अति सिमान्तकृत बालबालिकाहरुलाई शिक्षामा पहुँच गराउने उद्देश्यले निस्शुल्क संचालन गर्दै आएको कुमार बलराम स्मृति छात्रावासमा आश्रित करिब दुई सय बालबालिकाहरुले सेवा पाइरहेका छन्।
आफुसंग जोडिएका उत्सवहरुलाई मानवीय कर्मद्वारा महाउत्सव स्वरुप बालबालिकाहरुको आत्मा तृप्त गराउनु हुने श्रद्धेय चालिसे दम्पतीले गर्नु भएको सहयोगका लागी हार्दिक आभार सहित उच्च सम्मान गर्दै पवित्र मन हुनु भएका मनकारी श्रद्धेय चालिसे दम्पति लगायत सम्पूर्ण परिवारमा ईश्वरको कृपा रहोस र जन्मदिनको पुनित उपलक्ष्यमा छोरीहरु शायना चालिसे र समिका चालिसेलाई लक्ष्मी प्रतिष्ठानका तर्फबाट मुरीमुरी शुभकामनाका साथै आशिर्बाद प्रदान गरेका छन।
चालिसे दम्पतीले आफ्ना छोरीहरुको प्रत्येक जन्मोत्सवमा कुनै न कुनै सामाजिक संस्थालाई आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । गत साल उनीहरुले भक्तपुरस्थित सेवा घरलाई आर्थिक सहयोग प्रदान गरेका थिए ।
चालिसे दम्पतीले यस अघि राधा पौडेल आबद्ध संस्था एक्सन वर्क नेपाल, दिक्षा चापागाईं आबद्ध पबित्र समाज नेपाल, नायिका स्वेता खड्काले सन्चालन गरेको स्वेता श्री फाउण्डेशन, गौतम लामिछाने एवं पद्मा पाण्डेद्वारा सन्चालित सामाजिक संस्था विरुवा नेपाल तथा कलाकारद्वय सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)द्वारा संचालित सामाजिक सस्था धुर्मुस सुन्तली फाउन्डेसनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग गरी सामाजिक सेवामा जोडिएका थिए। चालिसेले छोरीहरुको जन्मदिनको उपलक्ष्यमा निरन्तर रुपमा रक्तदान पनि गर्दै आएका छन्।