करिब २५ वर्ष देखि अस्ट्रेलियालाई कर्मथलो बनाएर बस्नुभएका ऋषि कँडेल अस्ट्रेलिया आएदेखि नै नेपाली भाषा र संस्कृतिको जर्गेनामा लागिरहनुभएको छ । नेपाल फेस्टिभलको सुरुवाती दिनदेखि आजसम्म सक्रिया रुपमा रहनुभएका कडेँल १० वर्षदेखि आफ्नै व्यवसाय गर्दै आइरहनुभएको छ । सन् २०१३ र २०१५ मा २ वटा नेपाल फेस्टिभल आफैँले संयोजन गर्नुभएको कडेँलसँग यस वर्षको नेपाल फेस्टिभल मेलबर्न २०२२ को बारेमा कुराकानी गरेका छौँ ।
नेपाल फेस्टिभलको शुरुवाती समयबाट नै तपाई एनआरएनका् तर्फबाट सक्रिय रुपमा हुनुहुन्थ्यो, दुईवटा महोत्सवले आफैंले संयोजन पनि गर्नुभएको छ, त्यतिबेला र अहिलेमा के भिन्नता छ ?
नेपाल फेस्टिभलको शुरुवात गर्दा निकै चुनौती थियो । आर्थिक रुपमा पनि गाह्रो थियो किनभने नेपाली समुदाय स्थायित्वको चरणमा नै थियो । तर अहिले धेरै परिवर्तन भइरहेको छ । नेपाली समुदाय पनि परिपक्क हुदैंछ । व्यवसायमा पनि नेपालीहरुको बाहुल्यता बढ्दै गइरहेको छ । स्पोनसर पनि राम्रो छ, जस्ले गर्दा आर्थिक रुपमा कार्यक्रमलाई व्यवस्थापनलाई सहज हुन्छ ।
नेपालको संस्कृति र मौलिकता विदेशमा पनि जर्गेना गर्नको लागी नेपाल फेस्टिभलको भूमिका कस्तो रहेको छ ?
नेपाल फेस्टिभल त ब्रान्ड नेपाल जस्तो भइसक्यो । अस्ट्रेलिया एनआरएनबाट सुरु भएको नेपाल फेस्टिभल अहिले एनआरएन भएका सबै देशमा आयोजना गरिन्छ । एक दिनको अवधिमा सम्रग नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो, जसमा हामीले नेपालको परिचय अरु समुदायलाई चिनाउन पाउन्छौं ।
नेपाल फेस्टिभलमा शुरुवाती समयदेखि नै दोस्रो पुस्ताका नेपालीहरुको सहभागीता कस्तो थियो र दोस्रो पुस्तालाई नेपालको संस्कृति हन्तान्तरण गर्न नेपाल फेस्टिभलले कस्तो भूमिका निर्वाह गर्दछ ?
दोस्रो पुस्ताको सहभागीता पनि उत्साहजनक नै हुने गर्दछ । नेपाली गीत, संगीता, भेषभुषा, खाना, संस्कृतिमा उनीहरुको रुची छ । नृत्य लगायत सांस्कृतिक कार्यक्रममा सहभागी पनि भएका छन् । तर व्यवथापकीय वा भनौं संस्थागत हिसाबमा चाहीँ दोस्रो पुस्ताको सहभागीता कम रहेको छ । त्यसैले दोस्रो पुस्तालाई संरक्षक बनाएर लैजाने गरी अघि बढ्न सकियो भने अझै राम्रो हुन्छ ।
नेपाल फेस्टिभलले जे गर्दै आइरहेको छ, त्यो त निश्चित रुपमा सह्रायिन नै छ तर यसलाई अझै राम्रो बनाउन के गर्नुपर्ला ?
हरेक वर्ष नयाँ कमिटि बनाएर अघि बढ्नु भन्दा पनि एउटा स्थायी कमिटी बनाएर एनआरएनका केही सदस्य मात्र थप गरेर नेपाल फेस्टिभल व्यवस्थापकिय कमिटी बनायो भने राम्रो हुन्छ जस्तो लाग्छ । त्यसो गर्न सकियो भने अघिल्लो वर्ष भएका काम र यस वर्ष थप गर्नुपर्ने कामहरु पहिल्याउन पनि सहज हुन्छ । अनि कार्यक्रमको गुणस्तरलाई बिशेष ध्यान दिन सकियो भने राम्रो हुन्छ जस्तो लाग्छ ।
अन्त्यमा तपाईको आफ्नो भनाई केही छ ?
अस्ट्रेलियामा नेपाली समुदाय पनि बढ्दै गइरहेको छ । त्यसैले आर्थिक रुपमा यदि सकिन्छ भने नेपाल फेस्टिभललाई एक दिन बाट ३ दिनसम्म गर्न सक्दा यसको प्रभाव बढी हुन्छ । समयसीमा बढाउन सकियो भने नेपाली समुदाय बाहिर सम्म यसको प्रभावकारीता हुन्छ भन्ने हो ।
अन्त्यमा सधैँको वर्ष झैँ यस वर्ष पनि सबैजना सहभागी भएर नेपाल फेस्टिभल भव्य रुपमा सफल पारौं भन्न चाहन्छु ।