प्रतिनिधिसभाको हिजोको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ ।
बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राख्नुभएको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । मन्त्री खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।
नेपालको संविधानको धारा १४ मा व्यवस्था भए अनुसार नेपालको संघिय संसदले गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता दिने विधयेक पारित गरेको छ । यस विधेयक लाई राष्ट्रिय सभाले पास गरेर राष्ट्रपतिले लालमोहर लगाएपछि यसले ऐनको रुप लिनेछ ।
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद अन्तरगत नागरिकताको निरन्तरता समितिका संयोजक एबम् केन्द्रिय उपाध्यक्ष दुर्गा आचार्यले भन्नुभयो, “काम बल्ल शुरु भएको छ, अब यस विधेयक अनुसार नियमावली, गैरआवासीय नेपाली विधेयकमा संशोधन र गैरआवासीय नेपाली परिचय पत्र पाउनेहरुलाई गैरआवासीय नागरिकता समान अधिकारको लागि लबिङ्ग गर्नु पर्दछ । यस कामको लागि सहयोग गर्ने नेपाल सरकार र सम्पूर्ण राजनितिक दलहरु लाई हार्दिक धन्यबाद दिन चाहन्छौ ।”
यो विधेयकमा ब्यवस्था गरिएका कुराहरुलाई बिस्तृतमा गैरआवासीय नेपालीहरुलाई बुझाएर सबै क्षेत्रमा अन्तरक्रिया गरि बाँकी मुद्दाहरुको लागि लबिङ्ग गरिने सो समितिका सदस्य सचिव एबम् उप-महासचिव नारायण काफ्ले ले बताउनुभयो ।
विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समयसीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो ।
विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गर्नुभएको थियो । वैवारिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष समयसीमा तोक्नेबारेमा विगतमा प्रतिनिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो ।
नागरिकताको विषयमा नेपाल सरकार, राजनीतिक दल तथा सरोकारावाला निकायसँग निरन्तर लविगं गर्दै आउनु भएका आचार्य संविधानले दिएको आर्थिक, सामाजीक र सांस्कृतिक अधिकारलाई विधेयकले समेटेको र राष्ट्रियसभाले चाँडै पारित गरेर राष्ट्रपतिबाट प्रमाणित हुनेमा पनि विश्वास ब्यक्त गर्नु भएको छ ।
ऐन प्रमाणीकरण भएसँगै नियमावली बनाए पछि गैर आवासीय नेपाली नागरिकता लिने बाटो खुल्नेछ ।