eNepal

बरु साउदी जाउ साईला अस्ट्रेलीया नजाउ, चालीसे नाघ्दा नि रमाईलो गर्न पाउँदैनौ

यो लेखको आशय तपाई अस्ट्रेलीया अमेरीका नआउनु होस् भन्न खोजीएको होईन भन्ने बेहोरा जानकारी गराउन चहान्छु। कोही पनि मान्छे रहरले बिदेशीदैन। जब बाध्यता पर्छ अनि बिदेशीन्छ एक युवा। हजारौमा एक हुन्छन् रहरले बिदेश जाने। अरुले देखाएको रवाफको सिको गरेर जाने तर धेरै आफ्नो परिस्थीति अनि विवशतालेनै बिदेशीन्छन्।

घर छोडेर परदेशीनु कुनै मोजमस्ती गर्न कदापी होईन। तपाई सन्सारको जुनै कुनामा जानुहोस् अनि त्यहाँ कोही नेपालीलाई भेट्नु होस्। कस्तो छ तपाईलाई भनेर सोध्नु होस्।हाँसेर जवाफ दिन्छन् “राम्रो छ”। हाँस्नु बाध्यता हो तर भित्र सबैको पीडा आआफ्नै हुन्छ। पिडा अनगिन्ती हुन्छन् ठाउँ र परिबेश अनुसार। भलै हात मुख जोड्न बिदेश गए पछि गार्हो नहोला तर मनमा ति घरका परिवारले के खाए खाएनन्। कतै केही सङ्कट पो छ कि। कतै नालाबाला बिरामी पो परे की।पेट पोली रहन्छ।

बिदेश जानु भनेको अरुको देशमा अरुको खटनमा बस्नुनै हो चाहे दुबई जानुहोस् या साउदी वा अमेरीका अनि अस्ट्रेलीया। अरुले खटाएर दिएकोनै हात थाप्ने हो। कसैको मनमानी कदापी चल्दैन तर जति दिन्छन् चुपचाप लिने आफ्नो थैली भर्ने हो।

एक जना दाई दुबई गए करिब दश बर्ष अगाडी। तलब आफुलाई चित्त बुझ्दै थियो। खाएर बसेर लगभग ६०-७० हजार बचाउँथे। कामको कुनै तनाब भएन। कम्पनी राम्रो परेको भएर सुबीधा पनि राम्रोनै दियो।दाईलाई बर्षमा एक महिना छुट्टी दिदो रहेछ कम्पनीले। परिवारको साथबाट टाढा हुनुको पिढा एकठाउँमा होला तर बिदामा जाँदा ठाँटीएर जान्थे।आफुलाई मन लागेको सामान किनेर लैजान्थे। पराले घरलाई भत्काएर दुई तलाको राम्रो घर पनि बनाए।हरेक दशैमा आमाको हातको टीका अनि तीहारमा बहिनीको हातको मखमली माला अख्सर छुटाउँदैन थिए। गाउँमा हालेको लिङ्गे पीङमा मच्चिन्थे, मादल र झ्यालीमा धेउसीरे खेल्थे अनि गाउँनै रमाईलो बनाएर फर्किन्थे।

अस्ती जाँदा देखेको घरको लागि चाहिने सबै सामान जोडी सकेछन् त्यो पनि सबै बिदेशी। हरेक बिदामा जाँदा केही न केही सामान लैजाँदा रहेछन्। कुनै सुबिधा सम्पन्न घर बन्दा कमि रहेन रहेछ। मलाई भन्दै थिए। भाई अव चालिसेले पनि छुन आट्यो।अव फिनीस्ड गर्छु होला। अनि केही व्यबसाय गर्नु पर्ला। ऋण थाप्लामा छैन। घरखेत जोडी हाले। अलिकती पैसो छ, त्यसैलाई उपयोग गरेर केही व्यबसाय गर्ने सोच बनाएको छु।

यता अस्ट्रेलीया आएका दाईको कथा छुट्टै छ। बिधार्थी भिषामा अस्ट्रेलीया आएका दाई। काम गर्न होईन। तर नेपालकाले बुझ्दैनन् हवाईजहाज चडेर उडे पछि पैसो कमाउन उड्यो भन्ने मनसाय सबैको। कामको कुनै ग्यारेन्टी छैन। पढ्न आएकोलाई कस्तो छ पढाई अहँ सोधीन्न। महिनाको कति कमाउछस् त्यो सोधीन्छ। कामनै पाए पनि कति खेर कामबाट लात मार्छ साहुले कुनै टुङ्गो हुँदैन। समय अनुसार चल्दै जाँदा ईच्छा र आकाङ्क्षाहरु बढ्दै जान्छ। कलेजको फि जुटाएर अलिकती घर खर्च बचाउँदैमा आएको दुईचार बर्ष बितेको पत्तै हुँदैन। आएको केही बर्षमा बिवाह गर्न चाँजो पाँजो मिलायो। पढाई सक्यो बिबाह गर्यो। डिपेन्डेन्टमा श्रीमती ल्यायो।

दुबही कतारमा जस्तो न कुनै कम्पनीले दशै बिदा दिन्छ न कतै घुम्ने अनि रमाईलो गर्ने अवसरनै मिल्छ। खाली काम काम कामले आफ्ना जिन्दगीका रमाईला गर्ने ईच्छाहरु सबै तुहीदै जान्छन्। उस्तै परे जोईपोईको बोल्ने समेत फुर्सद हुँदैन। ऋृणको बोज कहिलै हलुका हुँदैन झन् पसाङ्गीदै जान्छ। कर्जामा लिएको घरको ब्याज तिर्न एकदिन छुट्टी बस्यो भने मुटु पोलेर खपि सक्नु हुँदैन। तिस बर्षको उमेरमा तिस बर्षलाई बैंकबाट कर्जामा लिएको घरको ऋृण तिर्न कति दशै तिहारमा आमा बा अनि दिदी बहिनीलाई यो साल आउन पाईएन, आगुम साल पक्कै आउँछौ भनेर ढाट्दा ढाट्दा कैयौ बर्षहरु बित्छन् तर कहिलै मौका मिल्दैन। उमेरले चालिसे छुन्छ।काममा रगटेको रगटै हुन्छ। ढाडले बिश्राम मागि रहेको हुन्छ तर बैँकको एउटा चिट्ठीले त्यो थकानको निन्दहराम पार्दिन्छ। यसरी जिन्दगी चलि रहन्छ घडीका पला घुमी रहन्छ।

अनि घरमा बुढी भएकी आमा रुँदै भन्छिन यि सब सुने पछि बरु साउदी कतार दुबई जाउ साईला अमेरीका अस्ट्रेलीया नजाउ।कमसेकम बर्षेनी घर परिवार, आफन्तजनलाई भेट्ने त मौका पाईन्छ। के गर्नु अमेरीका अनि अस्ट्रेलीया भनेर टुसुक्क बस्ने फुर्सद नहुँदो रहेछ।
लेखक: मनोज पौड्याल

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal