अष्ट्रेलियाको मेल्बर्नमा जारी दोश्रो कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवलको हिजो दोश्रो दिनका खेल सम्पन्न भएका छन्।
दोश्रो दिनको खेलमा एक्सपर्ट सगरमाथा ब्लुज, मेभन क्रिकेट क्लव, गुल्मी टाइगर्स क्रिकेट क्लब र द हिमालयन क्लबले बाजी मार्न सफल भएका छन्।
हिजो भएको पहिलो खेल रोयल राइनोज र द हिमालयन क्लब बिच भएको थियो। पहिलो खेलमा द हिमालयन क्लबले दोश्रो जित हाँसील गर्न सफल भएको छ। रोयल राइनोज क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जीत आफ्नो पक्षमा सुनिश्चित गरेको थियो। रोयल राइनोजले दिएको १०२ रनको लक्ष्य द हिमालयन क्लबले ३ विकेट क्षेतीमा भेटायो।
द हिमालयन क्लवका लागि भुपराज पंगेनीले २४ तथा सरोज क्षेत्रीले २० रन बनाउन सफल भने उदय देवकोटा र रमनित सिंहले समान २ विकेट लिए। रोयल राइनोजको तर्फबाट रिखभ पाँचलले ३८ रन र दिपेस बिस्टले २ विकेट लिए। प्लेयर अफ द म्याच सरोज क्षेत्री घोषित भए।
दोश्रो खेलमा गुल्मी टाइगर्सले गोर्खाली क्रिकेट क्लबलाई १० रनले पराजित गर्यो। गुल्मीले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा गोर्खालीले निर्धारित १०० बलमा ७ विकेट क्षेतीमा १२७ रन बनायो।
गुल्मीका लागि पदम गौतमले ३८ र आकाश क्षेत्रीले २६ रन तथा दिपेश खत्रीले ३ तथा हेमु बुढाथोकीले २ विकेट लिए। गोर्खालीका सुरेश क्षेत्रीले ३१ र जेम्स थापाले २२ रन लिए भने तथा निर्माण वाग्लेले २ विकेट लिन सफल भए। पदम गौतम प्लेयर अफ द म्याच घोषित भए।
तेश्रो खेलमा एक्स्पर्ट सगरमाथा ब्लुजले फारवेस्ट हन्टर्सलाई ३ विकेटले पराजित गर्यो। फारवेस्टले दिएको १४९ रनको लक्ष्य सगरमाथाले ७ विकेट क्षेतीमा भेटायो।
सगरमाथाको जितमा ब्याटिंगतर्फ हरविन्दर सिंहले ४३ र हम्जा अलिले ४० रन तथा बिक्रम तिवारी र सारांश थापाले समान २ विकेट लिए। फारवेस्टको तर्फबाट मुसद्दिक अलिले ६३ तथा बलिंगमा पुकार घिमिरेले २ विकेट लिएका थिए। हरविन्दर सिंह प्लेयर अफ द म्याच घोषित भए।
चौंथो खेलमा मभेन क्रिकेट क्लबले एभरेस्ट लायन्सलाई ६ विकेटले पराजित गर्यो। एभरेस्टले दिएको १०९ रनको लक्ष्य मभेनले ४ विकेट क्षेतीमा भेटायो।
मभेनको जितमा गुरप्रताप सिंहले ३३ तथा सौरभ अरोराले २२ रन बनाए भने निराजन कार्कीले ४ तथा सौरभ अरोराले २ विकेट लिए। एभरेस्टका कमल क्षेत्रीले २९ लिए भने सुरज दाहालले २ विकेट लिएका थिए। प्लेयर अफ द म्याच निराजन कार्की घोषित भए।
दोश्रो दिनको खेल समाप्तीसँगै समुह ‘ए’ मा द हिमालयन क्लब र गुल्मी टाइगर्सको २ खेलमा समान २ जित पछि समान ४ अंक रहेको छ। गोर्खाली क्रिकेट क्लब र रोयल राइनोज क्रिकेट क्लब दुवै खेलमा पराजित भएका छन्। समुह ‘बि’ तर्फ एक्स्पर्ट सगरमाथा ब्लुजको ४ अंक छ भने मभेन क्रिकेट क्लब र फार वेस्टको २ खेलमा समान १ जित र १ हार पछि २ अंक छ। एभरेस्ट लायन्स क्रिकेट क्लब दुवै खेलमा पराजित भएको छ।
प्रतियोगिता शुरु हुन अगावै शेन वार्न र सुशन खतिवडाको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। सेन वार्नले २३ वर्षको उमेरमा भारतविरूद्ध १९९२ मा सिड्नीमा भएको अन्तर्राष्ट्रिय टेस्टमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उनले २००७ मा इङल्यान्डविरूद्ध सिड्नीमै अन्तिम टेस्ट म्याच खेलेका थिए। यसैक्रममा उनले टेस्ट क्रिकेटमा ७ सय ०८ विकेट लिएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि उनले सन् २०१३ सम्म टी २० फ्रेन्चाइज लिग खेलिरहेका थिए। उनले सन् १९९९ को एकदिवसीय विश्वकप जितेका थिए भने १ सय ९४ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा २ सय ९३ विकेट लिएका थिए।
द हिमालयन क्लब, एक्सपर्ट सागरमाथा ब्लुज, रोयल राइनोस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, फार वेश्टर्न हन्टर्स, गोर्खाली क्रिकेट क्लब, एभरेस्ट लायोन्स, गल्मी टाइगर्स गरेर आठ टिमहरुको सहभागीता रहने यो बर्षको द हन्ड्रेड प्रतियोगिता चार दिन शनिबार १९ मार्च, आइतबार २० मार्च, शनिबार २६ मार्च र आइतबार २७ मार्च सम्म चल्ने छ।
यस प्रतियोगितालाई क्रिकेट भिक्टोरिया, हार्मनी इन क्रिकेट एसोसिएसन र अन्य नेपाली सामुदायिक क्रिकेट क्लब तथा संघसंस्थाहरुको सहयोग रहेको छ ।
आइतबार २७ मार्चमा हुने ग्रान्ड फिनाले अघि बच्चाको क्रिकेट क्लिनिक सञ्चालन गरेर यसलाई पारिवारिक कार्यक्रम बनाउने लक्ष्य राखेको आयोजक क्लवका अध्यक्ष केशव सापकोटाले जानकारी गराउनु भयो।
प्रतियोगिताको विजेताले तिन हजार डलर र दोश्रो हुनेलाई एक हजार डलर नगद राशीको साथमा कप, पदक र प्रमाणपत्रको व्यबस्था गरिएको छ।