अष्ट्रेलियाका पूर्व क्रिकेटर शेन वार्नको निधन भएको छ ।५२ वर्षीय विश्वका सर्वकालीन लेग स्पनीरमध्ये एक मानिने सेन वार्नको थाइल्यान्डमा निधन भएको हो। उनी विदा मनाउन गएका बेला आफू सबेको भिल्लामा अचेत अवस्थामा रहेको उनको व्यवस्थापन कम्पनीले जनाएको छ ।
हृदयघातका कारण उनको निधन भएको आशंका गरिएको छ। ‘‘हलचल गर्न नसक्ने अवस्थामा आफ्नो कटेजमा सेन भेटिएका थिए र मेडिकल स्टाफको अथक प्रयासका बाबजुद पनि उनलाई बचाउन सकिएन,’’ विज्ञप्तिमा भनिएको छ।
सेन वार्नले २३ वर्षको उमेरमा भारतविरूद्ध १९९२ मा सिड्नीमा भएको अन्तर्राष्ट्रिय टेस्टमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उनले २००७ मा इङल्यान्डविरूद्ध सिड्नीमै अन्तिम टेस्ट म्याच खेलेका थिए। यसैक्रममा उनले टेस्ट क्रिकेटमा ७ सय ०८ विकेट लिएका थिए।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि उनले सन् २०१३ सम्म टी २० फ्रेन्चाइज लिग खेलिरहेका थिए। उनले सन् १९९९ को एकदिवसीय विश्वकप जितेका थिए भने १ सय ९४ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा २ सय ९३ विकेट लिएका थिए।