नेप्लीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) रजत जयन्ती मनाउने तयारीमा छ। रजत जयन्तिको तयारी गरिरहँदा वर्तमान अध्यक्ष राम गुरुङ सहित कार्यसमितिका सदस्यहरु र न्याभका संस्थापक सदस्यहरुबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ। गत २६ फेब्रुअरी, शनिबारका दिन भिक्टोरिया स्थित महावाणिज्यदूतको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा भिक्टोरियामा सबैभन्दा पहिले आउनुभएका नेपाली व्यक्ति भरणशेर राई लगायत न्याभ संस्थापकहरुको उपस्थिति रहेको थियो। उहाँहरुले न्याभ स्थापनाको सुरुवाती कथा, त्यतिबेला संस्था स्थापनाको उद्देश्य, न्याभको यात्रा तथा प्रगतीका बारेमा चर्चा गर्नुभएको थियो।
न्याभले रजत जयन्ती मनाउंदै गरेकोमा खुसी व्यक्त गर्दै उहाँहरुले आगामी दिनमा संस्था अझै प्रभावकारी ढंगले अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो।
सहभागी व्यक्तित्वहरुले न्याभको रजत वर्ष जयन्तीको तयारी गरिरहेको वर्तमान कार्यसमितिलाई विशेष धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभएको थियो।
उक्त भेटघाट कार्यक्रममा, न्याभका अध्यक्ष राम गुरुङले आफूहरु अग्रजको बाटो पछ्याउंदै हिंडेको र सधै उहाँहरुको सल्लाह-सुझावको आवश्यकता रहने बताउनुभयो।
सबै सँस्थापकहरूले आआफ्नो मनमा गुम्सेर बसेका ईतिहासका कथाहरू बडो भाबुकको साथमा ब्याख्या गरेका थिए । सबैजनाले एकले अर्कोलाई नभेटेको पनि सदियौँ भैसकेको थियो । यो भेटघाट कार्यक्रमले एउटा छुट्टै माहौल खडा गरेको थियो । पुरानो दिनको सम्झना दिलाउने त छँदैछ त्यसमा पनि २५/ ३० बर्षसम्म नभेटेका सहकर्मीहरूसँग यसरी भेटघाट गर्ने मौका जुराईदिनु भएकोमा न्याभका बर्तमान कार्यसमितिलाई सबैले आभार ब्यक्त गरे ।
न्याभले यसरी पुराना श्रष्टाहरूलाई एकैथलोमा भेटघाट गराएर सम्मान गरेकोमा न्याभका बर्तमान अध्यक्ष राम गुरूङको सबैले प्रशँसा गरे ।
रजत जयन्तीको अवसर पारेर न्याभले एउटा छोटो ऐतिहासिक डकुमेण्ट्री पनि बनाउँदैछ जुन डकुमेण्ट्री पच्चिसौँ बार्षिकोत्सवको कार्यक्रममा प्रस्तुत गरिनेछ । त्यसको निर्देशक सुशिल चालिसेले गर्नुहुनेछ भने क्यामरा तथा अन्य प्राबिधिक काम श्रीराम अर्यालले गर्नुहुनेछ ।
भिक्टोरियामा न्याभ स्थापना अगाडी नेपाली समुदायका केही अगुवाहरु मिलेर संगठन निर्माण गरिएको थियो, जसको नाम थियो ‘नेपलीज/गुर्खा कम्युनिटी’। सन् १९९४ को जुन १९ मा एक भेलाको आयोजना गरिएको थियो। उक्त भेलाले भिक्टोरियामा बस्ने नेपाली मूलका सबै व्यक्तिहरुलाई समेट्ने गरी संस्था खोल्ने बारेमा निर्णय गर्यो। जसमा पहिले नामाकारण गरिएको नेपलीज/गुर्खा कम्युनिटीलाई परिमार्जन गरी नेपलीज एसोसिएसन अफ भिक्टोरिया नामाकरण गरियो।
त्यतिबेला न्याभको पहिलो बैठकको माइन्युटमा न्याभको उद्देश्यको बारेमा भनिएको छ,” यस संगठनको मूख्य उद्देश्य भिक्टोरियामा बसोवास गरिरहेका र पछि आउने सबै नेपालीहरुको हितको निम्ति आवश्यक पर्ने कुनै पनि दायित्वलाई पूरा गर्ने हुनेछ। नेपालीहरुलाई संगठित गर्ने र संगठनमा रहेका कुनै पनि सदस्यलाई परि आउने समस्यालाई समाधान गर्ने यसको मूख्य दायित्व रहनेछ “।
उक्त बैठकले संस्थाको खाका र सदस्यताका लागि नियम पनि तोकेको थियो। जसमा संस्थामा अष्ट्रेलियाको नागरिकता लिएका तथा पीआर लिएका र पीआर नलिएका गरी दुई किसिमका सदस्यहरु छुट्टाइएको थियो। साथै सदस्यता लिनका लागि अन्य संस्थाको सदस्यता नलिएको हुनुपर्ने, कम्तिमा तीन महिना भिक्टोरियामा बसोवास गरेको हुनुपर्ने नियम तोकिएको थियो।
उक्त बैठकले संस्थाको नीति निर्माणका लागि समिति गठन गरेको थियो। उक्त समितिमा नगेन्द्र शाह, नेत्र खड्का, चक्र बहादुर तामाङ्ग, प्रदीप प्रधान र चन्द्र योञ्जन रहनुभएको थियो। त्यसैगरी कानूनी सल्लाहकारको रुपमा सुरेन्द्र श्रेष्ठलाई नियुक्त गरिएको थियो।
उक्त सल्लाहकार समितिले नीतिको खाका पेश गरिसकेपछि संस्थाका लागि अन्य कदम चाल्ने सहमतिका साथ बैठक टुङ्गिएको थियो।कार्यक्रममा चन्द्र बहादुर तामाङ्ग, भरनशेर राई, प्रदीप कुमार प्रधान, परशुराम तामाङ्ग, टिम नारायण तिवारी, मिलन श्रेष्ठ, रजनी श्रेष्ठ, निर्मला शाह, प्रबिक बस्न्यात, दीपक अर्याल आनन्द थापा, मदन ढुंगेल, प्रमिता ढुंगेल, डा.शेष घले, श्रीजन ज्ञवाली, दीपिका शेरचन, नीता पोखरेल, विजय बहादुर गुरुङ, रन्जन कोइराला, डा नगेन्द्र शाह, समित श्रेष्ठ, अशोक खतिवडा, नेत्र खड्का, राज अमात्य, जुम बहादुर गुरुङ, मंगल लामा, धन बहादुर तामाङ्ग, ए बस्नेत, लोकदर्शन लामा, चन्द्र योञ्जन, राजन शर्मा, प्रदीप लम्साल, भुपाल केसी लगाएत लव्ध प्रतिस्ठीत व्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो।