नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशीले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने नियम जारी गरेको छ। राष्ट्र बैंकले आइतबार सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएकाले त्यसमा संलग्न नहुन निर्देशन दिएको हो ।
सुचनामा भर्चुअल तथा क्रिप्टोकरेन्सीसम्बन्धी कसैले कारोबार गरेको पाइएमा कारबाही गरिने जनाएको छ।
छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल तथा क्रिप्टोकरेन्सीको कारोबार र त्यससँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र गराउन प्रोत्साहन गर्ने गराउने गरेको सूचना पाइएको बैंकले जनाएको छ।
राष्ट्र बैंकले एक विज्ञप्ति जारी गर्दै जोसियल क्राउड १, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुने वा गराउने कार्य पनि गैरकानुनी रहेको जनाएको छ। त्यसरी कारोबार गरेको पाइएमा कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरे, गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ।’