अष्ट्रेलियाको अदालतले टेनिस खेलाडी नोभाक जोकोभिकलाई अध्यागमन हिरासतबाट रिहा गर्न सरकारलाई आदेश दिएको छ ।
अदालती आदेशपछि अब जोकोभिक अष्ट्रेलियामै रहन पाउनेछन् । यसैसाता अष्ट्रेलिया सरकारले जोकोभिकले खोप प्रोटोकल पालना नगरेको र उनले अष्ट्रेलिया छाड्नुपर्ने निर्णय गरेको थियो । सरकारको निर्णयलाई जोकोभिकले कानूनीरुपमा चुनौति दिएका थिए ।
न्यायाधीश एन्थोनी केलीले ३० मिनेट भित्र जोकोभिकलाई हिरासतमुक्त गर्न र राहदानी तथा कागजात फिर्ता गर्न आदेश दिएका हुन् । अदालतको आदेशपछि अष्ट्रेलियन ओपनमार्फत २१ औं पटक ग्रान्डस्लाम टाइटल जित्ने उनको आशा पलाएको छ ।
गत बिहीबारदेखि जोकोभिक सरकारको डिटेन्सन होटलमा थिए । उनका वकिललाई भर्चुअलमाध्यममार्फत पैरवी गर्न अनुमति दिइएको थियो । २० पटक ग्राण्ड स्लामको उपाधि जितिसकेका उनले थप कीर्तिमानका लागि खेलमा फर्कन पाएका हुन् ।