बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ को उपाधी सेफ सन्तोष साहले जितेका छन्। सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘रिम्याच’ को उपाधि हात पारेका हुन् । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरू सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।
सन्तोषले कुखुराको तिते, मालपुवा, अनानस बुनिया, सौंप आइसक्रिम, विभिन्न सात प्रकारका तरुवा, तिलौरी बिरिया, भात, मासको दाल, पोलेको कटहर लगायतका १८ प्रकारका विशुद्ध मौलिक नेपाली परिकारहरू पस्केका थिए । आफ्नी आमाले बनाएर खुवाएको खानेकुरालाई नै परिस्कृत गर्दै प्रतियोगितामा सहभागी भएका थिए । करिब पाँच महिना नेपाल बसाइमा क्रममा आफूले बटुलेका नेपाली खानाको अध्ययनको आधारमा यस पटकको प्रतियोगितामा सहभागी भएको सन्तोषले बताए ।
बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘ ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा उनी उपविजेता बनेका थिए । यसअघि पनि निर्णायक मण्डलको मन जित्न सफल सन्तोषले यसपटक मन मात्रै जितेनन् आफूलाई विजयी बनाउन समेत सफल भए ।
यसअघिको कार्यक्रममा सन्तोषले फाइनलसम्म पुग्दा अक्टोपस, जिम्बुले मोलेको पोलेको खसीको मासु, रायोको साग, पुदिना पराठा, सांधेको भटमास, क्रिस्पी प्याज, पुरी, भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा, गंगटाको ‘करी’ टिमुर स्पाइस्ड् अक्ट्पस वीथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार जस्ता मौलिक नेपाली परिकारलाई नेपाली खानाको रुपमा प्रदर्शन गरिसकेका छन् ।