नेपालको चर्चित ब्राण्ड गोल्डस्टारका जुत्ताले नेपालपछि भारत, अष्ट्रेलिया, जापान र कतारमा ठूलो चर्चा प्राप्त गरेपस्चात अब अमेरिकी बजारमा बिक्री बितरणका लागि किरण सुज म्यानुफ्याक्चरर्सले सोमबार विशेष कार्यक्रमको आयोजना गरी अमेरिकामा आधिकारिक वितरक नियुक्त गरेको छ । अधिकांश नेपाली घरहरूमा सस्तो तर टिकाउ जुत्ता ल्याउने सपना अनुरुप किरण सु म्यानुफ्याक्चरर्सले सन् १९९० देखि गोल्डस्टार जुत्ताको निर्माण गर्न थालेको थियो । यी सुलभ मूल्यका जुत्ताहरू तुरुन्तै नेपालमा सबैभन्दा लोकप्रिय जुत्ता बन्न पुगेका हुन् । विस्वव्यापी डिजाइनहरू नेपालमा प्रवेश गरेपछि गोल्डस्टारले पनि सजगतापूर्वक आफ्ना डिजाइनहरू पुनरावलोकन गरी नयाँ डिजाइनहरू प्रस्तुत गर्न शुरु गरेको छ ।
काठमाण्डौंका बिभिन्न कार्य इकाइमा ३,००० भन्दा बढी कामदारहरु मार्फत बिगत ५ बर्षदेखि वार्षिक २५-३५ प्रतिशतका दरले उत्पादन बढाउँदै आएको यो कम्पनीले दैनिक ७५,००० भन्दा बढी जोर जुत्ता उत्पादन गर्ने गर्छ र गोल्डस्टारलाई २०२५ सम्ममा हरेक महादेशमा पुर्याउने लक्ष लिएको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष अमिर प्रताप जबरा र कार्यकारी निर्देशक विदुषी राणा उपस्थित थिए । कार्यक्रममा ग्रेटर न्यु योर्क चेम्बर अफ कमर्सका अध्यक्ष ज्याफले गोल्डस्टारलाई अमेरिकामा स्वागत गर्दै यसले अमेरिकीहरूको मन जित्ने कुरामा विस्वस्त हुँदै उपभोक्ताहरूका लागि आरामको एक जुत्ता किन्नु नै पहिलो चाहना भएकोले यो चाहना गोल्डस्टारले पुरा गरे नाइकी जस्तै ब्रान्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने बताए ।
महिलाहरुलाई गोल्डस्टार फ्याक्ट्रिमा निःशुल्क तालिम दिएर रोजगार दिने गरिएको गोल्डस्टारको फ्याक्ट्रिमा ६० प्रतिशतभन्दा बढी महिलाहरु छन् । महिला श्रमिक धेरै रहेको गोल्ड स्टारको कार्यकारी निर्देशक विदुषी राणा यो सफलता महिलाहरुको समेत सफलता भएको बताउँछिन् ।
नेपाली उत्पादनलाई यसरी विस्व बजारमा सफलताका साथ बिस्तार गर्न सफल भएको किरण सुज म्यानुफ्याक्चरर्स र कम्पनीका अध्यक्ष अमिर प्रताप जबरा र कार्यकारी निर्देशक विदुषी राणालाई सफलताको लागि हार्दिक बधाई र २०२५ सम्ममा हरेक महादेशमा पुर्याउने लक्ष रहेको छ।
News Source: Ram Kumar Shrestha (Lumbini Kapilvastu Day movement Global Coordinator)
#Goldstar