eNepal

नेपाल पुग्यो साफ च्याम्पियनसिपको फाइनलमा

नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । बुधबार मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १-१ को बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो ।

पहिलो हाफमा सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । दोस्रो हाफमा उच्च प्रदर्शन गरिरहेका बंगलादेशका गोलरक्षक अनिसुर रहमानले रातो कार्ड खाएपछि नेपालले खेलमा फर्कने अवसर पाएको थियो । अन्जन विष्टले ८६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरेका थिए ।

यस बराबरीले नेपालको ४ खेलमा ७ अंक भएको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । बराबरीले भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।

खेलको दोस्रो मिनेटमा नै बंगलादेशका टोपु बर्मनले नवयुग श्रेष्ठलाई पेनाल्टी क्षेत्रको ठिक बाहिर लडाएपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । उक्त फ्रिकिकमा सुजल श्रेष्ठले पोस्टतर्फ प्रहार गर्न सकेनन् । लगत्तै दुवै टोलीले आक्रामक प्रस्तुति गरेपनि गोलरक्षकलाई समस्या दिन सकेनन् ।

खेलको आठौं मिनेटमा बंगलादेशले खेलमा अग्रता लियो । सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाए । जमाल भुयाँले बायाँ विंगबाट प्रहार गरेको फ्रिकिक वालमा लाग्दै ६ यार्ड बक्सभित्र अनमार्क रहेका सुमनले गोल गरेका थिए ।

१५ औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने सुन्दर अवसर खेर फाल्यो । गौतम श्रेष्ठले पेनाल्टी क्षेत्रको दायाँ भागबाट कटब्याक गर्दै ६ यार्ड बक्सनजिक रोहित चन्दलाई पास दिएका थिए । तर अनमार्क रहेका रोहितले बललाई पोस्टको दिशा दिन सकेनन् ।

३२ औं मिनेटमा अन्जन विष्टको क्रसमा आयुष घलानको प्रहारलाई डिफेन्डर टोपुले क्लियर गर्दै खतरा टारेका थिए । ४२ औं मिनेटमा रोहितको क्रसमा दिनेशको हेडरलाई बंगलादेशका अनिसुर रहमानले सहजै बचाए । इन्ज्युरी समयमा रोहिकै क्रसमा आयुषको हेडरले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको ५२ औं मिनेटमा बंगलादेशका गोलरक्षक अनिसुर पुन: नेपालको प्रयासमा बाधक बने । अनन्तको हेडरपछि आयुष घलानको अन्तिम प्रहारलाई उनले उत्कृष्ट बचाउ गरे । खेलको ५५ औं मिनेटमा नेपालका कप्तान किरण चेम्जोङले वन भर्सेस वनमा उत्कृष्ट बचाउ गर्दै खेलमा नेपालको सम्भावना कायम राखे । काउन्टर अट्याकमा सुमनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार किरणले विफल पारेका थिए ।

६४ औं मिनेटमा सुमन रेजाको प्रहारलाई गोलरक्षक किरणले सहजै बचाए । लगत्तै अर्कोतर्फ नवयुगको हेडरमा बंगलादेशका गोलरक्षक अनिसुर बाधक बने । ७० औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा रोहितको हेडर पोस्ट नजिकबाट बाहिरिंदा नेपाल बराबरी गर्नबाट चुक्यो ।

खेलको ७९ औं मिनेटमा बंगलादेशका गोलरक्षक अनिसुरले रातो कार्ड पाए । पेनाल्टी क्षेत्र बाहिर आएर अन्जनको प्रहारलाई हातले रोकेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । ८२ औं मिनेटमा सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई वैकल्पिक गोलरक्षक अशरफुल रानाले विफल पारे ।

८६ औं मिनेटमा अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा अन्जनले गोल गरेका थिए । इन्ज्युरी समयमा मनिषले गोल गर्न चुक्दा नेपाल अग्रता लिनबाट बन्चित भयो ।

आजको खेलमा गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुजल श्रेष्ठ खेलेका थिए । मिडफिल्डमा विशाल राई र तेज तामाङलाई रोहित चन्दले साथ दिंदा आक्रमणमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान रहेका थिए ।

मिडफिल्डर पुजन उपरकोटीको नाम सुरुवाती ११ मा रहेपनि वार्मअपका दौरान घाइते भएपछि उनको स्थानमा विशाल राईले सुरुवाती रोजाइमा खेलेका थिए । दोस्रो हाफको ६० औं मिनेटमा विशाल राईको स्थानमा सुमन लामा मैदान प्रवेश गरेका थिए । ७४ औं मिनेटमा सुमन अर्याल र मनिष डाँगी मैदान प्रवेश गर्दा आयुष र सुजल बाहिरिएका थिए । ८५ औं मिनेटमा आशिष लामाले गौतमको स्थान लिएका थिए ।

Related posts

विस्वभर फैलाउने योजना अनुरुप नेपाली गोल्डस्टार जुत्ता अमेरिकी बजारमा

Manoj Poudyal

मेल्बर्नमा बिहीबार रातीबाट लकडाउन हट्दै, १० जना सम्म घरमा आउन मिल्ने

Manoj Poudyal

फाइनलमा नेपाललाई पराजित गर्दै भारत बन्यो आठौं पटक साफ च्याम्पियनसिपको विजेता

Manoj Poudyal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा १८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Manoj Poudyal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा १९९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Manoj Poudyal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा २१७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Manoj Poudyal