eNepal

श्राद्ध सम्बन्धि केहि वैदिक सनातन नियम

आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ ।

“कुनै कारणवश पिताको तिथिमा श्राद्ध रोकिएमा अष्टमी, द्वादशी वा औँशीमा श्राद्ध गर्नुपर्छ, औँशीमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म गर्नुहुन्छ, त्यसबीचमा पनि गर्न नपाए कार्तिक कृष्ण औशीमा गर्नुपर्छ, यस दिन पनि गर्न नमिल्ने भयो भने सूर्य वृश्चिक राशि (मङ्सिर १ गते) मा जानुअघि जुराएर गर्नुपर्ने शास्त्रीय वचन छ । 

तिथिका दिन रोकिएपछि गरिने श्राद्ध नन्दा तिथि अर्थात् प्रतिपदा, षष्ठी र एकादशी पारिनु हुन्न। सूर्य वृश्चिक राशिमा जानुअघिसम्म दिवङ्गत पितृ पितृलोकबाट मर्त्यलोकमा झरेर पिण्डदानको आशाले सन्तानको घर वरपर घुमेर बस्छन् भन्ने शास्त्रीय वचन छ । यस समयमा श्राद्ध नगरे पितृले सराप्दै फेरि पितृलोकमा फर्कन्छन् । यो समयमा श्राद्ध नगरे दोष (प्रत्यवाय) लाग्छ। 

आश्विन कृष्ण पक्षलाई महालय, अपर, पितृ र प्रेत पक्ष पनि भनिन्छ ।पार्वण श्राद्धको समय सोह्र श्राद्धपर्वमा गरिने भएकाले यस श्राद्धलाई पार्वण भनिन्छ । पार्वण श्राद्ध गर्ने समय पनि शास्त्रले निर्दिष्ट गरेको छ । सूर्योदयदेखि सूर्यास्तसम्मको समयलाई दिनमान भनिन्छ । 

दिनमानलाई पाँच भाग लगाइन्छ । पहिलो भागलाई प्रातः, दोस्रोलाई सङ्गव,(पूर्वान्ह), तेस्रोलाई मध्याह्न, चौथोलाई अपराह्न र पाँचौँ भागलाई सायम् काल भनिन्छ । महालय श्राद्ध अपराह्नकालमा गरिनुपर्छ । चौथो भागमा पिण्डदान गर्ने गरी श्राद्ध गर्नु पर्दछ भन्ने शास्त्रीय भनाइ छ  । पितृको मृत तिथिमा गरिने एकोद्दिष्ट श्राद्ध तेस्रो भाग अर्थात् मध्याह्नकालमा गरिनुपर्छ ।

अपराह्नकालमा शुरु गरेर सायम् कालसम्म गए पनि फरक पर्दैन तर मध्याह्नकाल वा त्यसभन्दा अघि नै भने सोह्रश्राद्ध गर्नु हुँदैन । 

शास्त्रले निर्देश गरेको समयमा नगरे श्राद्धको फल प्राप्त हुँदैन भन्ने शास्त्रीय मान्यता छ ।एक घरमा श्राद्धको टीका लगाएको ब्राह्मणले अर्को घरमा लगाउनुहुँदैन । अर्को टीका लगाएको ब्राह्मण देखे पितृले श्राप दिन्छन् । 

यस्तो भएमा  श्राद्धको फल प्राप्त हुँदैन । धेरै घरमा एकै ब्राह्मणले श्राद्ध गर्ने र बिहानैदेखि सोह्रश्राद्ध गर्नु शास्त्रविरुद्ध रहेको छ । तीर्थ श्राद्धबाहेक अरुमा भने पायसकै पिण्ड दान गरिनुपर्छ ।चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । 

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एकापार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली श्राद्ध जस्ता श्राद्ध प्रचलित छन् ।

यस अवसरमा काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाट, त्रिवेणी , मुक्ति क्षेत्रबाट बहने कृष्ण नदीको किनार कागवेनी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धाभावसाथ श्राद्ध गर्नेको भीड लाग्छ ।

आफ्नो घरभन्दा बाहिर बसेकाहरूले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैँ शुरु हुन्छ

लेखकः विमल  आचार्य 

ठेगाना – १) फकनर , मेलवर्न 

              २) जिलोङ, भिक्टोरिया, अष्ट्रेलिया

समर्पित संस्थाको नाम – ब्रह्म गायत्री कर्मकाण्ड सेवा ,भिक्टोरिया,अष्ट्रेलिया 

ए.वि.एन – ९९६४४१८७३६७(99644187367)

शैक्षिक योग्यता – स्नातकोत्तर तह ( एम.ए – पूर्वीय काब्यशास्त्र/संस्कृत , 

एम .एड-नेपाली भाषा शिक्षण ) 

त्रिभुवन विश्व विद्यालय , नेपाली केन्द्रीय विभाग , कीर्तिपुर 

-स्नातक तह (वि .वि. एस-वाणिज्य विभाग )

अनुभव – त्रिभुवन विश्व विद्यालय ,कीर्तिपुर , अन्तर्गत रहेका आंगिक सरकारी कलेजमा 

उच्च माद्यमिक परिषद् , भक्तपुर , अन्तर्गत रहेका निजी कलेजहरूमा एक दशक अध्यापन 

पद – उप प्राध्यापक

संलग्न -बोडिड. तथा उच्च माद्यमिक विद्यालय अन्तर्गत रहेका केही शैक्षिक संस्थाका संस्थापक  ,  निर्देशक पदमा एक दशक भन्दा बढीको समयावधि ।

Related posts

विदेशमा रहेका नेपालीले पनि क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने नियम लागु

Manoj Poudyal

चितवनमा बन्दै गरेको सडकको नालीमा परेर एक गैंडाको मृत्यु

Manoj Poudyal

एमाले अध्यक्ष ओली दम्पत्ती लगाएत प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना सङ्क्रमण पुष्टि

Manoj Poudyal

अध्यागमन विभागद्वारा नेपाल आउजाउ गर्नेको लागि लागु गर्यो नयाँ नियम

Manoj Poudyal

सरकारले भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक

Manoj Poudyal

कलाकार नआएपछि सुनसरीको बर्जु महोत्सवमा तोडफोड र आगजनी

Manoj Poudyal