सुबाश मिश्र । तास्मानिया
अस्ट्रेलियाको विभिन्न शहरहरुमा लकडाउनले नेपाली महिलाहरुको महान चाड हरितालिका तीज परिवार र नजिकका आफन्तहरुसँग सिमित गराए पनि तास्मानियामा भने स्थिति भिन्न रह्यो । मुख्य शहर होबार्ट लगायत यसपटक लनचेस्टन, डेवनपोर्ट र बर्नीका स्थानिय नेपाली समुदायहरुले तीजको अवसरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरे । प्राय: सबै आयोजित कार्यक्रमहरु एनआरएनए तास्मनिया र नारी निकुञ्जको सहकार्य र समन्वयमा भएको थियो भने होबार्ट लगायत अस्ट्रेलियाका मुख्य शहरहरु मेलबर्न सिड्नीका व्यबसायहरुले प्रायोजन समेत गरेका थिए ।
दिदीबहिनीको पर्व भएकाले नारी निकुञ्जले राज्यका विभिन्न समुदायले गरेका तीजका कार्यक्रमहरूलाई सकेजति आर्थिक सहयोग गरेको र आफैं उपस्थित भएर हौसला र शुभकामना दिएको जानकारी नारी निकुन्जकी उपसंयोजक आरजु रिजालले दिईन् । सपरिवार कुनै कार्यक्रम नछुटाएकि रिजाल समुदायमा यसरी घुलमिल हुन पाउँदा मक्ख देखिन्थिन् ।साथमा एनआर एनए राज्य समितिका पदाधिकारीहरु प्राय सबै कार्यक्रममा पुगि शुभकामना तथा हौसला प्रदान गरेका थिए । संयोजक राकेश शाक्यले परम्परा र रीतिरिवाजलाई बिदेशी भूमिमा यसैगरि निरन्तरता दिदै जाने आफुहरुको उदेश्य भएको र यस्ता कार्यक्रमहरुले थप जिम्मेवारी थपिएको आभास मिलेको बताए ।
होबार्टमा अन्तिम कार्यक्रम
यसैबिच नेपाली समाज तास्मानिया र नारी निकुञ्ज तास्मनियाले तीजको दिन पारेर सेप्टेम्बर ९ मा होबार्टमा पूजा तथा तीज मेलाको आयोजना गर्यो । व्रत बस्ने दिन भएकाले यो कार्यक्रम अन्य कार्यक्रम भन्दा फरक देखिन्थ्यो । व्रतालुहरु तीजको पुजा-अर्चना कार्यक्रममा सहभागी भएका थिए भने पुजारी मार्फत बिशेष पुजाका लागि समय मिलाईएको थियो । पुजामा सहभागी नारी निकुञ्ज तास्मानियाकी संयोजक प्रणिता राई पन्तले विशेष दिन आयोजना गरिएको यस कार्यक्रमले दिदीबहिनीहरुलाई परम्परानुसार व्रत बस्न, पूजाआजा गर्न र साथमा नाचगान गर्न एकै साईत जुरेकोले उपस्थित व्रतालुहरु खुसि भएको बताईन् । कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेको थियो।