eNepal

हैन! यो अस्ट्रेलीयामा पैसा कमाउने कसरि होला

२० घण्टा काम गरेर कसरि कमाउने हो पैसा दाई। पैसा कमाउन अस्ट्रेलीया जान पर्छ भन्छन् त नेपालमा। २० घण्टा कमाएर खानु कि, कलेजको फि तिर्नु कि, कोठा भाडा तिर्नु कि। खाजा खानु कि। फोनको पैसा तिर्नु की बिजुली, बत्ती र पानीको पैसा तिर्नु ति।के चाँही तिर्नु।हैन कसरी कमाउने हो के पैसा अस्ट्रेलीयामा।

भाईको फोन आउँछ- दाई म पनि आउन पर्यो त्यतै। यहाँ केही होला जस्तो देखिन, हातमा सर्टीफिकेट मात्रै भए। कामको लागि कति ठाउँ निवेदन दिएँ। कामको लागि दर्खास्त आवेदन खोल्छन् अनि फारम भरेर अन्तरबार्ता दिन गयो।पहिल्यै पद पुर्ती भईसकेको हुँदो रहेछ कि खै। कहिलै कसैले काँही लिएनन्, खाली रिजेक्ट भैयो।खै ममानै कम्जोरी थियो कि के हो पत्तै पाईएन।कसैले भनेनन् किन पास भईनस् भनेर, बरु यसो प्रतीकृया दिएदेखी अर्को चोटीलाई तयारी गर्नु हुन्थ्यो तर अहँ कारण कसैले खुलाएनन्। त्यही भएर बरु बिदेश पो आउने निर्णय गरियो हौ दाजु।
मैले जवाफ दिए- ए हुन्छ नि त। बुझ न त कन्सल्टेन्सी तिर गएर अनि म पनि बुझ्छु। तर बिदेश तैले नेपालमा देखेको, सुनेको अनि हेरेको जस्तो चाँही छैन है। यहाँ सु:ख खोज्दा खोज्दै दिन, महिना अनि बर्ष बितेको पत्तै पाईन्न।फेरी भन्लाउ के बिदेस जानेहरुचाँही सव दु:ख गरेर बसेका छन् त।अनि के फिलीङ रिल्याक्स, हेप्पी, होलीडे मुड, सेलीब्रेटीङ पार्टी भनेर मात्र फेसबुकमा पोस्ट गर्छन् त!

खै दाई अरु कुरा थाहा भएन मलाई जसरी पनि हजुर भएको ठाउँ आउनु पर्यो। मैले दोहोराएँ ल ल बुझ्न। के पढ्न आउँछस्, कुन कलेजमा आउँछस्।सबै बुझ अनि खबर गर्न।
केही दीन पछि फेरी फोन गर्छ अनि सोध्छ। के मा आउँदा ठिक होला।फि के कस्तो छ। पि आर पाईने चान्स कस्तो छ। मैले भने प्राय बिधार्थीहरु आउने कि त एकाउन्टीङको हो, कि त आईटीमा नै हुन। त्यो तेरो रुची केमा छ। हेर म जिव्रो लुकाएर बोल्दीन, सक्छस् भने एक बर्षको फि त्यहिबाट तिरेर आईज, अलिक हल्का हुन्छ।अनि पिआर भनेको पछिको कुरा हो। पहिला कागजहरु बना, एप्लाई गर, भिषा लागोस,अनि यहाँ आईज,पढ,पढाई सका अनि पिआर भनेको सहि बाटोमा हिढीस भने पाईहाल्छस् नि। हुन्छ दाई मसबै बुझेर फेरी फोन गर्छु नि भन्दै भाई मख्ख पर्दै फोन राख्छ।

केही दिनको अन्तरालपछि पुन: फोन गर्छ ओ हो दाई पैसा त धेरै पो लाग्ने रहेछ। घरमा हुने भनेको त्यस्तै हो। बा आमा बरु यतै बस केही व्यबसाय गर।परदेशको ठाउँ के छ,कस्तो छ। सिन्को नभाचेको, बाउआमालाई दङ्गाई दङ्गाई खाको।कामगर्न सक्छस या सक्दैनस्। अर्काको देश,तँलाई कठै बिचरा भन्ने पनि कोही हुन्नन्। भो यतै बस पर्दैन जान भन्नु भयो। मैले त झगडा गरें। यहाँ बसेर के गर्नु। जे सुकै होस म त जाने हो। साथीहरु बिदेस गएर क्या मोज गरेका छन्। क्या बबाल बबाल फोटो हाल्छन्। हैन म त जसरि पनि जाने हो भने। अनि ल ल भिरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ तर काँध हाल्न सकिदैन भन्दै ल ल जा पछि दुख पाएँ अक्डम्बक्डम चाँहि नभन्नु नि। मैले नि झर्किदै हुन्छ भने। ए ठिकै छ नि।अव म नि के भनम् तिमीले सोचेको जस्तो स्वर्ग चाहि छैन।

यत्ती भन्दै गर्दा भाईलाई विदेश आउने भुतले नराम्ररी समाई सकेको रहेछ। पैसाको चाँजो पाँजो मिलाउन बुवा र आमालाई धपेडी भएको अवस्था थियो। सामान्य परिवार कोही कसैको घरमा नि २०-२५ लाख हुन्न। साथी भाईले नि पत्याउने भनेको १-२ लाख हो। बाध्य भएर राम्रो धान उव्जाउ हुने खेतलाई धितो राखेर रकम जुटाएर जसो तसो छोरोको विदेस जाने सपनालाई पुरा गर्न आतुर थिए बाबा आमा।हेर छोरा तेरो भविष्य राम्रो होस्, दु:ख कत्ति पनि नगरेको त, अर्काको देश गए पछि तँलाई कठैबरा भन्ने कोही पनि हुन्न। बिचार गर्नु। भोली दु:ख पाईस भने हामीलाई नभन्नु।तलाई नपुग्दो के नै थियो र। भनेको सबै पुर्याएका थियौं। फेरी झर्किदै ह्या ममी- उता साथीहरुले कस्तो प्रगती गरेका छन्। हेर्नु त यहाँ पैसा भएर पनि हरेक कुराको अभाव छ। कति दिन अन्धकारमा बस्ने, कति दिन राजनीतिक पार्टीका खोक्रा भाषण र आश्वासन सुनेर बस्ने। कति दिन गुन्डागर्दीको त्राही त्राहीमा बस्ने। सम्पती हुनेलाई मार्छन् कि भन्ने पीर, नहुनेलाई भोक भोकै मरिन्छ भन्ने पीर।

केही समयको अन्तरालपछि भाईले खुसी हुँदै फोन गर्छ। दाई भिषा आयो। मानौ कि उसको लागि त्यो भन्दा खुसीको क्षणनै त्यही थियो। सन्सार जिते जसरी मख्ख थियो। अनि हतारोमा थियो कि पिन्जडाबाट उन्मुक्ती पाए जस्तो।

दुईहप्ता पछि भाई आउँछ। म लिन एयरपोर्ट जान्छु।  फरक शोच, फरक परिवेश, फरक हावा पानी, फरक शैली, फरक रहनसहन । हामी बस्ने घर तिर हुईकन्छौ। उसले तुलना गर्न थाल्छ नेपाल र अस्ट्रेलिया।फराकिला बाटा, झिलीमिली शहर, नियममा बाँधिएका मानिस। हैट कहिले बन्छ होला मेरो देश यस्तो।

मैले भने देश आफै बन्दैन भाई, जब सम्म देशलाई मायाँ गर्ने व्यक्तीको हातमा देश चलाउने अभिभारा आउँदैन देश कदापि बन्दैन या बनाउन चाहानेलाई पनि टिक्न दिदैनन्। यहि बिडम्बना छ हाम्रो देशको। नियम कानुनको मात्र पालना गर्ने हो भनेपनि देश बन्न धेरै समय कुर्नु पर्दैन। तर नेपाल बिग्रेको त मनपरितन्त्रले भन्दै गालीका स्वरहरु निकाल्न थाल्छ। यत्तिकैमा हामी घर आईपुग्छौ।

१२ घन्टाको लामो हवाई यात्राले होला थकित थियो भाई। खाना खाएर सुत्यो भोलीको सुन्दर सपनाका महलहरु ढड्याउने नयाँ जोस र उमङ्गमा।
मेल्बोर्न शहर हेर्दा लाग्छ रहर भने जस्तो एक दुई दिन रमाईलोसँग घुम्यो। साँझ घर फर्किन्थ्यो अनि दिउँसो भरिका घुमेका घटनाहरुको बिवरण सुनाउँ थियो। म पनि चासो दिएर सुन्दीन्थे। आलोकाँचो बेला अनि रहर र ईच्छाहरु असिमीत रहेका त्यो पल। पहिलो रहर आईफोन लिने रहेछ।मैले भन्नु भन्दा अगाडी आफैले ल्याएर शहरका फोटोहरु देखाउन थाल्यो। समुन्द्रका किनारका फोटाहरु थिए। म जस्तै त हो नि मेरा नि थिए ती रहरहरु। ठिकै छ यहि हो रमाईलो गर्ने भनेर केही नि भनिन।

यसरि घुम्दै दिन र हप्ता बिते।घरबाट ल्याएको पैसा पनि सकिदै गयो। अनि अनुहारमा तनाबका छायाँहरु देखिन थाल्यो। कामको क पनि उचारण नगरेको भाईले एक्कासी दाई काम खोज्दीन पर्यो भन्यो। मैले पनि तिम्रो रेजुमे बनाउ एउटा राम्रो। काम के र कस्तो प्रश्न नगर। शहर तिर रेस्टुरेन्टहरु टन्नै छन्। गएर बाड्नु। पछि तिनीहरुले फोन गर्छन्। भाई जान्थ्यो बिहान सबेरै। अनि अोठ पलेटी पारेर साँझ झिस्मीसेमा फर्किन्थ्यो खिनौरो मुख पार्दै। दाई कसैले बोलाएनन्। यति धेरै ठाउँमा रेजुमे बाँडे तर खै कसैले बोलाउदैनन् त। गार्हो रहेछ काम पाउन। मैले भने कहाँ सजिलो छ भाई बिदेशको जिन्दगी। नेपालमा सोचेको र छोरा छोरीले दुख गरेर पठाएको पैसामा रमाईलो गरेको जस्तो छैन नि बिदेश। थाहा पायौ नि कतिको मोज रहेछ। खुब कुर्लन्छन् नि क्या मोज छ है तलाई भन्दै। यो त तिम्रो शुरुवात हो। अव बल्ल लगामको घोडा हिड्छ।कतिको दौडाउन सक्छौ त्यो तिमीमा भर पर्छ। मैले चिनेको एउटा खैरेको रेस्टुरेन्ट छ। म साहुलाई कुरा गर्दीन्छु। खै के भन्छ।
नभन्दै साहुले भोली ट्रायलमा पठाईदे न त भन्यो। मैले भोली सवेरै जानु। यहाँका खैरेलाई काम चाहिन्छ। लोसे पाराले काम नगर्नु। छिटो गर्नु तर राम्रो गर्नु भनेर सम्झाएँ।
भोली पल्ट गयो भाई पहिलो चोटी काम गर्न। साँझ अलि ढीला घर आयो। मैले भने काम कस्तो भयो। भाई निनौरो पारामा खै दाई हान्न त दर्हो हानियो।एकछिन पनि नबसि कन। खै बोलाउँछ होला। ए त्यसो भए बोलाउँछ होला। एक्छीनमा त्यो साहुले फोन गर्यो। सरि माईट हि ईज भेरी स्लो।मैले नो वरीज भनेर फोन राखे अनि भाईलाई भने।खै भाई नराख्ने रे। काम सुस्त भयो रे। निदौरो अनुहार लिएर खस्रक्क पर्दै सुत्न गयो।

एकजना साथी जो सार्है मेहीनेती थिए। उसको आफ्नै व्यापार थियो। पहिला खैरेहरुसँग काम गर्थे। काम गार्हो भए पनि उ भित्र विश्वास थियो, म सिक्छु र यो ब्यापारलाई आफै संचालन गर्छु। पैसापनि राम्रो हुने घरको छाना र झ्याल सफा गर्ने काम। शारीरिक रुपमा अलीक कठिनाई भए पनि आयस्रोत राम्रो थियो। उसलाई फोन गरेर एउटा भाई छ, तिम्रोमा काम छ भने राख्देउन भनेको भोली देखी पठाई दिनुन भन्यो। मैले हतार हतार भाईलाई भोली सबेरै जानु भनेर साथीको नाम, ठेगाना दिएँ।
कति खेर उठेर गएछ थाहा पत्तो पाइएन। म पनि आफ्नो कामको लागि हिँडे। दिउँसोको खाजा खाने समयमा फोन गरे। के छ भाईको स्थिती बुझ्नलाई। भाईले हौसीदै जवाफ दियो दाई म घरको छाना माथि ठुलो मेसीनको प्रयोग गरेर पैसा टिप्दैछु।सार्है सजीलो रहेछ पैसा टिप्नलाई। आमा बाउलाई दङ्ग्यार खाएको झल्झली सम्झिदै छु। बिहान दुई टुक्रा पाउरोटी चपाएबाट केही खाएको छैन। के यस्तै हो परदेसको जिन्दगी?

पुन: दोहोरायो हैन! यो अस्ट्रेलीयामा पैसा चाँहि कमाउने कसरि होला !!!

लेखक: मनोज पौड्याल

For more information please like eNepal

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal