काठमाडौँ, साउन-२०। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुको बैठक बोलाउनु भएको छ।
बिहान ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बस्ने बैठकले पार्टी एकता र सरकारबारे धारणा तय गर्नेछ । पछिल्लो समय स्थायी कमिटीका अधिकांश सदस्य पार्टी एकताको पक्षमा छन् । नेपालले पार्टी एकता बचाउन अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने दबाबकाबीच बैठक बोलाउनुभएको हो।
कार्यदलमा रहेका नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले समेत जुनकुनै हालतमा एमालेमै रहनुपर्ने भनेका बेला नेता नेपालले केन्द्रीय सदस्यसँग छलफल गर्न चाहेको बताउनु भएको थियो। पार्टीभित्र देखिएको विवाद समाधान गर्न बनेको १० सदस्यीय कार्यदलले अध्यक्ष ओली र नेपालबीच मंगलबार छलफल गराउने प्रयास गरेका थिए । तर, नेता नेपालले भने आज केन्द्रीय कमिटीको बैठक राखेर केही निर्णय गराउने प्रयास थालेको नेताहरु बताउँछन् ।