अर्जेन्टिनाले २८ वर्षको पछि कोपा अमेरिकाको उपाधि जित्न सफल भएकोछ।आइतबार बिहान भएको फाइनल खेलमा साविक विजेता तथा आयोजक ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।
यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपाको उपाधि जितेको हो । २८ वर्षमा अर्जेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधि समेत हो ।
त्यसयता अर्जेन्टिनाले चार कोपा फाइनल एक विश्वकप फाइनल र दुई कन्फ्रेडेरेसन कप फाइनल गरी कुल ७ फाइनल खेले पनि सबैमा पराजित भएको थियो ।
यो लियोनल मेसीका लागि अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीबाट पहिलो उपाधिसमेत हो । यसअघि सन् २०१४ को विश्वकप तथा सन् २०१५ र ०१६ को कोपा अमेरिकामा अर्जेन्टिनालाई फाइनलमा पुर्याका मेसी उपाधिबाट चुकेका थिए ।
आफ्नो खेल जीवनको उत्तरार्द्धतर्फ पुगेका मेसीका लागि यो उपाधि अर्थपूर्ण छ । क्लब फुटबलमा धेरै कीर्तिमान आफ्नो नाममा बनाएका उनले आफ्नो खेल जीवनमा राष्ट्रिय टोलीबाट मात्रै उपाधि जित्न सकेका थिएनन् । ब्राजिलको माराकाना स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई यो महत्पूर्ण जित दिलाउन खेलको पहिलो हाफमा एञ्जेल डी मारियाले गरेको एक मात्र गोल पर्याप्त बन्यो ।
मेसी प्रतियोगिताको सर्वोत्कृस्ट खेलाडीसमेत घोषित भए । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि हुन्।