इटहरी, असार-७ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपरको ठक्करबाट इटहरीका एकसहित दुईजनाको मृत्यु भएको छ। त्यस्तै उक्त दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
मोरङको सुन्दरहरैँचा ९ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको तत्काल अल्फाबेट नम्बर नखुलेको टिपरले पश्चिमतर्फ जाँदै गरेको को ३६ प ५९७९ नं. को मोटरसाइकलाई ठक्कर दिई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माले जानकारी दिनुभएको छ।
दुर्घटनामा परि मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ४ बस्ने अन्दाजी ३५ वर्षीय दिपु साह रहेका छन् । त्यस्तै, धनकुटा नगरपालिका ७ पाख्रीबास बस्ने अन्दाजी ५० वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । थापा नेपाली कांग्रेस धनकुटाका सचिव समेत रहेको खुलेको छ । त्यस्तै, पाख्रीबासकै २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । बिपरीत दिशा तर्फ जाँदै गरेको को २९ प ९५५० नं. को मोटरसाइकल समेत अनियन्त्रित भई दुर्घटना भएको थियो ।
त्यस्तै दुवै जनाको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको एसपी शर्माले जानकारी दिए । प्रहरीले बताए अनुसार दुर्घटना गराउने टिपरको खोजी कार्य जारि छ।