eNepal

एनआरएनएले पठाएको अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण

गैर आवासीय नेपाली संघ र  विभिन्न संघसंस्थाहरुले पठाएको अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण गरिएको छ । एनआरएनएले आयोजना गरेको एक भर्चुअल कार्यक्रम मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई अक्सिजन कन्सन्ट्रेटर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ ‘अभियान अन्तर्गत गैर आवासीय नेपाली संघका विभिन्न देशमा रहेका नेपालीहरुको सहयोगमा खरिद गरिएका ४८३ वटा अक्सिजन कन्सन्ट्रेटर केहि दिन अघि नेपालमा ल्याइएको थियो । चीनस्थित नेपाली दूतावास र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रक्रियामा सहयोग गरेको थियो भने नेपाल सरकारले ढुवानी खर्च बेहोरेको थियो ।  

विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा ती अक्सिजन कन्सन्ट्रेटर खरिद गरिएको हो । एनआरएनए एनसिसीहरु बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गरि नेपाल पठाइएको थियो ।

सो अवसरमा मन्त्री तामाङले नेपालमा तत्काल खोप ल्याउन प्रशस्तै जटिलता भएको बताउनु भयो । मन्त्री तामाङले नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भए पनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने बताउनु भयो ।

यद्यपी बेलायत अमेरिका लगायतका मुलुकले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत मिल्ने उहाँले बताउनु भयो । खोप खरीदका सरकार प्रतिबद्ध रहेको र खरिदका लागि कुनै व्यवहारिक समस्या नभए पनि खोप निर्माण भइरहेका मुलुकहरु आफैँ महामारी नियन्त्रणमा केन्द्रित भएकोले समस्या परेको उहाँको भनाई छ ।

अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर लगायतका अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउन विदेशस्थित नेपाली समुदायले देखाएको तदारुकताको प्रशंसा गर्दै मन्त्री तामाङले आगामी दिनमा खोप खरीद लगायतका अन्य विषयमा गैर आवासीय नेपाली संघसँग सहकार्य जारी राख्ने बताउनु भयो । त्यसका लागि आफू रहेको देशबाट खोप ल्याउनका लागि पहल गर्न उहाँले गैर आवासीय नेपालीहरुलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले अब अक्सिजन कन्सन्ट्रेटर अभाव नहुने बताउँदै थप सहयोगको लागि सरकारले नयाँ क्षेत्र खोज्नुपर्ने बताउँनुभयो । उहाँले विदेशमा संकलन भएको सहयोग जहाँको लागि भनेर संकलन भएको हो त्यही स्थानसम्म पुर्याउन नेपाल सरकारलाई आग्रह गर्नुभयो ।

https://fb.watch/5_JsLReww2/

सो भर्चुअल कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पछिल्लो कठिन समयमा नेपालमा अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पठाउन गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सोही किसिमको सहयोगका लागि आह्वान गर्नुभयो ।

महामारीका समयमा देशमा उपलब्ध स्रोत साधन मात्रै पर्याप्त नहुने भएकोले पनि सकै नेपालीले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनु भयो । महामारीका समय नेपालीलाई बचाउने अभियानमा संलग्न सबैको योगदान स्वर्ण अक्षरमा लेखिने र यसको उच्च मुल्यांकन हुने उहाँको भनाई थियो ।

त्यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले मुलुक अप्ठ्यारोमा परेको बेला गैर आवासीय नेपालीहरुले देशलाई सघाउने संस्कार बसिसकेको बताउनु भयो । नेपाल सरकारसँग सहकार्य गरेर खोप नेपालमा पठाउन तयार रहेको भन्दै उहाँले खोप खरिद का लागि सरकारलाई प्रस्ताव समेत गरेको बताउनु भयो ।

अध्यक्ष पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुको उद्धारको लागि नेपाल सरकारले नयाँ नीति बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले विश्व श्रमबजारमा रहेका नेपालीमा भोकमरीको समस्या आउन सक्ने बताउँदै नेपाल सरकारले तत्काल नेपाल फर्किनको लागि वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।

गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैर आवासीय नेपालीहरुले नेपालको खुशी र दुःख दुवैमा साथमा दिएको बताउनु भयो । डा. महतोले नेपालको महामारीको लडाँईसँग लड्नका लागि अरुको अनुदान र सहयोगको मात्रै भर पर्नुपरेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गरेर नेपाललाई ‘माग्ने होइन दिने’ देशका रुपमा परिणत गर्नुपर्नेमा जोड दिनु भयो ।

एनआरएनए फाउण्डेसनका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष जीवा लामिछानेले फाउण्डेसनले नेपालमा ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापनाको काम अघि बढाएको जानकारी दिनुभयो ।  उहाँले पहिलो चरणमा ४ वटा अक्सिजन प्लान्ट र बाँकी ३ वटा प्लान्ट दोस्रो चरणमा स्थापना गर्ने गरि काम अघि बढेको बताउनुभयो । उहाँले दाताहरुको इच्छा अनुरुप नेपालमा अक्सिजन प्लान्ट स्थापनाको लागि नेपाल सरकारलाई सहयोगको लागि आग्रह गर्नुभयो ।

गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले चीनमा रहेका नेपालीहरुको सहयोगमा स्वास्थ्य सामाग्री नेपाल पठाइएको र अन्य चरणमा क्रमशःसामाग्री पठाउने तयारी भइरहेको बताउनुभयो । उहाँले गैर आवासीय नेपालीहरुले पठाएको अक्सिजन कन्सन्ट्रटेरले मानिसहरुको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि अन्तिम विकल्प खोप मात्रै भएको भन्दै उहाँले खोप नेपाल पठाउन संघले हरसम्भव पहल जारी राखेको र त्यसमा नेपाल सरकारले पनि आफूहरुसँग सहकार्य गर्नुपर्ने उल्लेख गर्नुभयो । तत्कालका लागि स्वास्थ्य सामाग्री मात्रै नभई खोप नेपाल पठाउन आफूहरुले गर्न सकिने सबै खाले पहल थाल्न ढिलो गर्नु नहुने डा. केसीको भनाई थियो ।

संघका महासचिव डा. हेम राज शर्माले कोभिड–१९ को विश्वव्यापी संक्रमणपछि गैर आवासीय नेपाली संघले २ सय ५० जना चिकित्सकहरु परिचालन गरेको जानकारी दिनुभयो । महासचिव शर्माले ५० देशमा २५ सय स्वयं सेवक परिचालन गरेर करिब २ लाख नेपालीहरुलाई प्रत्यक्ष सहयोग गरेको जानकारी दिनुभयो ।

उहाँले नेपालमा कोरोना भाइरसको दोस्रो लहर आएपछि गैरआवासीय नेपाली संघले नेपाल सरकारको आग्रहमा नेपालमा अक्सिजन पठाउन सुरु गरिएको बताउनुभयो । ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत विभिन्न मुलुकमा रहेका नेपालीहरुको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउन सफल भएको र आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि संघ प्रयत्नरत रहेको उहाँको भनाई थियो ।

गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले बेलायतमा रहेका नेपाली समुदायले एनआरएनएलाई विश्वास गरेर दिनुभएको आर्थिक सहयोगबाट प्राप्त कन्सरट्रेटर दुई हप्ताभित्रमा नेपाल सरकार समक्ष पु¥याउन सफल भएको भन्दै सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले बेलायतका ९३ वटा संघसंस्था र ४४ जना व्यक्तिबाट अक्सिजन कन्सनट्रेटर किन्नको लागि २ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता आएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले गैर आवासीय नेपाली समुदायको सहयोगमा ७५ वटा अक्सिजन कन्सनट्रेटर नेपालमा पठाएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्ष हरि न्यौपानेले स्वास्थ्य सामग्रीको वितरण प्रभावकारी हुनु पर्नेमा जोड दिनुभयो ।

यस्तै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष प्रदिप न्यौपानेले महामारीसँग लड्न जस्तोसुकै सहयोगका लागि तयार भएको बताउनुभयो ।

कार्यक्रममा संघका विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा पदाधिकारीहरु, संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, बेलायतस्थित स्थानिय निर्वाचनमा निर्वाचित काउन्सिलरहरु लगायतको उपस्थिति थियो ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349