लेखीका: पार्वती पहारी, पोखरा हाल मेलवर्न
मनमा निकै उत्साह थियो दिदीबहिनी समाज भिक्टोरियाले आयोजना गरेको दुईदिने आमा दिवसको कार्यक्रममा जनाको लागि। दुई हप्ता अगाडी देखि काममा छुट्टि मिलाएकी थिए। धेरै पहिले कलेज जीवनमा पूर्व इलामको चिया बारीमा टूर गएको झझल्को आइरहेको थियो मनमा । त्यो दिन बिहान ठिक नौ बजे यताबाट हामी दुई दिदीबहिनी तिर्था दिदी र म भेट हुने ठाउँ ग्लेनरोयको युनाईटिंग चर्चमा पुग्यौ। कोहि दिदीबहिनी पहिले नै आउनु भएको थियो। कोहि आउने क्रम जारी थियो हाम्रो पहिलो कार्यक्रम सुरु भै सकेको थियो त्यसै बिचमा मेलबर्नको पास्कोभेल क्षेत्रका लागि संसद सदस्य लिजी बेलेण्डथोनले एकलाख बिस हजार डलर अनुदान दिने घोषणा गर्नु भयो निकै खुसीको कुरा जुन रकमबाट दिदीबहिनी समाज भिक्टोरियाले अप्ठेरोमा परेका मानबलाई सहयोग तथा महिला शसक्तिकरणका कार्यक्रम ल्याउने गर्दछ।
त्यो छोटो मिठो र महत्वपुर्ण कार्यक्रम सकेर हामी बसमा चढ्यौ। गन्तब्य (ओसन कन्ट्री पार्क टोर्के) तर्फ । बस वेरेबी पुगेर रोकियो केहि साथीहरु त्यहीबाट बस चढ्नु भयो। बाटोमा अलिअलि जाम भयो, तर पनि बसमा अन्ताक्षरी र दोहोरि खेल्दै बाहिरका मनमोहक दृस्यहरु हेर्दै फोटो र भिडियोमा रमाउदै थियौ कति बेला उता पुगीयो थाहै भएँन बाटो लामो लागेन पुग्ने बेलामा बाटो अलिकति उकालो ओरालो र जंगल थियो कस्तो प्राकृतिको मनमोहक काखमा गएको जस्तो अनुभव भैरहेको थियो।
पुगे पछि कोहि साथीहरु खान पकाउन थाल्नु भयो कोहि साथिहरु दाउरा खोज्न लाग्नु भयो कोहि चिया बनाउन त कोहि मकै भूट्न अनि कोहि कम्प्युटरमा कार्यक्रमको तालीका मिलाउन थाल्नु भयो ।
भिक्टोरियाको मौसम जाडो भएपनि कति चहकिलो घाम लागेको घमाईलो दिन देख्दा नै मन रमाइलो हुने।
केही बेरको बिश्राम पछि अस्ट्रेलीयाका आदिबासी अल्फ्रिड आए एक पाङ्ग्रे ठेलागाडा (Wheel barrow) भरि ढुंगा लिएर। फराकिलो आंगनको बिचमा आगो बालेर हामी गोलो बनेर बस्यौ सबै जना। प्राकृतिसंग कति नजिक भएर बसेका आदिबासीहरुको सँस्कृति र कला परिचय गराए उनले। धुपी जस्तै एक जातको बनस्पतिलाई आगोमा हालेर धुवा निकाले त्यो धुवाले भीत्र भएको चिसो रुघा खोकी हराउने कुरा बताए । ट्रलीको ढुंगा छनोट गर्न लगाएर तिनमा रातो माटोले विभिन्न सांकेतिक चित्र लेपन गर्न लगाए कोहि साथीहरुले ओमकार र स्वतिक चिन्ह पनि बनाउनु भयो। उनले कंगारुलाई धपाउने र मार्ने आफ्नै शिप कौसलले काठबाट बनाईएका विभिन्न किसिमका हातहतियारहरु पनि देखाए कंगारुको र पोसमको त छालाहरु पनि देखाए। लामा -लामा बजाउने बाजाका प्रकार , महिला र पुरुषले चलाउने हतियार र विभिन्न नाचहरु पनि देखाए Bamde ले।
हाम्रो संस्कृतिसंग मिल्ने धेरै कुरा, रातो माटोले भित्ता र ढुंगा लेपन गर्ने, आगो लैजाने धुपौरो जस्तो भाँडो पनि देखियो। प्रकृतिसंग नजिक भएर बसेका अदिबासिहरु सार्है हँसिला र सरल लाग्यो। बेलुका डिनरमा उनलाई पनि बोलाइयो, उनि छोरी र सानो कुकुर लिएर आए। नेपाली परिकार देखेर उनि मख्ख परे ।हामी पनि उनीहरुको कला संस्कृति देखेर दंग पर्यौं।
त्यसपछि वरिपरिको दृश्य हेर्ने र फोटो खिच्ने क्रम पनि सम्पन्न भयो। बिबिधतामा एकता भएको हाम्रो देश नेपालका कुनाकुनाबाट आएका हामी ५३ दिदीबहिनी पनि सानो भाग्यले भेट भएका थिएनौ। “यमरी” भन्ने नाम त सुनेकी थिए, तर आज प्रत्यक्ष हेर्ने, बनाउने र स्वाद लिने अवसर पनि मिल्यो। चामलको पिठोमा तिल चाकु हालेर बनाइने लाम्चो आकारको यमरिको र कालो भटमासको आफ्नै महत्व रहेको कुरा रोशनी दिदि, प्रभा दिदि र राज दिदीले दिनु भयो ।
त्यस पछि हामीले सिस्टर सितासंग योगमा लाग्यौ आफुले आफुलाई चिन्नु नै राज योग हो आफुले आफुलाई चिने पछि बाहिरी भौतिक कुराले हामीलाई कुनै दुख दिदैन भन्ने कुराको ज्ञान दिनु भयो।
अनि जमुना दिदीले आ-आफ्नो जन्म महिना अनुसारको समूह बनाएर आफ्नो नामको पहिलो अक्षरबाट सकारात्मक उत्प्रेरणा जनाउने शब्द भन्नु पर्ने रमाईलो क्रिया कलाप गराउनु भयो। बुवा आमाले शिब मन्दिर गए पछि म जन्मेकी भएर मेरो नाम राखेको भन्ने कुरा सुनेकी थिए पार्वती अर्थात् प्रकृति बाट पिस वा शान्ति प्रिय भन्ने शब्दको ब्याख्या गरे। धेरै दिदि बहिनिहरु साथीहरुबाट धेरै उत्प्रेरक शब्द र अर्थ सुन्न पाइयो ।
अब मैन बत्ति बालेर नेपालको लागि र सारा बिश्वको लागि नै प्रार्थना गर्ने कार्यक्रम थियो ज-जसले अहिलेको विसम परिस्थिति र कोरोन भाइरसबाट देह त्याग्नु भयो उहाका लागि एक मिनेट मौन धारण गरियो र जो अहिले पनि दु:खको अवस्थामा हुनुहुन्छ उहाँहरूलाई मलम होस भनेर दिदीबहिनी समाज भिक्टोरिया र हामी दिदीबहिनीको तर्फबाट गरेर ५ हजार डलर नेपालको दानको अस्पतालमा सहयोग गर्ने निर्णय पनि गर्यौ।
रात परिसकेको थियो त्यसपछि हामी आ आफ्नो सयन कक्षमा पुग्यौ ११ बज्यो १२ बज्यो सबैले मनका कुरा गर्दा गर्दै रातै वित्यो ४:३० रोसनी दिदी र म बिहानी चिसो सिरेटो र मनमोहक दृष्यमा बाहिर निस्क्यौ।
नित्य कर्म सकेपछि फेरी डाक्टर बिमल श्रेष्ठसंग योगकक्षा र भजन अनि सत्संग गरियो। त्यसपछि केहीबेर हठयोगसँग सम्बन्धित सुक्ष्म साधना गरियो समुहमा । त्यसपछि बिहानी खाजा खाएर हामी Nature walk मा हिड्यौ । अर्गानिक हरियो स्याउ , फोटोग्राफी , कंगारुसगको जम्का भेट आदि आदि। समय अगाडी बढ्यो नयाँ अनुभव पनि साटासाट हुदै थियो टिक टक र फेसबुक मार्फत मेरो पनि चाहना त थियो त्यो क्षणलाई टक्क रोक्ने तर असम्भव।
बासस्थानमा फेरी फर्कियौं , खुब रमाइलोसंग नाच्दै हुनुहुन्थ्यो साथीहरु। त्यसमा पनि सहभागी भैयो र खान बनाउन तर्फ़ लागियो , कोहि सरसफाई र प्याकअप तिर । मनोरमा सिस्टरले mindfulness meditation पनि गराउनु भयो, जसले गर्दा हामी जे गर्छौ त्यही कुरामा मन लगाउनु पर्छ कुरा बुझियो । त्यस्तै दर्पना सिस्टरले ” उम्रियो ” खेल खेलाउनु भयो जुन रोचक थियो।
रमाइला यी सम्झनाहरुलाई मनको खातामा संकलन गर्यौं हामी सबैले। त्यसपछि बिहानीको खाना खायौं र फोटो भिडिओ खिच्दै थियौं , चालक डेभीड आइहाले हामीलाई लिन । डेभीडले नेपाली म:मको स्वाद लिए, ज्यादै मन पराए। त्यो क्षण लम्बियोस जस्तो लागेको थियो तर घडी रोकिदैन। सामानलाई बसमा राखियो, सबै कुराको साङ्गो पाङ्गो पछि हामी बिस्तारै फर्कियौं।
जादाखेरि उत्साह र उमङ्ग थियो फर्कदा स्मृति र अनुभूतिले भरियो मन। फेरी पनि अन्ताक्षरी, अनुभव साटासाट , गफगाफ र दोहोरी गायन गर्दै साँझ पर्दा बस अन्तिम स्टेशनमा आइपुग्यो। सबै ५३ जना दिदीबहिनी लगाएत यो यात्रामा साथ दिने सबैको स्मृति ताजा बनेर आएको छ मानसपटलमा। दिन त प्रतिकूल थियो परिस्थिति सबैको सम्भावनाले बन्दो रहेछ अनुकूल मनसस्थिति । यो समय अति अदभूत बन्यो सबैको लगाव, सकारात्मक सोच, सिर्जनशीलता र सहयोगले। यो कार्यक्रम आयोजना गर्ने र सम्भव बनाउने डा. जमुना पराजुली दिदीबहिनी समाज भिक्टोरिया टिम कार्यक्रम संयोजक अन्जु अधिकारी ज्यु लगाएत सबै ५३ दिदीबहिनीको याद हृदयको गहिराइमा ताजै छ सम्पूर्णमा नमन र सम्मान ब्यक्त गर्दछु।