eNepal

के हो चट्याङ र कसरी बच्ने यसबाट?

चितवन, जेठ-१३। हुरीबतास चल्ने याममा वा वर्षायाममा चट्याङ पर्छ । जब आकाशमा बिजुली चम्किँदै ठूलो आवाज निस्किन्छ हामी डरले आँखा र कान बन्द गर्छौँ । किनभने हामीलाई थाहा छ, यसको आवाज ज्यादै भयंकर र क्षति ठूलो हुन्छ। विभिन्न स्थानमा पनि हरेक वर्ष चट्याङले पुर्‍याएको क्ष तिबारे हामीले पढ्दै र सुन्दै आएका छौँ ।

कतिपयले चट्याङको मा’र प्रत्यक्ष भोगेका पनि छौँ होला । तर, चट्याङ के हो ? किन पर्छ ? यसबाट जोगिने सरल उपाय के हो ? भन्ने कुरा कतिपयलाई थाहा नहुन सक्छ । आज हामी त्यसबारे जानकारी दिन्छौं ।

चट्याङ के हो ?:- हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीब्र गतिको वायु एकापसमा ठोक्किँदा विद्युतीय लहर उत्पन्न हुन्छ । आकाशमा हामीले एक ठाउँबाट अर्को ठाउँसम्म बाङ्गोटिङ्गो भई गएको आ’गोको झि’ल्का त्यही विद्युतीय करेन्ट हो। हामी नेपालीहरुले त्यसलाई चलन चल्तीको भाषामा ‘बिजुली चम्केको’ भन्छौँ ।

तीब्र गतिको वायु एकापसमा घर्षण हुँदा विद्युतीय करेन्ट मात्रै होइन, ठूलो आवाज पनि आउँछ । तर, हामी जमिनमा भएकाले पहिले बिजुली, त्यसको केहीबेरपछि मात्र आवाज सुन्छौँ। किनभने ध्वनि (आवाज)को गतिभन्दा प्रकाशको गति छिटो हुन्छ । त्यसैले हामीले पहिले बिजुली चम्केको देख्छौँ र पछि बादल गर्जेको आवाज सुन्छौँ। जब आकाशमा बिजुली चम्किँदै र ठूलो आवाजका साथ गड्याङगुडुङ गर्न थाल्छ, त्यसैलाई हामीले चट्याङ परेको भन्छौँ।

चट्याङ पर्दा बन्चरो आकाशबाट जमिनमा झर्ने, आँगनमा रक्सी छर्कियो भने चट्याङ नपर्ने, आँगनमा हँसिया, बन्चरो आदि राखिदिएमा पनि चट्याङ नपर्ने भन्ने भनाइमा भने सत्य नभएको वैज्ञानिकहरु बताउँछन् ।

चट्याङ विशुद्ध प्राकृतिक घटना हो । त्यसैले मौसमविद्हरुले यसबारे पूर्वसावधानी अपनाउन सकियोस् भनेर मौसमी बुलेटिन निकालेर सूचना दिने गरेका छन् । कतिपय देशले चट्याङको पूर्वसूचना दिने प्रविधिको विकास गरी प्रयोग गर्दै आएका छन्।

नेपालको जो’खि’म क्षेत्र:- चट्याङविद् डा. श्रीराम शर्माका अनुसार नेपालमा झापाको दक्षिणपूर्व क्षेत्रदेखि नवलपरासीको चुरे क्षेत्रमा अत्यधिक चट्याङ पर्छ ।

चुरे क्षेत्रपछि रसुवा र नुवाकोटको त्रिशुली नदी आसपासको भूगोलदेखि नारायणी नदीको छेउ नवलपरासी-रुपन्देहीसम्म चट्याङको जोखिम क्षेत्र हुन् । चुरेपछि त्रिशुली नदी आसपासको क्षेत्रलाई पनि चट्याङको हिसाबले जोखिमयुक्त मानिन्छ । पूर्वी झापाको दक्षिणी भेगदेखि चुरे क्षेत्रको नवलपरासी-रुपन्देहीसम्म बढी चट्याङ पर्ने भएकाले यो क्षेत्रलाई ‘चट्याङ चिम्नी’को संज्ञा दिइएको छ।

झापाको दक्षिण पूर्वी क्षेत्र बंगालको खाडी नजिक पर्दछ । बंगालको खाडीबाट आउने समुद्री बाफ झापाको पश्चिमी क्षेत्रसम्म आइपुग्छ। चट्याङ बाफमा नै बन्ने हुनाले झापा र त्यस आसपासको क्षेत्रमा बढी असर देखिएको अनुमान छ ।

चट्याङ कति खतरनाक हुन्छ ? कति टाढासम्म असर पर्छ ?:- बादल एकअर्कासँग घर्षण भएर उत्पन्न हुने विद्युतीय करेन्ट निकै शक्तिशाली हुन्छ । एक वैज्ञानिक अध्ययन अनुसार एक चोटी चट्याङ पर्दा २० हजार एम्पिएर वा सोभन्दा बढी मात्रामा करेन्ट उत्पन्न हुने गर्छ ।

यो विद्युतीय झट्का कहिलेकाहीँ पृथ्वीसम्म आइपुग्छ । यो झट्काले जहाँ छुन्छ वा जो यसको नजिकमा हुन्छ त्यहाँ क्षति पुग्छ । मानिस वा अन्य प्राणीको मृत्यु हुने, अंगभंग हुने, रुखमा चिरा पर्ने आदि हुनुको कारण त्यही विद्युतीय करेन्ट हो । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् ।यसको जोखिममा घर बाहिर भएकाहरु पर्छन् । त्यसैले बिजुली चम्किएको बेलामा वा गड्याङगुडुङ गरेको बेलामा घर बाहिर निस्किनुहुँदैन ।

धेरै मानिसहरु चट्याङ टाढा परेको भन्ने ठानेर आफू सुरक्षित भएको ठान्छन् । तर, त्यसो होइन, यसको विद्युतीय शक्ति खतरनाक हुने भएकाले टाढाटाढासम्म पनि क्षति पुर्‍याउन सक्छ । भनिन्छ, चट्याङले बिजुली चम्किएको १० माइल टाढासम्म पनि असर पुर्‍याउन सक्छ ।

चट्याङ लागिहाल्यो भने के गर्ने ?:- यदि कसैलाई चट्याङ लाग्यो भने उनीहरुको शरीर जलेको हुन सक्छ । चट्याङले मुटुलाई असर गर्छ । त्यसैले चट्याङ लागेको मानिसको मुटुको धड्कन छ कि छैन परीक्षण गर्नुहोस् ।

एम्बुलेन्स वा स्वास्थ्यकर्मीलाई खबर गर्नुहोस् र जतिसक्दो छिटो नजिकको अस्पतालमा लैजानुहोस् । एम्बुलेन्स वा स्वास्थ्यकर्मी आउनुभन्दा पहिले तपाई अरु चट्याङ पर्नबाट जोखिम छैन भन्ने सुनिश्चित हुनुहोस् ।

उनीहरुको मुटुले काम गर्न छोडेको छ भने सीपीआर अपनाउनुहोस्, तपाईंलाई इलेक्ट्रिक सक लाग्दैन । किनभने शरीरमा विद्युतीय चार्ज बसिराख्दैन ।

घरभित्र बस्दैमा सुरक्षित भइन्छ ?:- भनिन्छ, गड्याङगुडुङ गरेको बेला वा बिजुली चम्किएको बेला घर बाहिर निस्किनु हुँदैन । तर, के घरभित्रै बसिरह्यो भने सुरक्षित भइन्छ ?

हो, केही हदसम्म घरभित्रै बस्दा सुरक्षित भइन्छ । तर, घरभित्र बस्दा पनि सुरक्षाका केही उपाय भने पालना गर्नुपर्छ । जस्तै, रेडियो, टेलिभिजन, मोबाइल, कम्प्युटर, ल्याण्डलाइन टेलिफोन आदि चलाउनुहुँदैन । किनभने यस्ता विद्युतीय उपकरणहरुमा चट्याङले क्षति पुर्‍याउने खतरा हुन्छ । त्यसैले विद्युतीय उपकरणहरुलाई पूर्णरुपमा बन्द गरिदिनुपर्छ ।

चट्याङबाट जोगिने सरल उपाय:- १. घर निर्माण गर्दा नै अनिवार्य रूपमा चट्याङ प्रतिरोधी प्रविधि व्यवस्था गर्नुपर्ने हुन्छ । यस्ता प्रविधिको सहायताले करिब ९० प्रतिशत जनधन सुरक्षा गर्न सकिन्छ ।

२. अनुभवी प्राविधिकको सहायताले घरमाथि तामा वा पाताको त्रिशुल राखेर वा तामाको रड राखेर त्यसलाई जीआई पाता वा आल्मुनियमको पाताले मोडेर जमिनसम्म पुर्‍याएर गाडिदिनुस् । त्यसमा घरको अर्थिङ लगेर जोडिदियो भने झन् राम्रो ।

३. तपाईं घरभित्र हुनुहुन्छ भने ल्याण्डलाइन टेलिफोन, मोबाइल, कम्प्युटर, ल्यापटप आदि प्रयोग नगर्नुहोस् किनभने यी विद्युतीय उपकरणमा चट्याङका कारण विद्युतीय प्रवाह हुन सक्छ ।

४. धातुका पाइपबाट बनेका धाराहरु पनि प्रयोग नगर्नुहोस् । यसमा पनि विद्युत प्रवाह हुन सक्छ । धातुका सामानबाट कम्तीमा पनि २० मिटर टाढा रहनुहोस् ।

५. पानीबाट पनि टाढा बस्नुहोस् । गड्याङगुडुङ गर्दै बिजुली चम्किरहेको छ र पानी पनि परिरहेको छ भने पानीमा नभिज्नुस् । स्विमिङ पुल, खोला, ताल भएका क्षेत्रबाट पनि टाढा ओत लागेर बस्नुस् ।

६. ओत लाग्ने ठाउँ छैन भने रुख, खम्बा वा अन्य धातुका सामानहरु नभएको खुल्ला ठाउँमा बस्नुहोस् । किनभने चट्याङ अग्ला वस्तुमा पर्ने सम्भावना बढी हुन्छ । रुखको ओत लागेर त झनै बस्नुहुँदैन ।

७. यदि तपाईं चट्याङ पर्न सक्ने स्थानको नजिकै हुनुहुन्छ भने भुइँमा घोप्टो परेर बस्नुहोस् । हातलाई घुँडाहरुमा राखेर टाउको त्यसकोबीचमा राख्नुहोस् । जमिनलाई सकेसम्म थोरै छुनुहोस्, भुइँमै सुत्नु चाहिँ हुँदैन ।

८. गाडीभित्र हुनुहुन्छ भने गाडीभित्रै बस्नुहोस् । चट्याङ गाडीको धातुमा फैलियो भने पनि र टायरको माध्यमबाट अर्थिङ भएर जान्छ।

९. विशेषगरी विद्युत प्रवाह गर्न सक्ने धातुका सामानहरुबाट टाढै रहनुहोस् । जस्तैः गल्फ क्लब, छाता, मोटरसाइकल, साइकल, तारबार आदि ।

१०. चट्याङपछि पनि बन्द भएका विद्युत लाइन वा चुँडिएका तारहरुबाट टाढा हुनुहोस् ।

चट्याङ किन पर्छ ?:- सूर्यको तापक्रमले पृथ्वीको सतहको तापक्रम बढ्छ । तापक्रम बढेसँगै ताल, नदी, समुद्र आदिबाट पानीका कण बाफ भनेर माथितिर उड्दै जान्छ । पानीका यी कणहरु बादलमा परिणत हुन्छन् । पानीको मात्रा बादलमा पर्याप्त मात्रामा भएपछि बादलको तह बाक्लो हुँदै जान्छ, जसलाई ‘क्युमलोनिम्बस’ भनिन्छ । बादल धेरै बाक्लो भएपछि सूर्यको प्रकाश छिर्न नसक्ने हुँदा कालो देखिन्छ । त्यसैलाई हामीले आकाशमा कालो बादल लागेको भन्छौँ ।

कालो बादलको तलतिर प्रशस्त मात्रामा पानीका थोपाहरू हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो हुने भएकाले पानीका कणहरु असिना र हिउँ बन्छन् । जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै अन्तर पर्दछ र तब बादलहरू यताउता उड्ने गति बढ्छ । जसको कारण बादलभित्र हुरीबतास चल्न थाल्छ । यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा गर्ने हुँदा धनात्मक र ऋणात्मक विद्युतीय चार्ज उत्पन्न हुन्छ ।

बादलभित्रको हुरीबतास धेरै समयपछि बादलबाट बाहिरतिर निस्कन थाल्छ र आँधीबेहरी चल्न थाल्छ । घर्षणका कारणबाट चार्जहरू धेरै मात्रामा बनेपछि बादलमा भएका चार्जहरूको कारणले पृथ्वीमा पनि विपरीत किसिमका चार्जहरू उत्पन्न हुन्छन्।

यसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिने गर्छ । यसरी तातिएपछि वायुमण्डलको आयतन एक्कासी वृद्धि हुँदा ठूलो आवाज निस्कन्छ, जसलाई मेघ गर्जन भनिन्छ । त्यसैकारण चट्याङ पर्ने र मेघ गर्जन एकैसाथ हुने गर्छ ।

जब आकाशमा छिटो-छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको खतरा बढी हुन्छ। त्यससँगै बिस्तारै पानी पनि पर्न थालेमा बादलबाट निस्कने हुरीबतास र वर्षासँगै बादलको घर्षणबाट उत्पन्न विद्युतीय चार्ज पनि बहन्छन् र आकाशबाट पृथ्वीसम्म आइपुग्छ । यस्तो बेलामा पानीमा भिज्ने व्यक्ति वा अन्य कुनै वस्तुलाई चट्याङको जोखिम बढी हुन्छ।

Related posts

मन्त्रिपरिषद् विस्तारः रक्षामा मिनेन्द्र रिजाल, कानूनमा दिलेन्द्रप्रसाद बडु

Manoj Poudyal

स्क्यामरहरुबाट कसरी बच्ने अस्ट्रेलीयामा

Manoj Poudyal

बेलायतमा प्रथम भिसी कुलवीर थापाको शालिक अनावरण

Manoj Poudyal

नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास

Manoj Poudyal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा ७६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Manoj Poudyal

श्राद्ध सम्बन्धि केहि वैदिक सनातन नियम

Manoj Poudyal