नेपाली नयाँ बर्षको उपलक्ष्यमा नेप्लिज नेबरहुड समुदाय (एनएनसिआइ)ले आयोजना गरेको पारिवारिक भेटघाट तथा शुभकामना आदान प्रदानको कार्यक्रमबाट उठेको रकम मेल्बर्नका सकर खेलाडीलाई प्रदान गरिएको छ। सँस्थाका सदस्यहरु र प्रायोजकहरुबाट उठेको $४०० सङ्कलित रकम ब्रोडमिडोज हिमालयन टाइगर क्लबका नवीन घिमीरेलाई दिने निर्णय एनएनसिआईले गरेको हो। एक मैत्रीपूर्ण खेलको दौरान उनको हात भाँचिएको थियो।
रकम थोरै भए पनि यो एक उदाहरण बनोस् ताकि समुदाएबाट खेलाडीको निम्ती केही मद्दत मिल्ने रहेछ भनेर उनीहरुमा मनोबल बढोस् भन्ने उद्देश्यका साथ सो रकम सहयोग गरिएको एनएनसिआईकी अध्यक्ष अमृता गुरुङले बताउनु भयो।
एनएनसीआई नेपाली समुदायको बाक्लो बस्ती रहेको थोमस्टाउन र ल्यालोर क्षेत्रमा गएको २४ अप्रीलबाट हरेक शनिवार थोमस्टाउन प्राइमरी स्कुलमा बिहान १० बजेबाट १२ बजे सम्म नेपाली भाषा र नेपाली नृत्यको कक्षा सन्चालन गर्दै आएको छ भने हरेक आइतबार बिहान ९ देखी ११ बजे सम्म फ्रेन्च स्ट्रिट हल, लैलोरमा जुम्बा र योगा प्रशिक्षण दिदै आएको छ।