अस्ट्रेलिया। अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा तत्कालै खोल्न अझै सुरक्षित नरहेको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।
अस्ट्रेलियाको संसदमा सरकारले प्रस्तुत गरेको सन् २०२१–२२ को बजेटले पनि देशको अन्तर्राष्ट्रिय सीमा आगामी सन् २०२२ को मध्यसम्म खुला नहुने सङ्केत गरेको छ। राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोरिसनले अझै पनि कोभिड–१९ को महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट गरे।
त्यस्तै हिजो सोमबार प्रधानमन्त्री मोरिसनले संवाददाताहरुसँग भने, “अहिल्यै कुनै कदम चालिहाल्नु त्यति सुरक्षित छैन । एक दिन सीमा खोल्ने, अर्को दिन बन्द गर्ने कार्य त्यति व्यवहारिक हुँदैन । यसरी हुँदैन ।” त्यसैगरी उनले अगाडि भने, “खासमा समग्र सीमा व्यवस्थापन मुख्य कुरा हो, सुरक्षित भएको सुनिश्चित नहुँदासम्म सीमा खोल्न सकिँदैन ।”
प्रधानमन्त्री मोरिसनले अर्को कदमका रुपमा सबै अस्ट्रेलियाली नागरिकलाई खोप लगाउनुका साथै अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासी कामदारलाई अस्ट्रेलिया फर्काउन सहजीकरण गरिने स्पष्ट गरे । हालै गरिएको जनमत सर्वेक्षणमा अधिकांश व्यक्तिले सीमा सम्बन्धी प्रधानमन्त्री मोरिसनले लिनु भएको कदमको समर्थन गरेलगत्तै प्रधानमन्त्री मोरिसनले उक्त धारणा व्यक्त गरेका हुन्।