प्रमोद सुबेदी हाल मेल्बर्नको लाट्रोब विश्वबिधालयमा पोस्टडक्टरल अनुसन्धानकर्ताको रुपमा कार्यरत हुनुहुन्छ।
आफ्नो अनुसन्धानको लागि बिभीन्न पुरस्कारहरुबाट पुरस्कृत डा. सुबेदी हालसालै बहुप्रतिस्ठित न्यान्सी मिलीस अवार्डबाट सम्मानित हुनुभएको छ। प्रोफेसर बेगोनिया हेरासको सुपरिवेक्षणमा आफ्नो पीएचडी पूरा गरी सक्नु भएका डा. सुबेदीले ब्याक्टेरिया संक्रमणको प्रमुख नियामकर्ताहरूमध्ये एक डाइसल्फाइड बॉन्ड गठन गर्ने एन्जाइमहरू सम्बन्धी अनुसन्धान गर्दै आउनु भएको छ। हामीले उहाँको बिधार्थी जिवन, नेपाल देखी अस्ट्रेलीया सम्म गरिएको सङ्घर्षको यात्रा अनि अस्ट्रेलीयाले सिकाएको पाठलाई तपाईहरु माझ पस्किने जमर्को गरेका छौ। आशा छ यो लेखले धेरै बिधार्थीहरुलाई प्रेरणाको काम गर्नेछ।
(यस पुरस्कार प्रोफेसर न्यान्सी मिलिसको नाममा राखिएको अवार्ड हो जसले १९९२ देखी २००६ सम्म १४ बर्ष लाट्रोब विश्वविद्यालयको कुलपतिको रूपमा काम गरेकी थिइन्। उनी २००२ मा ‘अष्ट्रेलियन लिजेन्ड’ टिकटहरूको श्रृंखलामा मान्यता प्राप्त पाँच अष्ट्रेलियाली वैज्ञानिकहरू मध्ये एक थिइन्।)
अस्ट्रेलीया आउनु भएको कति भयो? किन अस्ट्रेलीयानै रोज्नु भयो?
म अस्ट्रेलीया आएको झण्डै ७ बर्ष भइसक्यो। म सन् २०१४ को फेब्रूवरीमा अस्ट्रेलिया आएको हुँ। नेपालमा प्याथोलोजीमा ल्याव साइन्टिस्टको रुपमा काम गर्दै थिएँ। मेरो व्याच्लर पनि मेडीकल ल्याव टेक्नोलोजीमा थियो। म मास्टर्स र पिएचडीलाई निरन्तरता दिने लक्ष्यका साथ अमेरिका अनि अस्ट्रेलीयामा भएका विश्वबिधालयहरुमा कोर्सहरु हेर्दै थिए। अस्ट्रेलीयाको मेल्बर्नस्थित लाट्रोब युनिभर्सिटीमा मास्टर्स इन बायोटेक्नोलोजी एन्ड बायो इन्फर्मेटिक्स कोर्स देखे।कोर्सको विषयवस्तु हेर्दा मेरो रुचि मिल्न गयो जसले गर्दा मलाई आफ्नो निर्णय लिनको लागि सहज भयो।त्यति बेलानै मैले पिएचडी गर्ने हो भन्ने लक्ष्य चाँही बोकेर आएको थिए। भविस्यमा पिएचडीनै गर्छु, अनि अनुसन्धानमा नै भविष्य बनाउँछु भन्ने दृढ सङ्कल्पको साथ म अस्ट्रेलीया आएको हुँ।
धेरै बिधार्थीहरु पढ्न भन्दा पनि कमाउने लक्ष्य बोकेर आएको देखिन्छ। पैसा पहिलो प्राथमिकता की करियर ?
मेरो विचारमा त निश्चय पनि करियरनै हो। पैसा त एक चलयमान कुरा हो जुन आज त आफुसित होला तर भोलि हामीसित नहुनसक्छ । आफ्नो ज्ञान सिप क्षमता तपाईसँगै रहन्छ जुन तपाई जहाँ जाँदा पनि सँगै लिएर जानुहुन्छ । त्यहि भएर जहिले पनि करियरलाई प्राथमिकतामा राख्नु पर्छ। केही समय लाग्नुकासाथै बाटो सहज नहुन सक्छ तर मिहिनेत तथा निरन्तर प्रयास अनि परिश्रमले आफ्नो लक्ष्यमा पुग्न सकिन्छ।
आफ्नो रोजाईको बिषयमा करियर बनाउन कतिको सहज छ अस्ट्रेलीयामा। के के छन् चुनौतीहरु ?
एकदम समसामयिक प्रश्न सोध्नु भयो।आफ्नो रोजाईको बिषयमा करियर बनाउन सहज नभएतापनि गर्नै नसकिने भने पक्कै होईन।हाम्रै नेपाली समुदायबाट थुप्रै व्यक्तित्वहरु बिशिस्ट श्रेणीको काम गर्दै हुनुहुन्छ।अस्ट्रेलियाका विभिन्न मेडीकल, ईन्जिनियरीङ क्षेत्रका साथै थुप्रै नामुद विश्व बिधालयहरुमा बिशेषज्ञ भएर आफ्नो क्षेत्रमा अनुसन्धान गर्ने नेपालीहरु पनि धेरै हुनुहुन्छ। कति जना नामुद होटलहरुमा हेडसेफ, होटलकर्मी बनेर काम गर्दै हुनुहुन्छ भने कति ठुला बैंकमा मेनेजर हुनुहुन्छ।यस्ता थुप्रै उदाहरणहरु छन् जहाँ नेपालीहरुले आफ्नो शिप र मिहिनेतको परीक्षामा उत्तिर्ण भई आफुलाई स्थापित गराइ सक्नु भएको छ। त्यसैले आफ्नो रोजाईको बिषयमा करियर बनाउनै नसकिने चाँही हैन तर चुनौतीहरु पनि उत्तीकै मात्रामा छन्।प्रमुख चुनौती भनेकोनै हाम्रो भिषा कण्डिसन हो।भिषाले गर्दा आफुले सोचेको जस्तो काम गर्न गार्हो छ। अर्को चुनौती भनेको अङ्ग्रेजी भाषाको दक्षता पनि हो। अङ्ग्रेजी देश भयो यो। हामी धेरै नेपालीको अङ्ग्रेजी लेवल औसत छ तर त्यो भन्दै गर्दा भाषाको कारणले मात्रै काममा फरक पर्छ भन्ने चाँही मलाई लाग्दैन। मिहिनेत गरेर पनि भाषालाई सुधार्न सकिन्छ जस्तो लाग्छ।अर्को कुरा भनेको हामीमा आत्मविश्वास तथा लगावको कमी छ । हाम्रो मनले के चाहन्छ भन्दा पनि अरु नेपालीले के गर्नु भएको छ त्यसकै पछि लाग्छौ । नयाँ चुनौतीको सामना गर्न डराई पहिले नै अरुले सुरुवात गरेकै व्यवसाय अथवा कार्यको सिको गर्न थाल्छौ । अनि आफ्नो कार्यकौशल्ता, आफ्नो आत्मविश्वास , क्षमतालाई खासै वास्ता गर्दैनौ।त्यसले पनि हामी जुन तहमा पुग्नु पर्थ्यो त्यहाँ पुग्न सकेका छैनौ। एक नेपालीले अर्कों नेपालीको खुट्टा तानातान गर्ने पर्वृति यहाँ पनि देखिन्छ । पहिला आफुले आफुलाई चिन्नु पर्छ, आफ्नो उद्देश्य बुझ्नु पर्छ अनि मात्र आफ्नो लक्ष्यमा पुग्न सजिलो हुन्छ ।
थोरै आफ्नो पेशाको बारे बताई दिनु होस् न।
म सन् २०१४ मा मास्टर्स गर्न अस्ट्रेलीया आएँ र २०१५ को अन्तिममा मेरो मास्टर्स सकियो।त्यस पछि मेरो लक्ष्य पिएचडी थियो।पिएचडी स्कलरसिपको लागि फारम भरे । अनि भाग्यवश र मेरो मेन्टरहरुको सहयोगले गर्दा लाट्रोब युनिभर्सिटीमा फुल स्कलरसिप पढ्न पाएँ। ट्युसन फि पनि तिर्न परेन।त्यस पछि मलाई खानबस्नलाई खासै गार्हो भएन जसले गर्दा मेलै आफ्नो पूर्ण समय पिएचडी अध्ययनमा व्यतित गर्न पाए। अथक प्रयासपछि सन् २०१६ मा शुरु भएको पढाई सन् २०२० मा सकियो। पिएचडी सकिए पछि भाग्यबस आफुले चाहेको र रोजेको बिषयमा रिसर्च अफिसरको रुपमा लाट्रोब युनिभर्सिटीमा काम गर्ने अवसर मिल्न गयो।

मेरो रिसर्चको विषय एन्टीबायोटिक रेसिस्टेन्स कसरी निर्मूल पार्ने भन्ने बारेमा हो । तपाई हामीले सुनेको तथा सबैलाई थाहा भएको कुरा हो यो । अहिले सन्सार भरि यो जल्दोबल्दो कुराकानीको विषय पनि भएको छ।नेपाल, अस्ट्रेलीया मात्र नभएर विश्वभरीनै हामीले प्रयोग गर्ने एन्टीबायोटिकले पहिलाको रुपमा काम गर्न छोडी सकेको छ। यो एक चुनौतीपूर्ण कुरा हो।यसको लागि नयाँ औषधीको आविष्कार भन्दा रोगको निदान हुने उपायहरु पत्ता लगाउनु पर्छ।मेरो रिसर्च भनेको चाँही सन्सारभरि फुड पोईजनीङ गर्ने ब्याक्टरिया साल्मोनेला टिफीमो॔रियममा हो । मेरो अनुसन्धान चाँही यो साल्मोनेला व्याक्टेरियाले हाम्रो शरीरमा कसरी रोग निम्त्याउँछ, यो व्याक्टेरीयासँग लड्न के के हतियार छन् जसले गर्दा खेरी रोगको निधारण गर्न सहज बनाउँछ भन्ने कुरा पत्ता लगाउनेबारे हो।
हालसालै मात्र हामीले एउटा ठुलो अध्ययन गरेका थियौ साल्मोनेला व्याक्टेरीयामा। लाट्रोब युनिभर्सिटी, मोनास, ग्रीफिट युनिभर्सिटी र यहाँको सरकारी सँस्थाको सहयोगमा हामीले प्रोटीन पत्ता लगायौ। त्यो प्रोटीनले यो व्याक्टेरीयाले कसरी काम गर्छ, हाम्रो शरीरमा कसरी अट्याच हुन्छ र रोग निम्ताउँछ भन्ने कुरा पत्ता लगाएको हो।यो अहिले बिश्वकै प्रतिस्ठित जरनलमा प्रकासित भएको छ र त्यसको लिङ्क यहाँ छ
https://pubmed.ncbi.nlm.nih.gov/33607928/
अव यो प्रोटीन पत्ता लगाए पछिको लक्ष्य भनेको हाम्रो ल्याब र मोनास युनीभर्सिटीको सहयोगमा नयाँ औषधी पत्ता लगाउनको रिसर्च गर्नु हो।त्यो रिसर्चमा मेरो अनुसन्धानबाट आएको नतिजाले केही सहज गराउँछ वा फरक जानकारी प्रदान गर्ने छ भन्ने आशा लिएका छौ।
तपाईको लागि सफलता भनेको के हो ?
मेरो लागि सफलता भनेको परिश्रमको कदर गर्नु हो ।यो सँगै खुसी र आत्मविश्वासका साथै कहिले काँही प्रसिद्धी र सामाजिक कर्तव्य पनि जोडिन्छ।त्यहि भएर आफुले सोचे अनुरुपको कुरा हासिल गर्नु र आफ्नो लक्ष्य अनुरुपको गन्तव्यमा पुग्नु नै सफलता हो।
अस्ट्रेलीया पढ्न आउने नयाँ भाईबहिनीलाई के सन्देश दिन चाहानु हुन्छ ?
एकदम राम्रो प्रश्न हो यो। मलाई लाग्छ सर्वप्रथम त आफ्नो रुचीलाई बुझेर कोर्सको छनोट गर्नु पर्छ। नेपालमा कन्सल्टेन्सीले मिसगाइडेड गरेर, बिधार्थीहरुको ब्रेनवास गरेर आफ्नो लक्ष्य या रुचीको बिषय भन्दा पनि यहाँ आएर पिआर पाउन कसरी सजिलो हुन्छ भन्ने कुरालाई प्राथमिकतामा राखेर बिषयहरुको छनोट गरेको पाइन्छ।त्यो बास्तवमै बिडम्बनाको कुरा हो।त्यसो हुनु भनेको विद्यार्थीको रुचिलाई मार्नु हो।त्यसैले बिधार्थीहरुले अरुले भनेको भन्दा पनि आफैले अध्ययन र अनुसन्धान गर्ने गर्नुपर्छ । त्यतिखेर लिइएका निर्णयले जीवनमा नयाँ मोड लिने भएकाले पनि संयम बनि सोच्नु आवश्यक छ । सबै कुरा वेभसाईटमै हुन्छ त्यहाँबाट सुचनाहरु सङ्कलित गर्ने बानी बसालौ। आफैले अध्ययन गरेर मात्र कुराहरुको बिश्वास गरौ। अर्को कुरा भनेको बर्तमानको क्षणिक फाइदा भन्दा पनि आफ्नो भविस्यलाई सम्झेर निर्णय लिनु होस्।

याद राख्नु होस्, हाम्रो मिहिनेतको कदर अवश्य हुन्छ । सुरुवातमा केही गार्हो भएपनि आफ्नो लक्ष्य, भविस्यलाई सम्झेर काम गर्नु भयो भने सफलता हात पार्न खासै गार्हो हुँदैन।आफ्नो स्वास्थ्यलाई पनि ख्याल राख्नु होस्।यहाँ आएपछि काम र पैसा मात्र देखिन्छ।आफ्नो मानसिक स्वास्थ्य, शारीरिक स्वस्थता बिर्सेको देखिन्छ जुन एकदम दुखद घटना हो।समाजमा अनेकौ घटना घट्न सक्छन् त्यहि भएर आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यान दिनुहोस्। काम र पढाई बाहेक आफ्नो लागि समय छुट्टाउनु होस्। घरपरिवारसँग निरन्तर सम्पर्कमा रहनुहोस् जसले तपाईको मानसिक स्वास्थ्यलाई सहयोग पुर्याउँछ।समग्रमा भन्नु पर्दा आफ्नो अध्ययनलाई प्राथमिकतामा राख्नुहोस्, जिवनलाई सहज बनाउनु होस्।जिन्दगीलाई जति जटिल बनायो त्यतिनै जटिल बन्छ। सबैलाई आगामी दिनको शुभकामना ।