eNepal

ऋणको भारी बोकेर देखावटी जिवनमा फसेका हामी

 

ओ हो छोरो बिदेशमा छ, छोरी बिदेशमा छे भनेर गर्धन पसार्ने कुनै जमाना थिए। डलरलाई कन्भर्ट गरेर यति कमाउँछ रे छोरो, उती कमाउँछे रे छोरी भनेर टोलबजारमा गफ लाउनुको मज्जै छुट्टै थियो। समयले कोल्टे फेर्यो। बिदेश भन्ने बित्तीकै समुन्द्र पारी कहाँ हो कहाँ, दुर दराजको देश भनेर जिब्रो निकाल्ने स्थिती पनि रहेन अब।

छोरा छोरी बिदेसीयकै कारण आजकाल  बाआमालाई बिदेश भनेको पानीपधेरो गरे जस्तो हुन थाल्यो। बर्षै पिच्छे आउने। नेपाल भन्दा बिदेशनै बढि बस्ने पनि धेरै भईसके।कहिले अमेरिका, कहिले अस्ट्रेलीया अनि कहिले जापान गर्ने पनि भेटीए। 

हिजो कोरोनाको महामारी अनि त्यस पछिको लकडाउनले फसेका एकजना बुवासँग यसो नजिकैको पार्कमा भेट भयो। बा नातीलाई घुमाउन भनेर पार्क तिर आउनु भएको रहेछ। म पनि छोरीलाई लिएर यसो साँझको सितल हावा खान निस्किएको थिए। बा घर जाम रात पर्यो भनेर नातीलाई भन्दै थिए। नाती खेल्न र दोडिनमै मस्त थिए। हातको मोबाईल बेलाबेला हेर्दै थिए बा। सायद कसैको फोनको प्रतिक्षामा थिए होला। 

नेपाली बालाई देखे पछि बोल्न मन लागि हाल्यो। बाको नजिक गएँ। बा पनि मख्ख पर्नु भयो।बा देखेको थिईन त तपाईलाई। कता नजिकै बस्नु हुन्छ। बाले देखाउँदै भन्नु भयो यहाँबाट हिडेर पन्द्र मिनेट जति लाग्छ। अनि कहिले आउनु भयो त अस्ट्रेलीया मैले सोधे। भयो बाबु एकबर्ष जति। लकडाउन हुने बेलामा आईएको थियो नातीलाई हेर्न भनेर।यतै फसियो। के जाति आयो आयो कोरोना भन्ने जन्तु। व्यबहार लठिबद्र छ नेपालमा। यता छोरा बुहारीको व्यबहार त्यस्तै छ। तिन महिना बढिमा छ महिनालाई भनेर आईयो। आमा चाहि गईन अस्ती तिहार मानेर। घर ताल्चा मारेर छिमेकीलाई हेर्दै गर्नु भनेर आइयो। दुई छोराहरु एउटा यता अस्ट्रेलीया छ अर्को अमेरीकामा छ। अमेरीका हुनेको चाहि कार्ड साड के जाति बनेछ। यस्को खै बनेको छैन। अव बन्छ त भन्छ। खै त नि के हो के हो। पढाई सकेर टिआर भिषामा छ। पढाई सकिन्जेल पनि सकसनै भयो बरा। कलेजको फि भन्यो, आउदाको ऋण भन्यो। खर्चबर्च मिलाउन गार्है भयो। 

फेरी नदेखिन्जेल रहेछ। के के न गरे। त्यत्रो डलर छापेर नि केही गरेनन् भनेर भनिन्थ्यो। उता बसेर डलरलाई रुपयाँमा जोडेर यति कमाए भनेर लामो जिब्रो निकाल्थ्यौ। अहिले आँखाले देखे पछि थाहा पाईयो। देख्दा मात्र भव्य देखिने रहेछ यो बिदेशी लाईफ बाबु।जे पनि ऋणनै हो भन्छन्। मैले त छोरोलाई भन्दे पनि धेरै ऋण बोक्ने काम छैन। 

अहिले कामबाट आएर सोफाबाट उठ्न सक्दैन। बुहारी त्यस्तै थाकेर मलिन अनुहारमा आई पुग्छीन्। छोडेर जाम यिनको बिजोग हुन्छ। नाती केटोको झनै बिजोग हुन्छ। नजाम उता आमा अत्ताली सकिन्। फेरी कागज बनेन भने खै कता हो गाउँ जान पर्छ जस्तो छ भन्दै थियो। अब यत्रो श्रृष्टी कता लाने, के गर्ने। अर्को ठाउँमा कस्तो हुने हो। काखको बाबु छ। कामधाम कस्तो हुने हो। कोरोनाले गर्दा कति महिना त घरनै बसे। धन्न बुहारीले एजकेयरमा काम गर्थिन र जसो तसो चलेको थियो।

बाका कुरा सुन्दा धेरै हामी नेपालीको कथा सुनाए जस्तो लाग्यो। म पनि चाख दिएर सुन्न लागे। बा घरि घरि मोबाईल हेर्थे। सायद आमाको न्यास्रोपन लाग्यो होला। कहिले नछुटिएका हामी यो पापी कोरोनाले छुटायो बाबु। आमाले फोन गर्थिन यो बेला आज किन गरिनन्। भन्दै एकोहोरो मोबाईल हेरि रहन्थे। साह्रै मायाँ लाग्यो। मन गर्हुङ्गो पनि भयो। 

बाले फेरी कुरा निकाल्नु भयो। आखिरी जे पनि ऋणमै रहेछ। फोन देखी घर गाडी सबै लोनमै हुने रहेछ यो देशाँ। ऋणको भारी बोकेर दुनियाँलाई देखाउने ठाउँ रहेछ बाबु यो बिदेश। 

बा भन्दै जानु भयो कहिलेकाँही घरमा आउँछन् के एउटा भाई। किस्ताले हैरान पार्यो भन्छन्। घरको किस्ता, गाडीको किस्ता, ढुकुटीको किस्ता। यो पटक पुगेन भन्दै छोरोसँग सापटी माग्छन्। काम पनि उत्तिकै गर्छन्, एकदिन आनन्दको सास फेरेको देख्दिन। जोईपोईनै हस्याङ फस्याङ गर्छन्।कामको चपेटा सधै हुन्छ। सानी नानीलाई स्कुलबाट ल्याउन भ्याउँदैनन्। साथीले ल्याईदिएर उसको घरमा राख्छन्। अनि आमा चाँहीले काम सकेर साँझ तिर ल्याउने गर्छन्।

कहिले काँही भात खान बोलाको बेला हेर्छु। रजगजले बसेको जस्तो लाग्छ। कस्तो ऐसआरामको जिन्दगी होला जस्तो लाग्छ तर के गर्नु सबै लोनमा रहेछ। सोफामै झुकाउँछन् बरा। हुन त कामको तोडले पनि होला।

बाबु अनि तपाईको के छ। मैले भने सबैको कथा उस्तै हो बुवा यो परदेशमा। पढिन्जेल पढाई सक्न पाए यस्तो गर्थे भनिन्छ, पढाई सकिए पछि कागज पत्र कसरि मिलाउने भनिन्छ। कमाएको पैसो सबै यसरीनै सकिने हो। न केही गरेको देखिन्छ। एकातिर टाल्यो अर्को तिर बिस्तारै प्वाल पर्न सुरु हुन्छ अनि प्वाल टाल्दा टाल्दै बित्छ जिन्दगीका महत्पूर्ण खिस्साहरु। तर देख्दा हेर्दा भने क्या भव्य लाग्छ है यो परदेश। आखिरी यो पनि दलदलनै रहेछ। फसेपछि झन् तलतल दलदलमा फसी रहने। 

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal