eNepal

हो म अस्ट्रेलीया भासीए तर मलाई कुनै ग्लानी छैन

हुन त मलाई पनि कहाँ रहर थियो र चटक्कै आफु जन्मेर हुर्केको देश छोड्ने।तर देश भक्ती र मन भित्रको रास्ट्रिएताको भावनाले नहुँदो रहेछ।घोक्रो सुकाएर जय देश जय नरेशको भाषणले नहुँदो रहेछ।पढेर यौवनको जोश र जाँगर त्यहि खर्च गरौं न त भन्दा न त लोक सेवामा नाम निकाल्न सकियो।न त प्राईभेट कम्पनीमा जागीर।बडो मेहीनत गरेर पढ्यो, लोकसेवाका लागि निकालीएका कुनै पनि पुस्तकका पन्ना छैनन् होला बाँकी। सामान्य देखि असमान्य ज्ञान, गा:बि:स देखी देश र परदेश सम्मका सामान्यज्ञान खर्र्लयाप खर्लुप खाईयो ।बाङ्गो देखि घुमाउरो सबै खाले गणीत उतारियो।के गर्नु त्यस्तो ज्ञानले नचल्दो रहेछ।आफ्नो भागमा सम्पतीको नाममा बाउ आमाले जोडदिएको प्लास्टिकको फाईल अनि त्यो फाईल भित्रका प्रणाम पत्र।बढो सानले छड्के कालो झोलामा प्लास्टिकको फाईल अनि जमलको चोकैको फोटो कपी सेन्टरमा गरिएका केही बायोडाटा।खुब हिडीयो काम खोज्न, जमल चोकैको छेउमा राखेको पत्रीका पसल अनि घाम ताप्दै पत्रीका भित्र राखिएका बर्गीकत बिज्ञापनपनि खुब हेरीयो।

बिशेष गरेर गोरखापत्र र कान्तीपुर।बिहानको भात खाएर हिड्यो अनि ठेलाम ठेल माई्क्रोमा झुन्डिदै जमल झर्यो अनि पत्रीका हेर्यो।जागीर खाने रहर भनौ या भुत वा बाध्यता।हातमा मोवाईल त्यो पनि उ बेलाको कलर फोन नोकियाको २६०० मोडेल।फोन आउँथ्यो तर अचकल्टो यानिकी मिसकल।दुबै उस्तै गर्नेको नो व्यालेन्स उठाउनेको नि नो व्यालेन्स।केवल मिसकलको दोहोरी चल्थ्यो।पिडा सबैको एउटै।

कामको बिज्ञापनको आधारमा ठेगाना पहिल्याउँदै लखर् लखर् गोल्डस्टारमा तातो घाममा ओठ मुख सुकाउँदै गयो।आज त कसो काम नपाईला भन्दै।त्यहाँ पुग्दा त्यो पद त पहिलै परीपुर्ती भईसकेको सुचना टाँसिएको हुन्थ्यो।घामले काठमाण्डौका डाँडाका छेउबाट बिदा मार्दै गर्दा आफु फेरी खिस्रीक्क पर्दै ठाउँ ठाउँमा साँझको बत्तीको केही उज्यालो अनि गाँडीले फुङ्ग उडाएको धुलौटे बाटो।उहि निदौरो मुख अनि धुलाम्य कपाल अनि पलेटी परेका ओठ।

बड्दो महङ्गी, अलपत्र भविस्य अनि खडेरी परेको पर्स कति दिन पो धान्ला र देशभक्तीको गाथा अनि माटोको मायाँले। उदास मुख र भोको पेटले देश र जननी नभन्दो रहेछ।प्लास्टीकको फाईल भित्र लेमिनेटेड गरिएको प्रमाणपत्रले मुखमा माड नलाउँदो रहेछ। भन्सुन गर्ने पौँच नभाएको त होईन तर के गर्ने भनसुनसँगै सगुन पनि चडाउँनुपर्ने प्रथाले ति मार्कसिट टोक्नु न बोक्नु भएको थियो।ऋृणले पहाडलाई नाघेर हिमालको उचाई तर्फ लम्कदै थियो।

अन्ततः माटो, देश भक्ती, रास्ट्रीयतालाई एकातिर पन्साउँदै लागियो कर्मभुमी। हो म आज गर्वका साथ भन्छु कि मेरो खोक्रो देश भक्तीले मलाई जिन्दगीसँग लड्न सिकायो, जुध्न सिकायो र समयसँग चल्न सिकायो।मलाई कुनै सन्देह पनि छैन कुनै पुर्वाग्रह पनि छैन।त्यो जन्म भुमी सँगै कर्मभुमीको मायाँ बढि छ आज मलाई।

हो मलाई कर्म भुमीले मुहारमा हाँसो भरिदीयो।।न मलाई जुठा भाँडा माझ्न लाज लाग्यो, न मलाई पवमा बोतल बोक्न सरम लाग्यो।न मलाई होटलको कोठा सफा गर्न।फेरी प्याच्च भन्नु होला, त्यो काम किन आफ्नो देशमा नगरेको भनेर।हाम्रो देशको सामाजिक कुरीति भनौ या कामको बर्गीकरण।तल्लो दर्जाको काम र उपल्लो दर्जाको काम।समाजबाट तिरस्कृत भईन्छ भन्ने लाज।आखिरी यहि बिभाजनले म जस्ता लाखौ युवा बिदेशीन बाध्य भएका छन्।

आखिरी खोक्रो आदर्शले कसैको घरको चुला आगो बल्दैन रहेछ, आमाको रसाएको आँखा ओवानो नहुने रहेछ, बाबाको फाटेको शिरको टोपी नफेरीने रहेछ।साहुले चर्को व्याजमा गरीब र निमुखा माथि मनोमानी गर्न नछोड्ने रहेछ।

चुलोमा आगो बल्न,आमाको अनुहारमा हाँसो ल्याउन अनि बाबाको शिरको टोपी बदल्न आखिरीमा परदेशको बाटो अप्नाउनै पर्दो रहेछ।पढाई या अरु कुनै त केबल बहाना मात्र हुन्। आज लगभग हरेक घरका कोही न कोही बिदेशीयका छन् अनि ति परदेशीएका युवाले पठाएको पैसा चाहे हुन्डीको माध्यम होस् या रेमीट्यान्सको माध्यम् होस्।त्यहि पैसाले घर चलेको छ अनि देशका नेता पालीएका छन्।
सङ्घर्ष गरे किन हुन्न नेपालमा भन्नेहरु पनि प्वाक्क नबोलेका होईनन्।तर सङ्घर्ष गर्नलाई बाटाहरु चाँही के त। लगानीको सुरक्षा कसले गरि दिने।यसको उत्तर कसले दिने?

त्यो बेला पाँचसय रुपयाँ माग्दा नपत्याउनेहरु आझकाल हाम्रै कुरा काटेर बसेका छन् अनि आमालाई नाना थरि भनेर लाल्छना लाउनेहरु आज देवी जत्तिकै मान्छन् किनकी उसको छोरो परदेशमा छ।डलर कमाउँदै छ।हिजो बाटामा हिड्दा कुना पसेर देखी हाल्छ कि भन्नेहरु आझ लौ न अब हाम्रालाई तान्न पर्यो भन्छन्। हुने भए सबैलाई लामो सुतरीमा बाँधेर तान्न मन लाग्छ तर मिल्दैन।

आखिरी जहाँ बसे पनि मन आफ्नै देशमा हुन्छ।जतिनै बिलाशितामा बसे पनि आफ्नै गाउँ घर प्यारो लाग्छ।तर बिदेश बसेर कुनै फुटानी लगाईन्न।मैले यहि परदेशमा कमाएको पैसाले घर चलेको छ।म जस्ता लाखौ परदेशिएका युवाहरुको बलबुताले कमाएको पैसाले गाउँ हाँसेको छ,बच्चाहरुको मुखमा माड लागेको छ।त्यसैले कसैलाई पनि अधिकार छैन कि तँ गैर आवसिय नेपाली भन्ने।नेपाल बाहिर बसेपनि नेपालको बारे चिन्ता लिन सबैले पाउनु पर्छ त्यो मेरोपनि अधिकार हो।त्यसैले हो म अस्ट्रेलीया भासीए तर मलाई विदेश पलाएन भएर कुनै ग्लानी छैन।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal