नेपाली हिन्दू समाज अष्ट्रेलियाको आयोजनामा यहि नोबेम्वर २४ बाट ३० गते सम्म संगितमय भुर्चअल श्रीमद्भागवत महायज्ञ आयोजना हुने भएको छ।
विश्वमा महामारीको रुप लिएका कोभीड १९ को कारणले जनमानसमा त्रास, हतास र निराशा फैलि रहेको यो अबस्थामा मानिस भित्र आध्यात्मिक जागरण गराई उत्साहित गराउन नेपाली हिन्दु समाज अस्ट्रेलियाले पहिलो पटक भर्चुअल माध्यमबाट श्रीमद्भागवत भागवत आयोजना गर्न लागिएको यस महायज्ञका संकल्प कर्ता प्रकाश ढोडारीले बताएका छन् | २०७७ मङ्सिरको ८ गते देखि १५ गतेसम्म २४ नोभेम्बर बाट ३० नोभेम्बर २०२० सम्म हुने यस महायज्ञलाई विश्वभरीबाट ओमकार टेलीभिजन, दर्शन युट्युव एवं गुरु मञ्जरी समूहको फेसबुकबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
यस सप्ताह महापुराणलाई चर्चित कथाकार यूवा पं. कुबेर सुबेदीले वाचन गर्दैछन भने लोकप्रिय भजन गायक राजु अधिकारी, सारेगमपकी चर्चित प्रतिस्पर्धी गायिका मेनुका पौडेल लगायत अन्य कलाकारहरुको साँङ्गितीक प्रस्तुती रहनेछ ।
यस कार्यक्रमबाट प्राप्त सहयोगबाट ३१ वटा गुरुकुलमा ५०० जना बिद्धार्थीहरुलाई सहयोगका साथै Divine Path International Foundation (DPIF) द्वारा संचालित “ Covid 19 Bhojan Sewa “, ले नेपालमा कोरोना महामारीबाट लकडाउन शुरू भएको दशौं दिन अर्थात् ११ अप्रिल २०२० देखि सुरु गरिएको पशुपति क्षेत्रमा नि:शुल्क भोजन सेवाको लागि खर्च गरिने बताईएको छ।
शुरूका दिनहरूमा ४०,५० व्यक्तिहरूलाई भोजन सेवा प्रदान गर्दै आएको सो सँस्थाले हाल दैनिक २००/३०० को सङ्ख्यामा रहेकै सेवाग्राहीलाई भोजन प्रसाद उपलब्ध गराइदै आएको कार्यमा पनि सहयोग गरिने बताईएको छ। सुरुका दिनबाटै नेपाली हिन्दू समाज अष्ट्रेलियाले भोजन सेवाको लागि सहयोग गर्दै आएको र सोही कार्यलाई निरन्तरता दिन पनि यस कार्यक्रमले सहयोग मिल्ने अपेक्षा संस्थाकी अध्यक्ष प्रञ्चना शर्माले लिएकी छन्। शर्माका अनुसार प्रत्येक बर्ष अष्ट्रेलियामा बार्षिक रुपमा सामूहिक महायज्ञ, व्रतबन्ध, गुन्यूचोली आदि गरि रहेको र यस बर्ष भने कोभिड १९ का कारण प्रभावित भएर सञ्चार माध्यमबाट भए पनि धार्मिक भावना र आध्यात्मिक उर्जाको लागी महायज्ञ गर्न लागेको जानकारी गराउनु भएको छ।